-गोविन्द अर्याल
चलचित्र ः झोला
कलाकारहरु ः गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री आदि
निर्देशक ः यादवकुमार भट्टराई
आख्यानकार कृष्ण धरावासीको चर्चित कथा ‘झोला’ले साहित्यिक पाठकहरुको मन जितेको बेला यसै कथालाई आधार बनाएर कथा पढ्ने नपढ्ने सबैका लागि बनेको छ, चलचित्र ‘झोला’ ।
राणाकालीन अवस्थामा श्रीमान्भन्दा ४० वर्ष कान्छी केटीसँग बिहे गर्ने र श्रीमान्को मृत्युपछि सँगसँगै सती जानुपर्ने बाध्यात्मक अवस्थालाई चित्रण गरिएको छ, चलचित्र ‘झोला’मा । जसका कारण घरमा रहेका साना–साना बालबच्चाहरुले आमाको माया र ममताबाट वञ्चित हुनुपर्ने स्थितिको खुलासा छ यसमा ।
कुनै पनि साहित्यिक कृति अथवा कथामाथि चलचित्र निर्माण गरेर त्यसलाई न्याय दिनसक्नु आफैँमा चुनौतीपूर्ण काम हो । तर, निर्देशक यादवकुमार भट्टराईले आफूलाई यस चलचित्रमार्फत खारिँदो रुपमा प्रस्तुत गरेका छन् । चलचित्र हेर्नेलाई लाग्दैन कि यो एउटा चलचित्र मात्रै हो । लाग्छ, म ‘झोला’ कथा पढेर त्यसको आवृत्तिलाई महसुस गरिरहेको छु ।
यही माघ २४ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘झोला’ कलात्मक दृष्टिकोणले अत्यन्त मार्मिक र नेपाली इतिहास उजागर गर्ने चलचित्र हो भन्दा अन्यथा नहुन सक्छ ।
कथावस्तु ः
जनयुद्धकालमा कोही अज्ञात् व्यक्तिले कथाकारको घरमा छोडेर गएको झोला हेर्ने आँट कसैलाई हुँदैन । तर, कथाकार आफ्नो शरीरको वास्ता नगरी त्यो झोला खोल्न पुग्दछ र त्यहाँ भेटिएको एउटा कथा हो यो, जसमा बुढेसकालमा श्रीमती विवाह गरेर ल्याएपछि बिरामी परेको अवस्थामा ती श्रीमतीले घरको कामका अलावा बच्चा हेर्ने, श्रीमान्को स्याहार गर्नुपर्ने हुन्छ । श्रीमान्को मृत्युपछि जबरजस्ती सती जानुपर्ने हुन्छ । त्यस अवस्थामा आफ्नो घरमा रहेका साना लालाबालालाई चटक्क माया मारेर सती जान हिँडेकी आगोमा जल्दा रातको समयमा पानीमा हाम फालेर आफ्नो ज्यान जोगाउन सफल हुन्छिन् । जसको छोरो वनमा गाईवस्तु चराउन जाँदा मारिएकी भनेकी आमासँग ओडारमा भेट हुन्छ र छोराले आमालाई त्यो गाउँमा रहेमा फेरि आमाको मृत्यु निश्चित देखी गाउँ छोडेर अन्यत्र गएको अवस्थामा कथा टुंगिन्छ ।
राम्रो पक्ष ः ‘झोला’ कथालाई पूर्णता दिनसक्नु नै यस चलचित्रको राम्रो पक्ष हो । चलचित्रमा रहेका दृश्य समायोजन र खिचिएका दृश्यहरु इतिहास कालजस्तै बनाउन सक्नु छायांकार दीपक बज्राचार्यलाई धन्यवाद दिनैपर्दछ । सम्पूर्ण कलाकारहरुले आफ्नो भूमिकालाई न्याय दिन सकेका छन् । गरिमा पन्तबाट यस चलचित्रपछि धेरै आशा गरिने ठाउँ रहेको छ । उपन्यासकार धरावासीले पनि आफ्नो भूमिकालाई न्याय दिएका छन् । दर्शकलाई बाँधेर राख्न सकेको हुनाले नै यस चलचित्र सफल देखिन्छ ।
कमजोर पक्ष ः चलचित्रको संवाद उत्कृष्ट भइदिएको भए चलचित्र सुनमा सुगन्ध थपेजस्तै हुनेथियो । एउटै दृश्य पटकपटक देखाउँदा दर्शकले बोर मान्न सक्नेछन् ।
इतिहासकालीन समयको सती प्रथालाई चन्द्रशमशेरले १९७७ असार २५ गते अन्त्य गरेता पनि अझै नारी स्वतन्त्र छैनन् । कुनै न कुनै हिंसाबाट अझै शोषित छन् भन्ने सन्देश यस चलचित्रले दिएको छ । अझै पनि पुरूषले नारीलाई बराबरी हक दिन सकेको छैन । अब नारी एकजुट भएर आफ्नो हक खोज्न अगाडि बढ्नुपर्छ भन्ने आवाज यस चलचित्रमा पाइन्छ ।
वास्तवमा समग्र सती प्रथाको इतिहासकालीन अवस्थालाई सबै दर्शकसमक्ष पेस गर्ने शक्तिशाली माध्यम बनेको छ, चलचित्र ‘झोला’ ।
Discussion about this post