नवलपरासी । नेपालको तीब्र आर्थिक विकासका लागि दक्षिण कोरियाले अपनाएको रणनीति अपनाउन सकिने पश्चिम नेपालका विभिन्न जिल्लाका अगुवाले बताएका छन् । विश्वयुद्ध र त्यसलगतै भएको गृहयुद्धका कारण तहस नहस बनेको दक्षिण कोरियाले गाउँको विकासलाई प्राथमिकता दिएर थालेको अभियानका कारण ५० बर्षको अन्तरालमा विश्वका धनी मुलुकको सूचीमा आफूलाई उभ्याउन सफल भएकाले नेपालले पनि सो रणनीति लिँदा उपयुक्त हुने जनाएका हुन् ।
कोरियाली विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको सेमाउल उन्दोङ्ग अर्थात नयाँ गाउँ अभियानबारे प्रचारप्रसारका लागि काम गर्दै आएको नेपाल सेमाउल सेन्टरले दश जिल्लामा सञ्चालन गरेको वृत्तचित्र प्रदर्शनी तथा राष्ट्रिय तालिममा सहभागीहरुले विकासका आधार निर्माण गर्न सके मात्र दिगो विकास सम्भव हुने भएको बताएका हुन् ।
कैलालीको धनगढी , कञ्चनपुरको महेन्द्रनगर , सुर्खेतको वीरेन्द्रनगर, बाँकेको नेपालगञ्ज, दाङ्गको घोराही, अर्घाखाँचीको सन्धीखर्क, कपिलवस्तुको तौलिहवा, रुपन्देहीको भैरहवा, पाल्पाको तानसेन र नवपरासीको परासी बजारमा सेमाउल उन्दोङ्गको वृत्तचित्र प्रदर्शनी तथा एकदिने राष्ट्रिय तालिम सञ्चालन गरिएको थियो ।
दशवटै जिल्लाको जिल्ला विकास समितिको सभाहलमा भएका कार्यक्रममा जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ, जिल्लाका सहकारी संघ तथा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायत सामाजिक संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
दक्षिण कोरियाले सन १९५० को दशकबाट सुरु गरेको प्रयासबाट अहिले विश्वकै शक्तिशाली र धनी मुलुकको सूचीमा आफूलाई सूचीकृत गरिसकेको छ । भोकमरिका बेला नेपालले चामल सहयोग गरेकाले दक्षिण कोरियाले नेपालमा विभिन्न क्षेत्रमा सघाउका कार्यक्रम संचालन गर्दै आएको छ । सिमाउल उन्दोङ्ग अर्थात् नयाँ गाउँ अभियान नेपालमा चितवनको पिप्ले गाविसमा सञ्चालन गरिदै आएको छ ।
चितवनको पिप्ले गाविसमा सञ्चालन गरिएको नयाँ गाउँ अभियानबारे जानकारी पाएपछि धेरै जिल्लाका अगुवाले आफ्नो जिल्लामा पनि गाउँबाट विकास अगाडि बढाउने अभियान सञ्चालन गर्न प्रतिवद्धता जनाएको नेपाल सेमाउल सेन्टरका अध्यक्ष प्राध्यापक नवराज पन्तले जानकारी दिनुभयो । आइतबार धनगढीबाट सुरु भएको कार्यक्रम शुक्रबार नवलपरासीको सदरमुकाम परासीमा आएर सकिएको हो । यसअघि पूर्वी नेपालका दश जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
Discussion about this post