ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

म वेश्या होइन (कथा)

–जोन कँडेल

by namastec
२०७५ पुष २१, शनिबार ०९:२७ गते
in साहित्य
0
191
SHARES
Share on FacebookShare on Twitter

खुसी थिएँ, प्रथम श्रेणीमा दस जोड दुई उत्तीर्ण भएँ । २०५६ साल श्रावण महिनाको अन्त्यतिर ट्रान्सक्रिप्ट लिनका लागि काठमाडौँको साइत गरेर बिहान छ बजे नारायणगढ, पुल्चोक पुगेँ । म पनि पुग्नु मकालु यातायात पनि टुप्लुक्क त्यहीँ आइपुग्यो । म सरासर खाली सिटमा गएर बसेँ । केही सिट खाली थिए । बस १५ मिनेट त्यहीँ रोकियो । जब बस हिँड्न सुरू ग¥यो, मेरो काकाको उमेरको यात्री मेरो छेउ आएर बसे । मान्छे भद्र नै थिए । सेतो सर्टमा रातो बुट्टे टाई, अत्तरको वासना छोडेका, यस्सो हेर्दा व्यापारी हो कि जस्ता । बस कुद्यो । म झ्यालबाट बाहिर हेरिरहेँ । सलल बगेको नारायणी नदी, पहाड, पहाडका ठाउँठाउँमा ससाना घरहरु रहेका सुन्दर रमणीय दृश्यसँग एकोहोरिएँ ।
केहीबेरको मौनतापछि उनले मलाई सोधे– भाइ कहाँसम्म ?
काठमाडौँ सानोठिमी, अनि तपाईं नि दाइ ? (भाइ भनेपछि दाइ भन्नैप¥यो)– मैले भनेँ ।
म कलंकी । कलंकीमा लज छ । घरचाहिँ गैँडाकोट हो– उनले भने ।
म भरतपुर ५, लंकू । सानोठिमी ट्रान्सक्रिप्ट लिन जान लागेको– मैले भनेँ ।
मुग्लिन आइपुगेछ । बस रोकियो । बाहिर सिमसिम पानी परिरहेको थियो । अगाडि रुख ढलेर बाटो बन्द छ, २÷३ घन्टा लाग्छ होला– बसबाहिरबाट आवाज आयो । अगाडि बाटोको एकछेउ बस र ट्रकको लामो लाइन लागिसकेको थियो । हामी दुई बसबाट झरेर एउटा होटेलमा पस्यौँ । चिया अर्डर गरेपछि दाइले सोधे– भाइ अरु केही खाने कि ?
पानी परिरहेको छ, चिसो चिसो भयो दाइ, पिरो पिरो आलुचप खान ठीक होला– मैले भनेँ ।
ए साहूनी, दुई प्लेट आलुचप पनि दिनू है– उनले अर्डर दिए ।
साहूनीले दुईवटा प्लेटमा चार–चारवटा आलुचप र टमाटरको चटनी ल्याइदिइन् । चिसो चिसो मौसममा पिरो पिरो चप निकै मीठो मानी खायौँ । यत्तिकैमा होटलभित्र एउटी केटी रोएको आवाज सुनियो ।
एउटा भुसतिघ्रे मान्छेले एउटी केटीलाई ढोकाबाट बाहिर गलहत्याउँदै गरेको देखियो । केटी आँसु छोडेर रोइरहेकी थिई । भुसतिघ्रे भन्दै थियो– छिटो निक्लिहाल, तलाईं कामचोर नकच्चरी, तलाईं बसीबसी कसले पाल्छ ? नाटक धेरै गर्छेस्, सबै वेश्याहरु यस्तै हुन् । ऊ रिसले भुटभुटाउँदै थियो ।
त्यो केटी दुई हात जोडेर भक्कानिएर भन्दै थिई– मलाईं यहाँबाट ननिकाल्नोस्, म सबै काम गरिदिन्छु ।
– परेको छैन अब तैँले मेरो काम गर्न ।
– म कहाँ जाऊँ ? तपाईंलाई थाहा छ, मेरो कोही छैन ।
– जता जान मन लाग्छ जा, तँजस्ता वेश्या जता गए पनि हुन्छ । भुसतिघ्रे झन् निर्दयी भएर झोक्किँदै थियो ।
केटीले जोरले चिच्याएर भनी– म वेश्या होइन, होइन म वेश्या । उसको आवाज घट्यो– म वेश्या होइन ।
त्यो दृश्य देखेर मेरा आँखा रसाइसकेका थिए । २०÷२१ वर्षकी एउटी केटी त्यसरी एउटा लोग्नेमान्छेको गाली खाएर आँसु पिउँदै रोएको देख्दा मसँग रहेका दाइलाई खपिनसक्नु भएछ । उनी त्यो मोटेनजिक गएर सोधे– के भयो भाइ ? किन गाली गर्दै छौ त्यो बहिनीलाई ? अलिकति मानवता त देखाऊ ।
उसले रिसले चुर हुँदै भन्यो– सोध्नोस् त्यही छँडुलीलाई ।
दाइले बसेर उसको कुममा हात राख्दै सोधे– के भयो बहिनी ? के ग¥यौ र तिमीले यसरी गाली खाँदै छौ ? ऊ घुँक्क घुँक्क गरी रोइरहेकी थिई ।
– ल नरोऊ नरोऊ, के भयो भन त ।
आँसुले भरिएका आँखाले दाइतिर हेरेर उसले भनी– दाइ, म वेश्या होइन ।
ऊ घोप्टो परेर भन्दै थिई– तीन दिन भयो ज्वरो आएर राम्रोसँग काम गर्न सकेकी छैन । आज एक्कासि टाउको बेस्सरी दुखेर सुतिराखेकी थिएँ, त्यसैले काम गरिन भनेर गाली गर्दै हुनुहुन्छ । तर, म कहाँ जाऊ दाइ ? भौँतारिँदाभौँतारिँदै थाकिसकेकी छु म, कहीँ जान्नँ अब ।
म बेन्चबाट उठेर दाइनजिक पुगेर उभिरहेँ । दाइले त्यस केटीको आँसु पुछिदिँदै भने– मेरो काठमाडौँ कलंकीमा लज छ, यहाँ नराख्ने भए हिँड मसँग । काम त्यति धेरै गर्नुपर्दैन । दुई–तीन दिन आराम गर, औषधि खाऊ, निको भएपछि काम गरे हुन्छ, हिँड मसँग ।
उसले आँसु पुछ्दै भनी– दाइ, जीवनमा धेरै रोएँ, बल्ल आज पहिलोपटक कसैले बहिनी भनेर आँखाको आँसु पुछिदिँदै छ । हुन्छ दाइ, म तपाईंसँगै जान्छु ।
वरिपरि हेर्ने मान्छेको भीड लागिसकेको थियो । दाइले त्यो केटीलाई उठाएर साहूनीतिर हेरेर भने– साहूनी, हाम्रो कति रूपियाँ भयो ?
– २६ रूपियाँ ।
साहूनीले बाँकी पैसा फिर्ता दिँदै भनिन्– ल है सर, बहिनीलाई राम्रोसँग लैजानू । त्यो सुनेर वरिपरिका मान्छे मुसुमुसु गर्दै थिए । उनी मेरो सिटमा बसिन्, म अर्को सिटमा बसेँ । ३/४ सिट खाली नै थिए ।
दाइले भने– भाइ, जाऊ त उ त्यहाँ मेडिकल रै’छ, सिटामोल किनेर लिएर आऊ । दाइ खल्तीतिर हात राख्दै थिए, मैले भनेँ– पर्दैन दाइ, मसँग छ । अघि चपको तपाईंले तिर्नुभयो, अब मेरो पालो । दाइले हाँस्दै भने– ल ल, जाऊ त जाऊ ।
सिमसिम पानीमा म दौडँदै मेडिकल पुगेर औषधि र पानी ल्याउँदै दाइको हातमा दिएँ । दाइले त्यो दिदीलाई औषधि खान दिए । औषधि खाएर बसको सिटमा अढेस लगाएर उनले बाहिर हेरिरहिन् । दाइले मतिर फर्केर भने– तिमी कहिल्यै पीर परेर रोएका छौ ?
– छैन दाइ, आजसम्म पीर नै परेको छैन । कहिल्यै पीर पनि नपरोस् र रून पनि नपरोस् । किन सोध्नुभएको दाइ ?
– तिमी भन्छौ कहिल्यै रोएको छैन, तर बहिनीको घुँक्क घुँक्क अझै रोकिएको छैन, कति पीर परेको रै’छ । कसैको जीवन कस्तो त कसैको कस्तो, हामी सबै मान्छे त हौँ नि । ल अब भन त जीवन भनेको के हो ?
– जीवन पानीजस्तै हो ।
– त्यो त पुरानो डाइलग हो, जीवन बगिजाने पानीजस्तै हो, कहिल्यै नरोकिने ।
– मैले भन्न खोज्या अर्कै हो, जीवन भनेको पानी एचटुओ हो, जसमा दुई भाग हाइड्रोजन र एक भाग अक्सिजनको मिश्रणजस्तै जीवन दुई भाग हाँसो र एक भाग आँसुको मिश्रण हो । म नरोए पनि र आँसु नबगाए पनि मलाई त्यस्तै लाग्छ, अरुको जीवन भोगाइ देखेर ।
– तिमी साइन्सको विद्यार्थी हो कि क्या हो ?
– हो त, त्यसैका लागि त काठमाडौँ सानोठिमी हिँडेको नि ।
बाटो खुल्यो, सबै बसमा चढौँ है– कन्डक्टर कराउन थाल्यो । यात्रु पालैपालो बसमा चढ्न थाले ।
धेरैबेर बस्नुपर्छ जस्तो लागेको थियो, धन्न चाँडै नै खुलेछ । १२ बजेसम्म त पुगिन्छ कि– बसभित्र एक जनाको आवाज सुनियो ।
अँ पुगिएला, कृष्णभिर नचली बसेको भए, त्यो पनि चल्न सुरू गरेको रै’छ भने आजको १२ होइन अर्को दिनको १२ बजे पक्कै पुगिएला– अर्को आवाज आयो ।
बस हिँड्यो । ती दिदी झ्यालबाट बाहिर हेरेर टोलाइरहेकी थिइन् । दाइले सोधे– बहिनी, टाउको अल्लि हल्का भयो त ?
उनले भनिन्– अँ दाइ, अहिले धेरै कम भयो ।
बस दौडियो । सबै आआफ्ना सिटमा मस्त थिए । कोही निदाउन सुरू गरे ।
दाइलाई चाहिँ त्यो दिदीका बारेमा जान्ने इच्छा लागेछ ।
उनले सोधे– बहिनीको घरचाहिँ कहाँ हो नि ?
दिदीले भनिन्– छैन ।
– यहाँ कहाँबाट आएकी त ?
– बम्बईबाट ।
बम्बई सुनेपछि दाइको मनमा झन कौतुहलता जागेजसरी सोधे– बम्बई ? बम्बई किन गएकी त ?
उनले भनिन्– थाहा छैन, दाइ । उनका नजर झ्यालबाट बाहिर नै थिए ।
दाइले दुःखी हुँदै भने– बहिनी, तिम्रो जीवनमा ठूलै दुःखद घटना भएजस्तो छ । तिमी को हौ ? कसरी र किन बम्बई पुग्यौँ ? फेरि यहाँ कसरी आइपुग्यौ ? नढाँटी बताऊ त ।
मैले आफ्नो टाउको दाइतिर झुकाएर उनको कुरा सुन्न दुवै कान चनाखो बनाएँ ।
उनले भनिन्– सबै कुरा जान्ने, बुझ्ने र थाहा पाउने बेलामा म नारायणगढको पोखरा बसपारकको सडकमा थिएँ । बाबआमा, घर केही थाहा थिएन । बाटोमै कहिले प्लास्टिक टिपेर त कहिले होटेलमा भाँडा माझेर भातसम्म फेला पार्थें । अघिको होटेल पहिले नारायणगढ बसपारकमै थियो । प्रायः उनीहरुकोमा नै भाँडा माझ्थेँ, खान्थेँ । जुटको बोरा ओढेरै भए पनि पुस–माघको कठ्याङ्गिँदो जाडो काटेकी थिएँ ।
एकदिन चिया खान आउने ग्राहकको घरमा बस्ने, काम गर्ने भनेर कुरा आयो । ठूलो घरमा काम पाएर मख्ख परेँ । बच्चाको कपडा धुने, स्कुल पु¥याउने र ल्याउने, घर सफा गर्ने काम सजिलै थियो । घर मालिक पार्टीका नेता थिए, बेलाबेला मान्छेको भीड लागिरहन्थ्यो । खान–लाउन राम्रै दिएका थिए । सानासाना दुई भाइहरु थिए, उनीहरुलाई नै साथी बनाएकी थिएँ । एक वर्ष आनन्दले बिताएँ ।
तीजको अघिल्लो दिन थियो । मालिक्नी दुई छोरालाई लिएर माइत गएकी थिइन् । मालिक राति ११ बजेतिर घर आए । म भ¥याङमुनि सुतिराखेकी थिएँ । ढोका खोलिदिएर म सुतेँ । एकछिनपछि मेरो नजिक आएर बोलाए– अर्पना ।
मै जुरूक्क उठेर भने– हजुर !
–आइजा, यतै आएर सुत, मलाई नि यता एक्लै न्यास्रो लागेर आयो । तँ पनि त्यो कुनामा कसरी सुत्छेस्, अब तँ ठूली भैसकिस्, अप्ठ्यारो लाग्दो होला ।
आफ्नै बाबुले बोलाएजस्तो लागेर निश्संकोच उसको कोठामा पुगेँ ।
उसले ठूलो बिस्तरा देखाउँदै भन्यो– ल, तँ यहाँ सुत, म यता सुत्छु, त्यति भनेर अर्को ओछ्यानमा गएर के के किताब पल्टाउन थाल्यो । त्यो दिन पहिलोपटक त्यति कोमल र न्यानो ओछ्यान पाएकी थिएँ, तर पनि निद्रा लागेन । ओछ्यान प्यारो हुँदोरैन छ ।
बत्ती निभ्यो । अर्को रातो सानो बत्ती बल्यो । ऊ म सुतेको ओछ्यानमा आयो र मेरो छेउमा सुत्यो । बिस्तारै उसले आफ्नो हात र खुट्टा मेरो शरीरमाथि चढायो । म जुरूक्क उठेँ । सानो बत्तीको मधुरो उज्यालोमा उसको निर्वस्त्र नांगो शरीर देखेर म कराउँदै त्यहाँबाट भागेर बाहिर निस्केँ । ऊ अर्पना अर्पना भन्दै गेटसम्म आइपुग्यो र फर्कियो ।
म पुनः आफ्नै पुरानो बासस्थान सडकमै आइपुगेँ । त्यतिबेला त्यो अँध्यारो सडक मलाई कति सुरक्षित र प्यारो लागेको थियो ।
एक वर्षसम्म फेरि सडकमै सडक बालबालिकासँग जिन्दगी बिताएँ । कति माया गर्थे तिनीहरु मलाई । एकदिन लहैलहैमा तिनीहरुलाई छोडेर म काठमाडौँ आएँ । काठमाडौँ आउनु मेरो दुर्भाग्य ! काठमाडौँ आएको एक हप्तापछि म लुटिएँ ।
उनी फेरि रून थालिन् ।
नरोऊ नरोऊ, दाइले भने– कसरी त्यस्तो भयो ?
उनी दुवै हातले आँसु पुछ्दै भन्न थालिन्– काठमाडौँमा पनि सडक बालबालिका नै साथी बनाएकी थिएँ । एकरात म र अरु चार जना एउटा प्रतीक्षालयमा सुतिराखेका थियौँ । गर्मी महिना सिमसिम पानीसँगै चिसो बतास चलेको थियो । बाटोमा मान्छे बोलेको आवाज सुनेँ । आँखा र कान दुवै चनाखो बनाएकी थिएँ । तीन जना जँड्याहा हल्ला गर्दै त्यही प्रतीक्षालयमा आए । एकछिन हल्ला गरेरै बसे । उनीहरुका आँखा ममाथि परेछन् ।
एउटाले भन्यो– तरूनी छ यार ।
अर्कोले सही थाप्यो– हो यार ।
तिनीहरु मेरो नजिक आए, म डराएँ । मलाई समाउन खोजे । म बेस्सरी चिच्याएँ । सबै साथीहरु डरले त्यहाँबाट भागे । साना थिए, भाग्नबाहेक अरु के गर्न सक्थे र !
तिनीहरुबाट उम्किन एकछिन संघर्ष गरेँ, चिच्याएँ, कराएँ तर त्यो मध्यरातमा मेरो आवाज सुनिदिने कोही थिएन । मध्यरात सहरको प्रतीक्षालयमा एउटी बालिकामाथि आफ्नो साहसी पुरूषत्व देखाउने ३ जना लोग्नेमान्छेसँग मेरो केही जोर चलेन । मेरो मुखबाट निस्केको ठूलो चिच्याहटसँगै मेरो इज्जत पनि उड्यो ।
उनका कुरा सुन्दा मेरा आँखा आँसुले टिलबिल टिलबिल गर्दै थिए, तर उनी निडररुपमा ढुक्क भएर बिनासंकोच भन्दै थिइन्– त्यो रात मेरो यो जिन्दगीको ढोका खोलिदिने पहिलो रात थियो । त्यो रातले आज पनि झस्काइरहन्छ ।
त्यो सडकसिवाय मेरो जाने ठाउँ कहीँ थिएन । म बारम्बार त्यही सडकमा लोग्नेमान्छेको हवसको सिकार हुँदै गएँ । जिन्दगीदेखि दिक्क लागेर धेरैपटक भीर र नदीको पुलमा पनि पुग्थेँ, तर मर्न सक्दिनँ थिए र पुनः फर्किन बाध्य हुन्थेँ, त्यही घिनलाग्दो जिन्दगी जिउन ।
एकदिन गलैँचा फ्याक्ट्रीमा काम पाएँ । अब भने जीवनमा केही परिवर्तन हुनेभयो भन्ने झिनो आशा लिएर खुसी हुने कोसिस गर्दै थिएँ । तर, त्यहाँ पनि छिः सबै कामदार र हाकिम ममाथि गिद्धे दृष्टि राख्न थाले । त्यहाँभन्दा नि सडक नै प्यारो लागेर फेरि सडकमा नै आएँ ।
सडक, प्रतीक्षालय, होटेल, बोरा, प्लास्टिक, जूठा भाँडाबाहेक म कल्पना गर्न पनि सक्दिनथेँ । समय बित्दै गयो । फेरि एउटा होटेलमै काम गर्न पोखरा पुगेँ । बिहानदेखि साँझसम्म बगैँचा सफा गर्नुपर्ने, फूलका बिरूवाहरुमा पानी राख्ने र राति पाहुनाको कोठा–कोठामा रक्सी, पानी, चुरोट पु¥याउनुपर्ने । दिनभरि फूलसँग खेल्दा त आनन्द लाग्थ्यो । ठूलो होटेल, विदेशी गोरे पाहुनाहरु पनि नियमित आउँथे । एकरात म्यानेजरको आदेशअनुसार कोठा नं १०९ मा, मलाई कोठाको नम्बर अझै पनि याद छ, पानी र चुरोट लगिदिनू पर्ने लगेर गएँ । त्यस कोठामा एउटा धेरै अग्लो विदेशी गोरे बसेको थियो । दिदी बोल्दाबोल्दै चुप लागिन् ।
ल, पानी पिऊ, दाइले पानीको बोतल दिदीको हातमा राखिदिए । एक घुट्को पानी निलेर उनले भनिन्– त्यो रात पनि म त्यो विदेशी गोरेबाट…..।
उनी रून थालिन् ।
म बसको सिटमा कुहिनोले टेकेर हत्केलाले चिउँडोलाई अढेस दिएर उनका कुरा सुनिराखेको थिएँ । बस रोकियो । दुई जना यात्रु झरे । बस फेरि गुड्यो ।
उनले भन्दै गइन्– त्यहाँ मजस्ता थुप्रै केटीहरु दिनहुँजसो आफ्नो अस्मिता लुटाइरहने रहेछन्, तर सबैका आआफ्नै विवशता थिए । भोलिपल्ट बिहान आफ्नो जिन्दगीलाई धिकार्दै बगैँचाको एउटा छेउमा बसेर रोइरहेकी थिएँ, कसैले पछाडिबाट काँधमा हात राख्दै भन्यो– ए नानी, किन रोएकी ? मैले पछाडि फर्केर हेरेँ, लगभग ३९÷४० वर्षकी एउटी आइमाई, ओठ खैरो लिपिस्टिकले रंगाएकी, छोटो कपाल, कुर्तासुरूवाल लगाएकी । उसले फेरि सोधी– के भो, किन रोएकी ?
मैले उसलाई सबै कुरा सुनाएँ । कसैले त्यसरी सोध्यो भने आफ्नो जस्तो लाग्थ्यो । मेरा सबै अतीत उसका सामुन्ने व्यक्त गरेँ, जसरी अहिले तपाईंलाई सुनाउँदै छु ।
धार्केमा बस रोकियो । कन्डक्टर करायो– ल ल, खाना खान झरौँ । सबै बसबाट निस्किए । भोकाएका रहेछन् क्यारे, सबै होटेलभित्र छिरे । बसभित्र हामी तीन जनामात्र भयौँ ।
दाइले भने– बहिनी, ल उठ, हिँड खाना खान जाऊँ ।
उनले भनिन्– म खान्नँ दाइ, खाने मन नै छैन ।
– त्यसो नभन, जति मीठो हुन्छ त्यति खाऊ, भोकै नबस, शरीर झन् कमजोर हुन्छ, आराम हुँदैन ।
उनले मानिनन् । उनी बसभित्रै बसिरहिन् । दाइ र म खाना खान होटेलभित्र लाग्यौँ । दाइले मलाई सोधे– के खाने ? मैले भनेँ– रोटी खाऊँ न, हुँदैन ?
– मेरो मनको कुरा भन्यौ, ल रोटी नै खाउँ ।
हामी दुईवटा रोटी मगाएर खान थाल्यौँ । मासको दाल, केराउ, आलु र टमाटरको तरकारी, निबुवाको चटनीसँग दाइले ७ वटा र मैले चारवटा रोटी बहुत मीठो मानी खायौँ ।
मैले चारैतिर आँखा डुलाएँ । होटेलमा खाना खानेको भीड थियो । मनमनै सोचेँ– यस्तो भीड छ, राम्रै कमाइ हुन्छ होला । अनि फेरि सोचेँ– नेपाल बन्द, चक्काजामको समयमा त बिजोग नै पो हुन्छ होला ।
दाजुभाइ बसमा चढ्यौँ । उनी सिटमै टोलाइरहेकी थिइन् । उनले सोधिन्– रोटी खाएर आउनुभयो ? उनी हामीलाई चिहाइरहेकी रहिछन् । त्यतिबेला उनको अनुहारमा केही परिवर्तन आइसकेको थियो । उनको मुहार केही खुसी देखिन्थ्यो । उनको अनुहारमा खुसी देखेर मलाई पनि खुसी लाग्यो । म र दाइ आआफ्नो सिटमा बस्यौँ । अरु पनि आएर आआफ्नो सिटमा बस्दै थिए ।
उनले सोधिन्– तपाईंहरु दाजुभाइ हो ?
दाइले भने– अँ हो, आज बिहानदेखि नारायणगढबाट बनेका दाजुभाइ ।
ऊ हाँस्न खोजे जस्तो गरी, तर हासिनँ ।
सबै जना आउनुभयो ?– कन्डक्टर करायो ।
कोही छुट्नुभयो कि ? हात उठाउनोस्– उसको कुराले कोही हाँसे, कोही हाँसेनन् ।
पछाडि बाट आवाज आयो– छैन छैन, जाऊँ जाऊँ ।
बस गुड्यो । झ्यालबाट बाहिर हेरेँ, बस होइन घरहरु दौडिरहेजस्तो देखिन्थे ।
दाइले उनलाई सोधे– खाना खान मानिनौ, ल भन त्यसपछि के भयो ?
म उनको जीवन कहानी सुन्न उत्सुक थिएँ ।
उनले भनिन्– त्यसपछि त्यो आइमाईले भनी– मसँग जान्छेस् ? तलाईं राम्रो काम लगाइदिन्छु । भाग्यवश जीवनमा केही रमाइलो क्षण आउँछ कि भनेर जसले जहाँ भन्यो त्यसैकहाँ किन केही नसोधी हिँड्न मन लाग्दो रै’छ । यस्तो लाग्थ्यो, योभन्दा नर्क कहाँ होला र ! झट्ट हेर्दा स्वभाब राम्रो नदेखिए पनि उसैको साथ लागेर हिँडे । उसलाई विश्वास गर्नु मेरो अर्को दुर्भाग्य ! पछि थाहा पाएँ, उसले मलाई बम्बई लगेर बेचिछ । त्यहाँ पनि उही घिनलाग्दो जिन्दगी । त्यस्तो ठाउँ पनि हुँदो रै’छ कल्पनाभन्दा बाहिरको । धेरै सरापेँ त्यो आइमाईलाई । मैले सरापेर त्यसलाई के नै हुन्थ्यो र ? त्यहाँबाट निस्किने कुनै उपाय थिएन । एक वर्षसम्म त्यहीँ नर्कमा बिताएँ । त्यहीँ बिरामी परेँ, १५ दिनसम्म निको भएन । त्यसपछि केही आराम हुँदै गयो, तर बिरामी भएकै अभिनय गरिरहेँ । एक महिनापछि कसले पाल्छ त्यसलाई, बसीबसी फोकटमा घाटा कसले व्यहोर्छ भनेर त्यहाँबाट निकालिदिए ।
त्यहाँबाट निस्केर अझ जिउने रहरले भौँतारिँदै मेरो सुरूको बासस्थान नारायणगढ, पोखरा बसपार्क आइपुगेँ । पुरानो त्यो होटेल मुग्लिन सरेको थाहा पाएपछि त्यही होटेल खोज्दै मुग्लिन आएँ र त्यही होटेलमा भाँडा माझेर बस्न थालेँ । त्यहाँ आएको पनि नौ महिना भयो । आजसम्म त्यसको सेवा गरेर बसेँ, आज बिरामी हुँदा निकालिदियो, धिक्कार छ त्यसलाई पनि ! अहिले फेरि तपाईंलाई विश्वास गरेर तपाईंको साथ लाएर आएकी छु, भोलि के हुने हो केही थाहा छैन ।
दाइले उसलाई सान्त्वना दिँदै भने– बहिनी, मलाई विश्वास गर, अब तिम्रो जिन्दगी घिनलाग्दो बन्ने छैन । मलाई आशा छ, अब तिम्रो जीवन खुसीसाथ बित्ने छ । बिर्सिदेऊ त्यो घिनलाग्दो अतीतलाई र कल्पना गर, एउटा सुखी र खुसी जिन्दगीको ।
उनले भनिन्– दाइ, तपाईं त मलाई वेश्या भन्नहुन्न नि ?
– बहिनी भनिसकेपछि त्यस्तो किन भन्थे र नि !
उसले रूँदै भनी– म वेश्या होइन दाइ, होइन म वेश्या । म वेश्या हो भने त्यो ईश्वर के हो जसले मजस्तो नारीलाई जन्म दियो ? त्यो आइमाई जसको कोखबाट मैले जन्म लिएँ, त्यो नेता, ती लोग्नेमान्छे, त्यो आइमाई जसले मलाई जिउँदै नर्क पु¥याई, अनि त्यो समाज जसले मलाई वेश्या भनेर थुक्छ, त्यसलाई के भन्ने ?
दाइ मौन रहे । उनको प्रश्नको उत्तर उनीसँग थिएन ।
कलंकी पुगेर बस रोकियो । यात्रा पनि पत्तै नपाई बित्यो । सबै बसबाट झर्न लागे, हामी पनि झ¥यौँ ।
– ए भाइ, आऊ तिमी पनि एकछिन, मेरै होटेलमा बसौँ ।
मैले भने– होइन दाइ, ढिला हुन्छ । आज जसरी पनि सानोठिमी पुगेर ट्रान्सक्रिप्ट निकाल्नुछ । आज काम भएन भने बस्न तपाईंको होटेलमै आऊँला नि ।
— ल दिदी, अब खुसीसँग बस्नुहोला । फेरि त्यस्तो दुःख नपरोस् मेरो कामना । उनको अनुहारमा खुसी फक्रँदै थियो । म झोला बोकेर आफ्नो बाटो लागेँ ।
त्यो यात्रा, उनको रोदन र वेश्या शब्दले यो मानसपटल आज पनि विक्षिप्त बनिरहन्छ ।

के हो वेश्या भनेको ?

Related Posts

Chitwan Post

नौ जना स्रष्टा सम्मानित हुने

बालसमयका विविध अनुभूति (ती दिनहरु)

बालसमयका विविध अनुभूति (ती दिनहरु)

मानवजीवनमा साहित्य (निबन्ध)

मानवजीवनमा साहित्य (निबन्ध)

अन‌ि यो पनि

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन
प्रमुख समाचार

खैरहनी १३का वडा अध्यक्ष उप्रेतीको निधन

खैरहनी माघ ९ गते । चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको शुक्रबार साँझ निधन भएको छ ।...

Read more
विद्यालयलाई युथ क्लबको सहयोग

६ महिनामा २१ प्रतिशत मात्र जिल्लाको विकास खर्च

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

कोरोना भाइरसबाट ३ करोड ७८ लाख संक्रमित, १० लाख ८२ हजार बढीको मृत्यु

नेपालमा थपिए ३०२ जना नयाँ संक्रमित

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

अपराध अनुसन्धान तथा नियन्त्रणको लागि घुम्ती प्रशिक्षण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In