भरतपुर । गत वर्षको चैतमा देखापरेको बर्डफ्लुका कारण करोडाँैको नोक्सानी व्यहोरेका चितवनका कुखुरा व्यवसायीहरू यस वर्ष विशेष सतर्क बनेका छन् ।
सरकारी निकायबाट पनि रोग भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । गत वर्षको चैत १९ गते देखापरेको यो रोगका कारण चितवनमा ७२ हजार कुखुरा सरकारी निकायले नष्ट गरेको थियो भने ठूलो सङ्ख्यामा आफँै मरेको व्यवसायीहरूले बताएका छन् । जसका कारण कतिपय व्यवसायी पेसाबाट विस्थापित भएका छन् ।
नेपाल अण्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेलले रोग भित्रिन नदिन व्यवसायीहरूले जैविक सुरक्षामा विशेष जोड दिएको बताउनुभयो । फार्ममा दाना, औषधि, क्रेट लगायतका सामग्री लैजाँदा र फार्मबाट उत्पादित कुखुराजन्य पदार्थ बाहिर लैजाँदा विशेष चनाखो बन्न व्यवसायीहरूलाई सङ्घले सूचित गराएको उहाँले बताउनुभयो । सङ्घले रोग सर्न नदिन क्रेट र प्याक पुरानो प्रयोग नगर्न अभियान नै सुरु गरेको छ ।
जिल्ला पशुसेवा कार्यालय र राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशालाले रोग भित्रिन नदिन अभियानकै रूपमा काम गरिरहेका छन् । प्रयोगशालाका प्रमुख डा बोधनाथ अधिकारीले चितवन, नवलपरासी र मकवानपुरका एक हजार २०० नमुना परीक्षण गरिएको बताउनुभयो ।
बसाइँ सरी चरा आउने स्थलहरू, तालतलैया, जङ्गल आसपासका क्षेत्र, जिउँदा पक्षी बिक्री–वितरण गर्ने क्षेत्र, स्थानीय जातका हाँस, कुखुरा पालिएका शङ्कास्पद स्थलहरूबाट नमुना लिई परीक्षण गरिएको उहाँले बताउनुभयो । हालसम्म सो रोग कतै नदेखिएको प्रमुख अधिकारीले बताउनुभयो । बर्ड फ्लुको शङ्का लागेमा तत्काल प्रयोगशालामा कुखुरा ल्याउन र जैविक सुरक्षालाई विशेष ध्यान दिन कृषकहरूलाई सूचित गरेको उहाँले बताउनुभयो । हाल दैनिक १५ देखि २० वटा नमुना प्रयोगशालामा आइरहेको छ ।
प्रयोगशालामा आवश्यक पर्ने परीक्षण सामग्रीसमेत तयारी अवस्थामा रहेको प्रमुख अधिकारीले बताउनुभयो । गत वर्षको चैत १९ गतेबाट जेठ १६ गतेसम्म जिल्लाका १६ स्थानमा बर्डफ्लु देखापरेको थियो । चितवनको मङ्गलपुर र भरतपुरका विभिन्न स्थानमा बर्ड परेको थियो । रोगपछि ओरालो लागेको पोल्ट्री व्यवसाय पछिल्लो समय तङ्ग्रँदै गएको छ ।
Discussion about this post