-मधुसूदन दवाडी
दोस्रो संविधानसभाको निर्वाचनपछि गठन भएको संविधानसभाले आफ्ना बैठकहरु प्रारम्भ गरेको छ । संविधानसभा तथा व्यवस्थापिका संसद्को दोहोरो भूमिकामा रहेको संविधानसभाका सामु सरकार गठन तथा सभामुख, उपसभामुखको निर्वाचन गनुपर्ने जिम्मेवारी एकातिर छ भने अर्काेतिर संविधान निर्माणको कार्यलाई पनि तीव्रता दिनुपर्ने छ । दोस्रो संविधानसभाको सुरूवातलाई हेर्दा अहिले संविधानसभाका बैठकहरु एजेन्डाविहीन भएर बितिरहेका छन् भने दलहरु सरकार गठन र आन्तरिक शक्ति बाँडफाँडमा अलमलमा परिरहेका छन् । एकातिर दलहरुभित्र आन्तरिक रुपमा पदको भागबन्डा मिलाउनु पर्ने छ भने अर्काेतिर एक दलले अर्काे दलसँग पनि सहमतिको रुपरेखा तयार गनुपर्ने छ । संविधान निर्माणका लागि सबैभन्दा सजिलो सबै दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने हुन्छ, तर अहिले दलहरुको आन्तरिक द्वन्द्व तथा किचलोले सो विषय ओझेलमा पर्ने सम्भावना बढेको छ । पुरानै संविधानसभाका गलत संस्कार तथा प्रवृत्तिहरु दोहोरिने सम्भावनाहरु बढ्ने प्रारम्भिक संकेतहरु देखिन थालेका छन् । एमाओवादी तथा राप्रपा नेपालले संसद्को पहिलो बैठकबाटै प्रतिपक्षमा बस्ने घोषणा गरिसकेका छन् भने एमाले पनि शक्ति बाँडफाँडको विषय नमिले प्रतिपक्षमा बस्ने तयारीमा छ । अन्य साना दलहरुसँगको कुराकानी त अगाडि नै बढेको छैन ।
संविधानसभामा सहभागी सबै साना र ठूला दलहरु नमिलेसम्म राष्ट्रिय सहमतिको सरकार नै बन्न सक्दैन । ठूलो दलको नाताले कांग्रेस सभापति सुशील कोइरालाले सरकारको नेतृत्व गर्ने लगभग पक्कापक्की नै भैसकेको छ, तर पनि मन्त्रालयहरुको बाँडफाँड, संविधान निर्माणका सम्पूर्ण विषयहरु मिलाउन कोइरालालाई त्यति सहज छैन । एकातिर कांग्रेस पार्टीभित्रको आन्तरिक कलह फेरि चर्किंदै छ भने अर्काेतिर दोस्रो ठूलो शक्ति एमालेलाई मन्त्रालयको भागबन्डादेखि हरेक विषयमा चित्त बुझाउन निकै गाह्रो छ । सत्ताको नजिक पुगेपछि किचलोमा पर्ने नेपाली कांग्रेसको पुरानै रोग हो, जसले यसपटक पनि कांग्रेस नेतृत्वलाई नराम्रोसँग गाँजेको छ । यसपटक पनि संसदीय दलको नेता बन्नका लागि सभापति सुशील कोइरालाले ठूलो कसरत गनुप¥यो । दोस्रो जनआन्दोलनभन्दा अघिको पुरानो संसद्मा कहिले छत्तीसे त कहिले चालीसे भनेर देखिने कांग्रेसभित्रको पुरानो प्रचलन यसपटक पनि सुरू भएको छ । विगतमा संसद्मा र समग्र पार्टी पंक्तिमा ४० प्रतिशतको भूमिकामा देखिएका देउवा पछिल्लो संसदीय दलको नेता चयनको निर्वाचनमा ८९ मत पाएर आफ्नो प्रतिशत बढाएका छन् ।
जसरी नेपालको पुरानो संसदीय इतिहासमा कांग्रेसको प्रतिशतको झगडाले संसदीय व्यवस्थामाथि नै प्रश्नचिन्ह लाग्यो, त्यसैगरी यसपटक पनि यसै झगडाले दोस्रो संविधानसभालाई असजिलोमा पार्ने प्रारम्भिक संकेतहरु देखिन थालेका छन् । देशको संसदीय इतिहासमा तीन पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्न किचलो झिक्नु र पार्टीभित्रको सामान्य विषयलाई मिलाउन निर्वाचन नै गनुपर्ने अवस्था सिर्जना हुनुलाई सकारात्मक संकेतका रुपमा लिन सकिन्न । यसले पार्टीको तल्लो पंक्तिसम्म गुटको राजनीतिलाई फेरि चर्काइदिने छ, जसको प्रत्यक्ष असर देशको सम्पूर्ण राजनीतिक प्रणालीमाथि नै पर्ने छ । कांग्रेसभित्र को व्यक्ति कति पटक प्रधानमन्त्री बन्ने भन्ने स्पष्ट नीति नहुँदा पनि यस्तो अवस्था सिर्जना भएको हो । स्वयं देउवा आफैँ पनि अब प्रधानमन्त्रीको कुर्सीका लागि सधैँ दौडमा रहनुभन्दा पार्टीमा वरिष्ठ नेताका रुपमा सल्लाहकारको भूमिका नै निभाउनु उपयुक्त हुन्छ । उमेर रहुन्जेल पार्टी र सरकारको उच्च पद ओगटिरहने पुरातन शैलीको राजनीतिले कांग्रेसभित्र युवा नेतृत्वले अवसर पाउने सम्भावना नै देखिँदैन । पार्टी यही ढर्राबाट अगाडि बढेमा गगन थापा उमेरका युवाहरु पार्टी सभापति वा प्रधानमन्त्री बन्न सुशील कोइरालाकै उमेरलाई पर्खनु पर्ने हुन्छ । जसरी नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले नाकमा अक्सिजनको सिलिन्डर झुन्ड्याएर सरकार र पार्टीको नेतृत्व गरिरहे, त्यसैगरी सुशील कोइराला र शेरबहादुर देउवाको पनि त्यही अवस्था सिर्जना हुने सम्भावना छ । नेताले पार्टीलाई आफ्नो व्यक्तिगत, प्राइभेट कम्पनी वा सम्पत्तिजस्तो ठानिरहेसम्म यस्तो गलत संस्कारको अन्त्य हुने कुनै सम्भावना पनि देखिँदैन । ठूलो दल आफैँमा अस्थिर तथा अन्यौलग्रस्त बन्नु भनेको समग्र लोकतान्त्रिक प्रणाली र संसदीय व्यवस्था नै अस्थिर तथा अन्यौलग्रस्त बन्नु नै हो ।
संसदीय दलको नेतामा सुशील कोइरालाको चयनलाई नेपाली राजनीतिमा स्वाभाविक प्रक्रियाका रुपमा हेर्न सकिन्छ र उनलाई यसपटक प्रधानमन्त्री बन्न दिनुपर्छ । कांग्रेस पार्टीको शीर्ष नेतृत्वलाई हेर्दा शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएका मानिस हुन् भने पार्टी उपसभापति रामचन्द्र पौडेल उमेरको हिसावले पनि फेरि–फेरि प्रधानमन्त्री बन्न सक्छन् । स्वास्थ्यको हिसाबले र उमेरको हिसाबले पनि सुशील कोइरालालाई प्रधानमन्त्रीको कुर्सीमा पर्खाएर राख्नुहुँदैन । एक पटक उनले सरकार र पार्टीको नेतृत्व गरेपछि फेरि अर्काे पटक उनलाई मौका दिनु पनि हुँदैन । उनलाई पार्टीको वरिष्ठ नेता वा सल्लाहकारका रुपमा थन्काइदिए हुन्छ । नेपाली राजनीतिमा कोइरालाले निकै राम्रो छवि बनाउँदै आएका छन्, जसको परीक्षण अब हुँदैछ । ७६ वर्षीय कोइराला आजसम्म अविवाहित छन् भने उनको राजनीतिक अनुभव पनि निकै लामो छ । उनले वि.सं. २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको स्थापना गरेपछि कांग्रेसभित्र बीपीको सहयोगीका रुपमा उनको राजनीतिक जीवनको प्रारम्भ भएको थियो । वि.सं. २०३४ सालमा पार्टीको केन्द्रीय नेतृत्वमा प्रवेश गरेपछि पार्टीको कार्यवाहक सभापति, उपसभापति हुँदै उनी आजको अवस्थामा आइपुगेका हुन् । सबैभन्दा ठूलो कुरा त नेपालको संसदीय राजनीतिमा सबैभन्दा धेरै पटक देशको शासनसत्ता चलाउने पार्टी नेपाली कांग्रेस नै बन्दा पनि सुशील कोइरालाले कहिल्यै पनि पदको आकांक्षा राखेनन् । त्यसैले पनि उनी लोकतान्त्रिक निष्ठा र लगाव भएका स्वच्छ छविका असल व्यक्ति हुन् । नेपाली कांग्रेसको पहिलो पुस्ताका गान्धीवादी चरित्रका व्यक्ति कृष्णप्रसाद भट्टराईपछि अरु कोही छ भने त्यो सुशील कोइराला नै हो । उनका अगाडि शेरबहादुर देउवाले सुशासन र नैतिकताको कुरा गर्नु त एक अंश पनि सुहाउँदैन ।
नेपाली साहित्यका सशक्त कवि भूपि शेरचनले भनेजस्तै अब नेपालको राजनीतिमा जस्ता पाताजस्तो निधारमा चाउरी परेकाहरु युवापुस्ताको अगुवा बन्न सक्दैनन् । त्यसैगरी, कांग्रेसमा पनि नाकमा अक्सिजन सिलिन्डर झुन्ड्याएर हस्पिटलको आईसीयूमा बस्ने बेलासम्म कुनै पनि नेताले पार्टी तथा सरकारको दाबी गरिरहन सुहाउँदैन । केन्द्रदेखि स्थानीय तहसम्म कांग्रेसभित्र पुरानो पुस्ताकै बाहुल्यता देखिन्छ, जसको अन्त्य अति आवश्यक छ । पुरानो पुस्तालाई कार्यकारी पदहरु दिनुभन्दा पनि सम्मानपूर्वक सल्लाहकारको पदमा राख्दा राम्रो हुन्छ । चाहे देउवा पक्ष होस् वा कोइराला पक्ष होस्, दुवैले पार्टीभित्रको यो यथार्थतालाई स्वीकार्नु पर्ने हुन्छ । अब कांग्रेसमा पार्टीको नेतृत्व गर्न वा सरकारको नेतृत्व गर्नमात्र गुट तथा समूहको चर्चा गर्नुभन्दा पनि पार्टीलाई अझ धेरै लोकतान्त्रिक र योग्य बनाउन दुवै गुट लाग्नुपर्ने देखिन्छ । पार्टीको आन्तरिक लोकतन्त्र बलियो नभएसम्म त्यस्तो पार्टीले लोकतान्त्रिक पद्धतिको अगुवाइ गर्न सक्दैन र गरिहाले पनि त्यो सफल हुन सक्दैन । नेपालमा संसदीय प्रजातन्त्र सफल हुन नसक्नुको कारण पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएर नै हो । पार्टीमा कुन व्यक्ति केको आधारमा कुन पदमा जाने भन्ने स्पष्ट मार्ग–निर्देशन नभएर नै पार्टीमा सत्ताका लागि तथा पदका लागि विवादहरु देखिन्छन् । कांग्रेसभित्र गुटको नारा लगाएर पार्टी वा सत्ता हडप्नेभन्दा पनि निश्चित विधि वा प्रक्रियाबाट त्यो पदमा पुग्ने परम्पराको थालनी गनुपर्दछ ।
वि.सं. २००३ माघ १२ गते कलकत्ताको अधिवेशनबाट नेपाली कांग्रेसको विधिवत् स्थापना भएको थियो । यो पार्टीले राणा शासन, पञ्चायतकाल र पछिल्लो लोकतान्त्रिक आन्दोलनमा निरन्तर प्रजातन्त्र तथा लोकतान्त्रिक विधि र मान्यताहरु स्थापित गर्न लडेको छ । यसले सात दशक लामो राजनीतिक इतिहास बनाइसकेको छ, तर पनि समयअनुसार पार्टीको अन्तरपार्टी लोकतन्त्र भने अझैसम्म पनि बलियो बन्न सकेको छैन । पार्टी स्थापनाको सुरूवातमा यो पार्टी मातृका र बीपीको आन्तरिक टकरावमा प¥यो, जसले गर्दा २०१५ सालमा प्राप्त गरेको दुई तिहाई बहुमतको सही सदुपयोग गर्न पाएन । त्यसैगरी, वि.सं. २०४६ सालको परिवर्तनपछि पनि कांग्रेसले स्पष्ट बहुमत प्राप्त ग¥¥यो, तर गिरिजाको अहं तथा परिवारवादका विरूद्ध कांग्रेसमा अर्काे समूह जन्मियो, जुन समूह अहिलेसम्म देउवा समूहका रुपमा अगाडि बढिरहेको छ ।
यस्तै, आन्तरिक किचलोका कारण देशमा विगतको संसदीय परम्परा असफल हुन पुग्यो भने पार्टी २०५९ सालमा विभाजित पनि भयो । फेरि यसपटक सरकारको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको छ । कांग्रेस पार्टीले अनेक हन्डर, ठक्कर खाँदा पनि अझै पार्टीमा गुटगत राजनीतिको अन्त्य हुन सकेको छैन । यसले सरकारको स्थायित्वमा नै प्रश्न उठ्ने गरेको छ । कांग्रेस पार्टीमा अर्काे निर्वाचनसम्म पनि सरकार वा पार्टीको नेतृत्वलाई पर्खने र हेर्ने चलन नै छैन । यदि कांग्रेस पार्टीभित्र हिजोका कमीकमजोरी, असक्षमताहरुलाई फेरि दोहो¥याउने खेल भयो भने त्यसले दोस्रो संविधानसभालाई नै संकटमा पार्ने छ । त्यसका लागि पार्टीले गुट, उपगुटको पछिल्लो श्रृंखलालाई अहिलेबाट नै विश्राम दिनुपर्छ । देउवा समूहले कोइरालालाई सरकारदेखि संविधानसभाका हरेक काममा सहयोग गर्नुपर्छ भने कोइरालाले पनि देउवाको सरसल्लाह तथा सरकार सञ्चालनका अनुभवहरुलाई सधैँ अपनाउने, सरसल्लाह गर्ने परिपाटीको सुरूवात गर्नुपर्छ । अहिले सरकार, संविधानसभा तथा पार्टीभित्र सुशील कोइरालाले खेल्ने सम्पूर्ण भूमिकाहरु नै उनको लामो राजनीतिक जीवनको अग्निपरीक्षा हो, जसमा उनी सफल भए नेपालको राजनीतिले नयाँ उचाइ प्राप्त गर्दछ ।
Discussion about this post