सरकारी कार्यालयमा हुने अनियमितता र भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग राख्दै ०६८ सालदेखि नै अनशन थालेकी महोत्तरीकी शारदा भुसाल झाले तेस्रो पटक खुलामञ्चमा अनशनमा बसेकी छन् । नौ दिनदेखि अनशनरत शारदाले स्थानीय निकायमा भैरहेको भ्रष्टाचार रोक्न र संलग्नलाई कारबाहीको माग राखेकी छन् । चिसो भुइँमा अनशन बस्दा उनको स्वास्थ्य अवस्था कमजोर भइसक्दा पनि सरकारले चासो दिएको छैन । आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने अडान लिएकी उनले देशमा व्याप्त भ्रष्टाचार, माफियातन्त्र, राजनीतिक हस्तक्षेप, दण्डहीनता, मनपरीतन्त्रविरूद्ध काजकिरियासमेत गरिरहेकी छन् ।
०६८ भदौ २५ देखि असोज ६ गतेसम्म अनशन बस्दा सरकारले उनको माग पूरा गर्ने आश्वासन दिएको थियो । तर, माग पूरा नभएपछि दोस्रो पटक ०६९ फागुन ११ देखि १९ सम्म अनशन बस्दा सरकारले एक महिनाभित्र माग पूरा गर्ने भन्दै सम्झौता गरे पनि कार्यान्वयन नभएपछि उनले अनशनलाई निरन्तरता दिएकी हुन् । सरकारले पटकपटक सम्झौता गरेर कार्यान्वयन नगरेपछि माग पूरा नभएसम्म अनशन बस्ने दृढ संकल्प गरेकी शारदाले आमरण अनशनमा बसेका नन्दप्रसाद अधिकारीको माग पूरा गर्नुपर्ने, अख्तियारले उनका उजुरीविरूद्ध माघ मसान्तभित्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेकी छन् ।
झाले चार दिनदेखि कपालसमेत खौरेर भ्रष्टाचारविरूद्ध किरियासमेत गरिरहेकी छन् । किरियाका क्रममा खौरेको कपाल विरोधस्वरुप सरकारलाई उपहार दिने भन्दै संकलन गरेकी छन् । सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन नगर्ने प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ । तर, झाले थालेको अभियानमा देशविदेशबाट समर्थन प्राप्त भइरहेको छ । भ्रष्टाचारविरूद्धको यो अभियानले पक्कै पनि सरकारलाई माग पूरा गराउन नैतिक दबाब पार्न सहयोग हुने देखिएको छ । स्वास्थ्य क्षेत्रमा मौलाएको माफियातन्त्र र अनियमितताविरूद्ध प्रा.डा. गोविन्द केसीले आमरण अनशन थालेको १४ दिनपछि सरकारले बाध्य भएर सबै माग पूरा गर्न तयार भएको थियो । केसीको नैतिक बलका कारण स्वास्थ्य क्षेत्रमा माफियाहरुको चलखेल बन्द भएको छ ।
भ्रष्टाचारविरूद्ध अनशन थालेकी शारदाले उठाएका विषयहरुमा पनि जनसमर्थन प्राप्त भइरहेको छ । उनको आफ्नै गाविस तथा विद्यालयमा भएको अनियमितताविरूद्ध चार वर्षअघि महोत्तरीको सुन्दरपुर लोहारपट्टीबाट उनले आवाज उठाउँदै आएकी हुन् । उनको यो आवाजले हरेक गाउँदेखि सरकारी निकायसम्मको प्रतिनिधित्व गरेको छ । झा एउटा प्रतिनिधि पात्र हुन् । भ्रष्टाचार उनले चाहेरमात्र पूरा नहुन सक्छ, तर उनले उठाएका आवाजमा ऐक्यबद्धता जनाएर सरकारलाई दबाब दिन सक्ने हो भने स्थानीय निकायमा भइरहेका अनियमितता घटाउन सहयोग पुग्ने देखिन्छ । हरेक स्वाभिमानी नेपालीले भ्रष्टाचारविरूद्ध ऐक्यबद्धता जनाउँदै शारदाको अभियानलाई सार्थक बनाउनु जरूरी देखिएको छ ।
Discussion about this post