भरतपुर । नेपाली कांग्रेस राप्ती नगर समितिले प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री महेश आचार्यले सरकारका गतिविधिले लोकतन्त्र जोखिममा पर्न थालेको आरोप लगाएका छन् ।
उनले कांग्रेसले सरकारका गलत कामको खबरदारी गर्नुपर्ने बताए । सो अवसरमा बोल्दै कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकस्तरमा निरासा छाएको बताए । उनले जनताका आवाजलाई बुलन्द पार्न कांग्रेसले नेतृत्व लिने बताए ।
प्रशिक्षण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे र युवा नेता प्रमोदहरि गुरागाईले प्रशिक्षण दिएका थिए । सो कार्यक्रममा क्षेत्रीय सभापति राजु सिलवाल, नगरसमिति अध्यक्ष नारायण उप्रेतीले कांग्रेस एक्यबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए ।
यसैबीच, राप्रपाका समानुपातिक उम्मेद्वार खैरहनी ९ का चन्द्रकुमारी चौधरी, राप्ती–७ का तत्कालीन एमालेका विष्णु गिरी र कोपिला सापकोटा कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुले पार्टीले व्यक्तिगत स्वार्थमा लाग्दै जनताको पक्षमा काम गर्न छाडेकाले कांग्रेसमा प्रवेश गरेको बताएका छन् । उनीहरुलाई नेता महेश आचार्यले पार्टीमा स्वागत गरेका थिए ।