आज माघ १६ गते देशभर सहिद दिवस मनाइने गरिन्छ । तत्कालीन एकतन्त्रीय जहानियाँ राणाशासनविरूद्ध प्रजातन्त्रको पक्षमा आवाज उठाउँदा शहादत प्राप्त गरेका चार सपूत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठाकुरलाई मृत्युदण्ड दिएको दिनको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । प्रातःस्मरणीय चार सपूतहरुलाई विक्रम सम्वत् १९९७ साल माघ महिनामा तत्कालीन राणाशासकले कठिन यातनापछि मृत्युदण्ड दिएका थिए । राणाशासकले शुक्रराज शास्त्रीलाई माघ १० गते टेकु पचलीमा खरीको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिएका थिए । यस्तै, माघ १३ गते धर्मभक्तलाई सिफलमा, १५ गते गंगालाल र दशरथ चन्दलाई शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो । यस्ता महान् सपूतहरुले प्राणको आहुति दिएपश्चात् राणाशासकहरुले घुँडा टेकेका थिए । यिनै सहिदहरुको बलिदानीले गर्दा राणाशासनको विधिवत् अन्त्य भएको थियो ।
हरेक वर्ष माघ १० देखि माघ १६ गतेसम्म महान् सहिदहरुको योगदानको स्मरण गर्दै सहिद सप्ताह मनाउने गरिन्छ । चार सहिदको बलिदानपछि देशमा धेरै उथलपुथल हुन पुग्यो । देशमा २०४ वर्षीय शाहवंशको पनि पतन भयो र लोकतान्त्रिक गणतन्त्र महान् दिशातर्फ अघि बढ्यो । अहिले त्यो संस्थागत हुन गइरहेको छ । तर, लोकतन्त्रलाई संस्थागत गरी शान्त र समृद्ध नेपाल बनाउने सहिदको सपनाले भने अझै पूर्णता पाएकोे छैन । सरकारले सामान्य घटनामा मारिएका व्यक्तिलाई पनि सहिदको उपमा दिएपछि सहिद शब्दकै अपमान भइरहेको छ । सरकारले सहिदका नाममा लाखौँ रकम वितरण गरेर सहिदको बलिदान, त्याग, ओज र सम्मानलाई पैसामा रुपान्तरण गरिदिएको छ । प्रजातन्त्र प्राप्तिका लागि ००७, ०३६, ०४६ तथा ०६२÷०६३ सालको जनआन्दोलनमा शहादत प्राप्त गर्नेहरुको अपमान हुनेगरी सहिदको वर्गीकरण गरिएपछि वास्तविक सहिदको सम्मान हुन नसकेको हो । माओवादी द्वन्द्वकालदेखि मधेस आन्दोलनमा मारिएकालाई पनि सहिद घोषणा गरियो । सडक दुर्घटनामा मरेकालाई समेत सहिद घोषणा गरेर सहिदको मह¤व घटाउने काम ग¥यो ।
दुर्घटनादेखि विभिन्न घटनामा मारिएका व्यक्तिहरुलाई सस्तो लोकप्रियताका लागि भटाभट सहिद घोषणा गरेर सरकारले सहिदको अवमूल्यन गरेको छ । अहिले वास्तविक सहिदहरु नवसहिदहरुको भीडमा हराउँदै गएका छन् । विभिन्न युद्धका नाममा स्वःस्र्फूत सामूहिक सहिद घोषणा गर्दा करिब आठ हजार व्यक्तिले नवसहिदको प्रमाणपत्र पाएका छन् । तर, सहिद घोषणाका लागि चाहिने न्यूनतम मापदण्डसमेत लागू हुन नसक्नु दुःखको विषय हो । देश र जनताका
खातिर हाँसीहाँसी आफ्नो प्राणको आहुति दिने महान् सहिदहरुको सपना पूरा गर्नभन्दा पनि दलहका आ–आफ्ना स्वार्थले सहिद घोषणा गरिने प्रवृत्ति बढ्यो । सरकार तथा राजनीतिक दलहरुले सहिद दिवसका दिन सालिकमा माल्यार्पण गर्दैमा सहिदको सम्मान हुन सक्दैन । प्रजातन्त्र प्राप्तिका लागि बलिदानी गर्ने सपूतहरुले उठाएको राष्ट्रको मुद्दा, समाजको मुद्दा तथा मानवताको मुद्दालाई मूर्तरुप दिनसके मात्र महान् सहिदहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
Discussion about this post