भरतपुर । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले पानीको शुल्कमा सत्प्रतिशत वृद्धि गरेको छ ।
गत वर्ष बोर्डले शुल्क बढाउन खानेपानी महसुल निर्धारण आयोगमार्फत पहल गरेकामा स्थानीय जनताको विरोधपछि स्थगित भएको थियो । राजनीतिक दलका प्रतिनिधिले संविधानसभाको निर्वाचनसम्म शुल्क नबढाउन दबाब दिएपछि यो प्रक्रिया स्थगन गरिएको थियो । बोर्डले निर्वाचनलगत्तै प्रक्रिया पूरा गरी सतप्रतिशत शुल्क वृद्धि गरेको हो ।
वृद्धि गरिएको शुल्क यही फागुन १ गतेदेखि लागू हुनेछ । वृद्धि महसुलअनुसार अब खानेपानीको न्यूनतम शुल्क रू १०० कायम गरिएको छ । बोर्डले यसअघि न्यूनतम शुल्क रू ५० लिँदै आएको थियो ।
यस्तै, बोर्डले न्यूनतम शुल्कबाहेक अन्य शुल्कमा पनि वृद्धि गरेको छ । निजी धारामा न्यूनतमबाहेकको पानीको प्रतिहजार लिटर तीनका दरले वृद्धि गरेको छ भने संस्थागततर्फ प्रतिहजार लिटर रू पाँच वृद्धि गरेको छ । यसैगरी निजी संस्थागततर्फ न्यूनतम महसुल दरमा वृद्धि गरी रु ९७५ देखि दुई हजार २० सम्म पु¥याएको छ । बढी खपत महसुल दरमा साविकको कायम गरिएको छ ।
भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेलले विसं २०६१ पछि पहिलो पटक महसुल वृद्धि गरिएको बताउनुभयो । एसियाली विकास बंैकको रु २६ करोड ऋणमा निर्माण गरिएको खानेपानी आयोजनालाई खानेपानी संस्थानमा गाभेर भरतपुर खानेपानी व्यवस्थापन बोर्डको नाममा खानेपानी व्यवस्थापन गरिँदै आएको छ । चर्काे महँगी, ऋण तिर्नुपर्ने बाध्यतालगायतका कारण महसुल वृद्धि गर्न बाध्य भएको निर्देशक पौडेलले बताउनुभयो । बढेको शुल्क न्यूनतम २२ प्रतिशतदेखि शतप्रतिशतसम्म रहेको उहाँले जानकारी दिनुभयो ।
Discussion about this post