परासी । नवलपरासीको माकर गाविसको कार्यालय सार्ने विषयमा लामो समयसम्म चर्केको विवाद बिहीबारदेखि साम्य भएको छ ।
गाविसको कार्यालय सुविधासम्पन्न माकरको बर्दघाटमा सार्ने विषयमा दलहरूबीच सहमति हुन नसक्दा विगत छ महिनादेखि गाविसको कामकाज जिविसबाट गरिँदै आएको थियो ।
केन्द्रसम्म पुगेको विवाद अन्ततः केन्द्रबाट निर्णय आएपछि आपसी सहमतिमा विभिन्न निर्णय गर्दै गाविसको कामकाज अबदेखि पुरानै स्थान ‘बाढीपीडित’बाट सुचारु हुने भएको हो ।
जिल्ला विकास समितिमा भएको सर्वपक्षीय छलफलले पुरानो ठाउँमा गाविसको सभाहल निर्माण गर्ने काम सुरु भएकै दिनमा बर्दघाटमा सार्ने र त्यसका लागि गाविस र जिविसले आगामी परिषद्मा उचित बजेट विनियोजन गर्नेजस्ता निर्णयहरू भएको स्थानीय विकास अधिकारी रामुराज कडरियाले जानकारी दिनुभयो ।
गाविस पुरानै स्थानमा सञ्चालन हुने भएपछि सेवा लिन लामो समयदेखि सदरमुकाम जान बाध्य सेवाग्राही खुसी भएका छन् । स्थानीय विकास मन्त्रालयले सर्वपक्षीय सहमति भए नयाँ स्थानमा र सहमति नभए पुरानै स्थानमा गाविस कार्यालय सञ्चालनका लागि परिपत्र गरेको थियो । रासस
Discussion about this post