काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण गर्ने काममा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउनुभएको छ । पार्टीको मंगलबारदेखि सुरु भएको तीनदिने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष थापाले एक वर्षभित्र संविधान निर्माण गर्ने गरी द्रुतगतिको विधि र प्रक्रिया सम्बन्धमा आफूले संविधानसभामा प्रस्ताव पेस गर्ने बताउनुभयो ।
पार्टीका सहअध्यक्ष पद्मसुन्दर लावतीले संविधानसभामा नेपाली काँग्रेस, एकीकृत नेकपा (माओवादी), एमाले पार्टीको एकाधिकार अन्त्य हुनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकताबद्ध गरेर राजासहितको प्रजातन्त्र कायम गर्नका लागि सबै नेता कार्यकर्ता लाग्नुपर्छ भन्नुभयो । वरिष्ठ नेता विश्वबन्धु थापाले अनुशासनले मात्रै पार्टीले विजय पाउने उल्लेख गर्दै जनताको अधिकार स्थापित गराउनका लागि पार्टीमा अनुशासित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
तीन दिने सम्मेलनमा पार्टी अध्यक्ष थापाले समसामयिक राजनीतिक अवस्था र भावी कार्यदिशासम्बन्धीे र महामन्त्री चन्द्रबहादुर गुरुङले सङ्गठन सुदृढीकरणसम्बन्धी साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवम् प्रेस संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
सम्मेलनमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फका २३८ उम्मेदवार, ७५ वटै जिल्लाका जिल्ला अध्यक्षहरू, भ्रातृ सङ्गठनका पदाधिकारी, बुद्धिजीवी गरी करिब ७०० जनाको सहभागिता रहने जनाएको छ । कार्यक्रममा केशरबहादुर विष्ट, उपाध्यक्षद्वय राजीव पराजुली र डा धवलशम्शेर राणा, महामन्त्री गुरुङलगायतले जनताले मत नदिएर नभई पार्टी सङ्गठनको केही कमी कमजोरका कारण अपेक्षा गरेअनुरुप संविधानसभामा मत नआएको उल्लेख गर्नुभयो । रासस
Discussion about this post