भरतपुर । नेपाल शिक्षक संघले पदमपुरमा साक्षरता कक्षा सञ्चालन गरेको छ । जिल्ला शिक्षा कार्यालयले सञ्चालन गरेको साक्षरता अभियानलाई सफल बनाउन संघले कक्षा सञ्चालन गरेको हो ।
‘पदमपुरमा हामीले निरक्षरलाई साक्षर गराउन कक्षा सञ्चालन गरेका छाँै’, भरतपुरमा बिहीबार आयोजित कार्यक्रममा नेपाल शिक्षक संघ चितवनका अध्यक्ष धुव्रराज पोख्रेलले भने, ‘हाम्रो उद्देश्य जिल्लामा सवै क्षेत्रका सवै समुदायका नागरिक साक्षर होऊन् भन्ने हो ।’
संघले सञ्चालन गरेको कार्यक्रममा शिक्षकको व्यवस्था पनि स्वयम् संघले नै मिलाएको छ । यो कार्य जिल्लाका अन्य स्थानमा पनि गर्दै लगिने उनले जनाए ।
नेपाल शिक्षक संघ चितवनले बिहीबार आयोजना गरेको साक्षर चितवन कार्यक्रम एवं महिला शिक्षक भेलाको उद्घाटन कार्यक्रममा अध्यक्ष पोख्रेलले सवैलाई साक्षर बनाउनका लागि सहयोग गर्न आफ्ना सदस्यहरुमा आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सवै तह र तप्काबाट सहयोग नहुने हो भने साक्षर चितवन अभियान सफल नहुने धारणा राखे । कार्यक्रममा शिक्षक संघ आबद्ध महिला शिक्षकहरुले आफ्ना समस्याहरुका बारेमा पनि समीक्षा गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाल शिक्षक संघकी केन्द्रीय उपाध्यक्ष विष्णु पाण्डे प्रमुख अतिथि हुनुहुन्थ्यो ।
Discussion about this post