चितवन उर्वर क्षेत्रका रुपमा चिनिन्छ र साहित्य सिर्जनाका क्षेत्रमा पनि यो कुरा लागू हुन सक्छ । चितवनको चिनो (२०२१), दोभान (२०२५) र नौलो राँको (२०२६) जस्ता पत्रिका प्रकाशन गर्दै लेखन र प्रकाशनका माध्यमबाट व्यक्तिगत या संस्थागत जुनसुकै प्रकारले होस्, आजसम्म सङ्ख्यात्मक दृष्टिले नेपाली साहित्य सिर्जनामा चितवन उन्नत रहेको छ । गुणात्मकरुपमा भन्नचाहिँ अलिबेर नसोची भन्दा हचुवा पारा देखिन सक्छ, तापनि उत्कृष्टता र विशिष्टताका लागि श्रम र साधनाको कमी रहेको कुरा भने भन्नैपर्छ । आज नाटकबाहेक साहित्यका सबैजसो विधामा मनग्य कृतिहरु प्रकाशित भइसकेका छन् । कवि, समालोचक, निबन्धकार, उपन्यासकार, संस्मरण–नियात्राकार, मुक्तक, हाइकु, तान्का, लघु कथा–कथाकारसमेत प्रशस्त रहेका छन् । तिनै व्यक्तिहरुको बौद्धिक चेतना, सिर्जनात्मक प्रतिभा र साधनाबाटै भावी नारायणी सभ्यताको साहित्यिक, सांस्कृतिक बान्कीहरु खोपिँदै छन् । निश्चितरुपमा भन्न नसके पनि भविष्यका सुदूर क्षितिजमा आज गरिएका अनेक प्रयास र कर्महरु अवश्य स्वर्णाक्षरमा अङ्कित हुनेछन् भन्ने मलाई लागेको छ । चितवनको सिंगो साहित्यबारेको यो मेरो व्यक्तिगत धारण रहे पनि चितवनको कविताका बारेमा मात्र सोच्दा अल्लि भिन्न विचारको विकास मभित्र हुन थालेको छ र अहिले म त्यसतर्फ लाग्दैछु । मन लागे तपाईं पनि आउनुहोला, पछि फुर्सदमा बसेर छलफल गरौँला ।
साहित्ययात्राको प्रवेशद्वार हो कविता, जहाँबाट सिर्जनाको सागरमा डुबुल्की लगाउन थालिन्छ । कल्पनाले, रहरले, प्रणयले, प्रतिभाले वा उकुसमुकुसको अभिव्यक्तिको बहानामा जसरी होस् प्रारम्भमा कवि बन्ने धुन चढेको हुन्छ । त्यतिबेला कोरेका कविताका पंक्तिहरु प्रकाशनको उज्यालोमा आएर जब ‘कवि’को सम्बोधन मिल्छ अनि रहर पातलिँदै जान्छ । उसमा अब दायित्वबोधी चिन्तनको अभिभारा पनि थपिन्छ । उसले कस्ता कविता लेख्छ, किन यस्ता कविता लेख्छ, किन यस्ता लेख्दैन वा कति र कस्ता लेख्यो जस्ता अनेक प्रश्न र उत्तरको ओइरोमा उसको कविता लेख्ने रहर निल्नु न ओकल्नुको काँचो आन्द्रामा बदलिन्छ । त्यसैकारण, ‘पहिला त म पनि कविता लेख्ने गर्थें’ भन्नेको ठूलो जमात आज पनि भेटिन्छ । तिनले किन लेखेनन् ? तिर जानु म आवश्यक देख्दिनँ, बरू कवि सर इकवालका शब्दमा लेखिरहेकालाई झम्टिँदाजति मजा अरुमा कहाँ हुन्छ र ?
चितवनको पहिलो पुस्ताका कविहरु अब धेरै कम छन् । उनीहरुकै अथक साधना र प्रेरणाको गोरेटोमा हिँड्दै गर्दा चितवनको साहित्य (कविता) आज यहाँसम्म आइपुगेको हो । कति गइसके, कतिले आफूलाई कविताइतरको गोरेटोतिर मोडे । नन्दन र विनोदीजस्ता लेखिरहेका छन् उत्तरार्धमा पनि । पोषराज पनि आज आएर पहाडतिरै फर्के । म आफ्नो घरको कोठामा बसेर चहार्दै छु अहिले र सम्झँदै छु हरिहर सविताको काव्यिक श्रद्धाञ्जलीको दिन । अनि सम्झिरहेको छु, अस्ति जनक मावि गैँडाकोटको प्राङ्गणमा कवि गोविन्दराज विनोदीको अभिनन्दन पत्रमा डा. नारायणप्रसाद खनालद्वारा सम्बोधित प्रत्येक शब्दहरु र त्यही दिन हतार हतार गरी ट्युमरको अप्रेसनका लागि काठमाडौँ हानिएका राजेन्द्र घायललाई पनि । यसरी पहिलो पुस्ताले आफ्नो दायित्व र अभिभारा क्रमशः दोस्रो पुस्तामा नजानिँदो तवरले हस्तान्तरण गरिसकेको पो पाएँ मैले त !
आजको दोस्रो पुस्ता सक्षम र चेतनशील छ चितवनमा । कुनै पनि दृष्टिले न्यून आँकलन गर्नु ठूलो भूल हुन सक्छ । वस्तु र कला, दृष्टि र चेतना, शैली र लालित्य तथा अन्य विविध दृष्टिबाट पनि जति माथि उठ्नुपर्ने हो त्यो भने मैले पाएको छैन । म त अझ भन्छु, युवापुस्ताका कविका कविता छन्, तर तिनमा कविताको महक छैन । यसका कारण धेरै छन् र होलान् पनि । व्यक्तिको सफलताका निम्ति दुई पक्ष मह¤वपूर्ण मानिन सक्छन्– परिवेश र प्रयत्न । न त अहिलेको परिवेश तिनको अनुकूल नभएर हो वा कविता सिर्जनामा साधनाको कमी भएर हो । किन किन मलाई लागिरहेछ, आजभोलि कि यो पुस्ताले उत्कृष्ट कविता नै पस्कन सकेन । विज्ञापनको युग र बजार न हो, आजको यो दुनियाँ । हुन त, मन लागेको वा फुरेको बेला लेखिएका एकाध राम्रा कविता वाचन र विज्ञापन गरेर विशिष्ट कवि भइन्छ र पैँचो नै किन नहोस्, सापटी पुरस्कारद्वारा पुरस्कृत भइन्छ भने अनावश्यक साधनाको माथापच्छी नै किन र कसले गर्ने ! मञ्चासीन र सजधजपूर्ण रङ्गीन चित्रहरु फेसबुकको वालमा टाँसेर विश्वभ्रमणमा पठाएपछि पनि राम्रो कवि भएकोमा शंका गर्न कसले सक्छ र ! यसरी चितवनको युवापुस्ता सबै दृष्टिले पूर्ण भएर पनि श्रम, साधना र चिन्तनका दृष्टिले अधुरा र अपूरो नै छ ।
चाहेदेखि यो पुस्ताले गर्न नसक्ने छैन । वर्तमान चितवनका प्रतिनिधि कविहरुमा सरिता तिवारी, सुरेन्द्र अस्तफल, प्रकाश चापागाईं, भूपिन खड्का, गणेश श्रमण, सुमन श्रेष्ठ, बालकृष्ण थपलिया, सिर्जन अविरल, सरला जोशी, द्वारिका नेपाललगायत लामो सूची बन्न सक्छ । तिनीहरुले नसोच्नु, सोचेजति गर्न नसक्नु वा पछि पर्नु भनेको चितवनले राम्रा कविता दिन नसक्नु हो । यसको प्रमुख कारण भनेको तेरो र मेरोमा विभक्त हुनु, टाढिनु र अन्तरसंवादमा नलाग्नु हो । त्यही स्व र परजन्य संकुचनको परिधिबाट बाहिर निस्कन नसक्नु र आफू र आफ्नै खेमा ठूलो रहेको ठानेर आत्मरतिको आहालभित्र निमग्न हुनु हो । अर्कालाई आदर र सम्मान गर्दा आफू सानो हुने र पछि परेको अनुभूत गर्ने ढुकुरे छाती बोकेर आकास ढाक्ने हौवा पिटिरहनेको ओखती नै छैन र केही भन्नु पनि छैन । प्रत्येक व्यक्ति महान् बन्न सक्ला, ठूलो भनिन सक्ला, प्रसिद्ध पनि होला तर चितवनको कविता भने सधैँ पछि पर्नेछ । कसैको एकलकाँटेपन, कुनैको अहम्, कुनैको पद र प्रतिष्ठाको सवाल, कतै के कतै केले चितवनको कवितामाथि अन्याय भएको महसुस भएको छ । प्रतिभा, व्युत्पत्ति र अभ्यासको कमीले गर्दा चितवनको कविता थला पर्दैछ । यस्तै हो भने चितवनका कविता सिर्जनायात्रालाई अग्रगति दिन केही वर्षभित्रै नयाँ सारथिका रुपमा तेस्रो पुस्ता आउने छ र यो पुस्ता आत्मविलयको साक्षी बनेर किनारमा उभिएको हेर्नुपर्ने छ । त्यो तेस्रो पुस्ता बाहिरबाट होइन, हाम्रो देवघाटका संस्कृत शिक्षा प्राप्त काव्यशिल्पी युवाहरु हुनेछन् ।
चितवन महोत्सवको बाह्रौँ परिक्रमाभित्र बृहत् साहित्य गोष्ठी सम्पन्न भयो । आजभोलि चितवनमा हुने प्रत्येक साहित्यिक जमघट र कविता वाचन कार्यक्रममा देवघाटको सहभागिता बाक्लिएको अनुभव मैले गरेको छु । संस्कृत भाषा र साहित्यको आरनबाट अर्चापिएका इस्पातिला र धारिला हतियारजस्ता देखिने ती युवाको आवाजले दर्शक/स्रोतामा सन्नाटा र मोहकता दुवै एकैसाथ उभ्याएको पाएको छु, जुन समकालीनतामा हस्तक्षेपकारी उपस्थिति हो । गुरूकुलमा दीक्षित ती संस्कृतनिष्ठ शुद्ध भाषिक उच्चारण, पदलालित्य र अर्थगौरवका सामु चितवनका बडे कविहरु जिल्लाराम परेर हेर्नुबाहेक केही नरहने निश्चित छ । हामीछेउ बसेका ती एक युवाको परिचित र स्थापित चितवनका कविबारेको धारणा त नभनौँ, हामीले बोल्ने र लेख्ने नेपाली भाषाको स्तर देखेर तिनीहरु टीठ मान्दछन् भन्ने थाहा पाएपछि मलाई पनि होजस्तै लाग्न थालेको छ ।
मेरो यस लेखनको अर्थ, उद्देश्य वा आसय जे सम्झनुहोस्, चितवनका कविले कविताप्रति न्याय गरेका छैनन् र तिनले अन्याय गर्न पाउँदैनन्, अर्थात् सकेदेखि छिचिमिरे गुटको अर्दली बनेर होइन सञ्जीवनीयुक्त नवजीवनदायी महान् कविता सिर्जनाद्वारा युग हाँक्न नसके चितवनको कविता असामयिक बन्न जाला कि भन्ने पिरलोको पोको खोलेको मात्र हो, अहिलेलाई यत्ति नै ।