नारायणगढ । रामलाल जोशीले पश्चिम तराईको वास्तविकतालाई नेपाली साहित्यमार्फत आम पाठकमाझ प्रस्तुत गर्न सक्ने साहित्यकार हुन् । धनगढी स्थायी घर भएकोले पनि उनले नेपाली कथा र उपन्यासमार्फत त्यसक्षेत्रमा दबिएका र दबाइएका कथावस्तुलाई बाहिर ल्याउने प्रयास गरेका छन् ।
‘राज्यपक्षबाट सधैँ पछाडि पारिएको हुँदा त्यहाँको वास्तविकतालाई बाहिर ल्याउने प्रयास गरको हुँ,’ शनिबार चितवन साहित्य परिषद्ले नारायणगढमा आयोजना गरेको ‘सखी’ उपन्यासमाथि भएको अन्तत्र्रिmयामा उनले भने, त्यस क्षेत्रको समस्या, अभाव तथा गरिबीलाई कुनै पनि सरकारले देखेनन्, जसलाई मैले पुस्तकमार्फत त्यस क्षेत्रको समस्यालाई बाहिर ल्याउने प्रयास गरेको छु ।’
सुदूरपश्चिम क्षेत्रका उत्पीडनमा परेका सबै महिलाको कथा भएकोले जसले पढे पनि आफ्नै कथाजस्तो लाग्ने गरेको उनले सुनाए । ‘ऐना’ कथासंग्रहमा समेत सुदूरपश्चिमकै कथा समेटिएको थियो । परिवेस उस्तै भए पनि फरकफरक विधामार्फत वास्तविकतालाई केलाउने प्रयास गरिएको उनको भनाइ छ ।
मदन पुरस्कार पाइसकेपछि धेरै लेखक तथा साहित्यकारहरुको हात काम्ने गरेको अनुभव सुनाउँदै उनले थपे, ‘अब त्योभन्दा उत्कृष्ट सिर्जना बाहिर ल्याउनुपर्छ भन्ने त हुन्छ नै, तर डरैडरले हात बाँधेर बस्नु पनि हुँदैन । त्यसैले मैले मदन पुरस्कार प्राप्त ‘ऐना’ कथासंग्रहपछि ‘सखी’ उपन्यास लिएर पाठकसामु उभिएको छु ।’
कथावस्तु नै पश्चिम तराईको भएकोले सबै पात्र सोही क्षेत्रका रहेको उनले बताए । थारु समुदायको भाषा र लवजलाई हुबहु उतार्ने प्रयास गरिएकोले पढ्दै जाँदा कतिपयलाई असहज लाग्नु स्वाभाविक भएको उनको भनाइ छ ।
तर, गरिबीकै कारण सहनै नसक्ने पीडालाई पनि दबाएर बस्नुपर्दाको कहालीलाग्दो कहानी बाहिर ल्याउन सके त्यसले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने उद्देश्यले वास्तविक विषयवस्तुलाई साहित्यमार्फत बाहिर ल्याउने प्रयास गरिएको उनी बताउँछन् । ‘आफ्नै क्षेत्रमा देखेभोगेको कथा भएकोले आफ्नै जीवनको सक्कली कथा हो, सखी र ऐना,’ उनले भने ।
उपन्यास ‘सखी’माथि समालोचकहरु उदय अधिकारी, लक्ष्मी बराल र रमेश प्रभातले समग्ररुपमा उपन्यासको सन्दर्भ र त्यसको सामाजिक तथा मनोविज्ञानबारे टिप्पणी गरेका थिए । चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षतामा भएको कार्यक्रममा निर्दोष जीवन, धनराज गिरी र टीकाराम रेग्मीले पाठक प्रतिक्रिया दिएका थिए ।