-रमेशकुमार पौडेल
चितवनबाट प्रकाशित हुँदै आएको नारायणी टुडे मासिक पत्रिकाको हालै सम्पन्न वार्षिकोत्सव कार्यक्रममा चितवनको स्वास्थ्य सेवाका बारेमा खुबै चर्चा भयो । कार्यक्रममा सहभागी चिकित्सक डा. भोजराज अधिकारीले पूर्वाधारका दृष्टिले चितवनको स्वास्थ्य सुविधा अब्बल रहेको विचार राखे । पूर्वाधारले अब्बल हुँदाहुँदै पनि यहाँको स्वास्थ्य क्षेत्र समस्यामुक्त भने छैन । मुख्य कुरो राम्रो उपचार हुन्छ भन्ने जनविश्वास कायम हुन सकेको छैन ।
मेडिकल सिटीका रुपमा प्रचार गरिने चितवनको भरतपुरमा स्वास्थ्य उपचारका लागि पर्याप्त पूर्वाधार तयार भइसकेका छन् । तर, चितवनमा नै गुणस्तरीय सेवा पाइन्छ भन्ने भावना जगाउने काम त्यसअनुरुप हुन सकेको छैन । काठमाडौँबाहिर धेरै अस्पताल र चिकित्सक भरतपुरमा नै छन्, तर अझै पनि राम्रो उपचारका लागि काठमाडौँ जाने अवस्था कायमै छ ।
मंसिरको पहिलो हप्ताको एक मध्यरातमा भरतपुरको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. भी. नटराजप्रसाद आकस्मिक कक्षमा छिरे । त्यहाँ आएका एक जना जटिल अवस्थाका बिरामीको उपचारमा एक होइन, दुई होइन– पाँच–पाँच जना चिकित्सक खटिएको देखेर निर्देशक डा. नटराज छक्क परे ।
‘यस्तो चितवनमा मात्रै हुन्छ । उपचारका लागि चितवन आउँदाको फाइदा यही हो । जटिल अवस्थाका बिरामीका लागि आवश्यक पर्ने विशेषज्ञ चिकित्सक उपलब्ध हुन कुनै गाह्रै छैन यहाँ’, डा. नटराजले भने । झुन्डिएर आत्महत्याको प्रयास गरेका बिरामीलाई बचाउन आकस्मिक कक्षमा रहेका चिकित्सकदेखि थप उपचार गर्ने अन्य चिकित्सक जम्मा भएर सेवा दिँदै थिए, त्यो बेला ।
चितवनको स्वास्थ्य पूर्वाधारको थप विशेषता भनेको अनेक किसिमका रोगको उपचार गर्ने स्वास्थ्य संस्थाहरु लगभग सबै एक किलोमिटरको दायरामा छन् । भरतपुरमै निकै पुरानो सरकारी अस्पताल छ । आँखा अस्पताल पनि छ । तीनवटा मेडिकल कलेज छन् । अनि, साना–ठूला गरेर २५ वटा निजी अस्पतालहरु छन् । क्यान्सर अस्पताल पनि भरतपुरमा छ ।
सबै अस्पतालमा गरेर दुई हजारभन्दा धेरै शैया रहेका छन् । पुरानो सरकारी अस्पतालकै पर्खालसँग जोडिएको सात सय शैयाको पुरानो मेडिकल कलेज शिक्षण अस्पताल छ । यी दुई अस्पतालसँग पर्खाल जोडिएको आँखा अस्पताल छ । क्यान्सर अस्पताल झन्डै तीन किलोमिटरको फरकमा छ । अरु सबै अस्पताल एकअर्कादेखि बढीमा पाँच सय मिटर टाढा छन् ।
अन्तर्राष्ट्रियस्तरको पूर्वाधार ः
चितवनको पुरानो मेडिकल कलेज शिक्षण अस्पतालले दक्षिण एसियाली राष्ट्र (सार्क) का सर्जनहरुबाट सेवा दिन सुरू गरेको छ । शल्यचिकित्सक (सर्जन) हरुको सार्क राष्ट्रस्तरीय संगठनका पदाधिकारीहरुको अनुगमनले सो अस्पतालको निरीक्षण गर्दा त्यहाँको सेवासुविधा र पूर्वाधार उत्कृष्ट देखेपछि सार्क सर्जिकल अस्पताल सञ्चालनको स्वीकृति दिएको हो ।
सार्क सर्जिकल केयर सोसाइटीले यस्तो अस्पतालको व्यवस्था गरेको दक्षिण एसियामै पहिलो हो भन्छन्, अस्पतालका कार्यकारी निर्देशक डा. नटराज । सात सय शैया रहेको अस्पतालमा न्यूरो, मृगौला र हाडजोर्नीसम्बन्धी विशिष्ट सेवा उपलब्ध छ । यी विभागको छुट्टाछुट्टै सघन उपचार कक्ष (आइसीयू) अस्पतालमा रहेको छ ।
भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल त्यस्तै अन्तर्राष्ट्रियस्तरको पूर्वाधार भएको अर्को अस्पताल हो । यो अस्पतालमा नेपालका ७५ जिल्लाका मात्रै होइन, भारत र भुटानका समेत उपचारका लागि बिरामीहरु आउँछन् । अस्पतालको बहिरंग सेवाबाट वर्षमा ९० हजारभन्दा धेरै बिरामीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ ।
जस्ताको छाप्रोबाट सुविधासम्पन्न भवनसम्म ः
वि.सं. २०२० सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गर्दा भरतपुर अस्पतालमा २५ शैया थिए । मलेरियाका बिरामीलाई उपचार गर्ने लक्ष्य राखेर स्थापना भएको सो अस्पताल जस्ताले छाएको छाप्रोमा थियो । अहिले सो अस्पताल आधुनिक भवनमा छ । सरकारले तीन सय शैयाको दरबन्दी दिएको छ । अस्पताल विकास समिति आफैँले थप सय शैया सञ्चालन गरेको छ ।
अहिले यो अस्पतालमा वर्षको एक लाख २५ हजार जना बिरामी उपचारका लागि आउने गरेको भरतपुर अस्पतालको तथ्याङ्क छ । यो संख्या काठमाडौंँको वीर अस्पतालपछिको दोस्रो भएको चिकित्सकहरुको दाबी छ । त्यस्तै, वर्षको १० हजारभन्दा धेरैले सुत्केरी सेवा लिने गरेका छन् । यो संख्या काठमाडौँको प्रसूतिगृहपछिको दोस्रो भएको चिकित्सकहरु दाबी गर्छन् ।
‘चितवनका अस्पतालमा रहेका बेड संख्या, चिकित्सकहरुको संख्या र उपचारका लागि आउने बिरामीको संख्या सबै काठमाडौँपछि यही नै दोस्रो हो’, चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत केहरसिंह गोदारले भने । नेपाल चिकित्सक संघ चितवन शाखाका अनुसार जिल्लामा चार सयको हाराहारीमा चिकित्सकहरु रहेका छन् ।
लामो समयसम्म एउटा मात्रै सरकारी अस्पताल रहेको भरतपुरमा ५५ सालयता मेडिकल कलेज खुल्न थाले । निजी अस्पतालहरु पनि थपिए । अस्पताल भरतपुरमा मात्रै धेरै छन् । ‘एकै ठाउँमा अस्पताल हुँदा बेफाइदाभन्दा फाइदा धेरै छ । एउटा अस्पतालमा सम्भव नभए बिरामीलाई तत्काल अर्को अस्पतालमा पठाउन सकिन्छ’, चिकित्सक संघ चितवनका अध्यक्ष डा. कृष्ण पौडेलले भने ।
समस्या पनि धेरै नै छन् ः
अस्पतालको संख्या बढेसँगै समस्याहरु पनि त्यही खालका रहेका छन् । चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भयो भन्दै बिरामीका आफन्त र अस्पताल व्यवस्थापनबीच हुने तनाव कम छैन । क्यान्सर अस्पतालजस्तो विशिष्ट अस्पतालमा घाँटीको अप्रेसन गर्नुपर्ने बिरामीको पाठेघरको अप्रेसन गरेको जस्तो लाजैमर्दो हेलचेक्र्याइँ पनि भरतपुरमै भएको छ ।
स्वास्थ्य सेवा विभागको चिकित्सा महाशाखाबाट हालै चितवनका अस्पतालको अनुगमन गर्दा पाँचवटा अस्पताल दर्ताबिना नै सञ्चालन भएको भेटियो । भरतपुरमा रहेका तीनवटा मेडिकल कलेजमध्येको एउटा ओएसिस मेडिकल कलेजले मापदण्डै मिचेर अस्पताल सञ्चालन गरेको देखियो । अनुगमनमा अस्पताल नवीकरण नभएको समेत पाइयो ।
सो अनुमगनपछि सचिवस्तरीय बैठकले चितवन जिल्ला प्रशासन कार्यालयलाई अस्पताल बन्द गर्न पठाएको निर्देशन लागू गराउन पनि धेरै सकस भएको थियो । अस्पतालले अशक्त गरिबहरुलाई निःशुल्क दिन भनेर १० प्रतिशत शैया व्यवस्था गरेको हुनुपर्छ । त्यो बारेमा स्पष्ट अभिलेखसमेत नभएको अनुगमन समितिको प्रतिवेदनमा उल्लेख छ ।
‘चिकित्सक, नर्सले पेसागत मर्यादा कायम राख्नुपर्छ । उनीहरुको अनुगमन मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलबाट भइरहनु पर्छ । त्यस्तै, अस्पताल व्यवस्थापनका बारेमा पनि स्वास्थ्य मन्त्रालय र विभागबाट अनुगमन नियमित हुनुपर्छ’, चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा. कृष्ण पौडेल भन्छन् । जनस्वास्थ्य प्रमुख गोदार पनि अनुगमनलाई बढाउन आवश्यक रहेको धारणा राख्छन् ।
जनविश्वास कायम गर्न सकिएन ः
पूर्वाधार र सेवासुविधा स्तरीय हुँदै गए पनि त्योअनुरुपको स्तरीय सेवा पाइन्छ भन्ने विश्वास जनमानसमा गराउन नसकेको स्वास्थ्यकर्मीको अनुभव छ । क्यान्सरका लागि काठमाडौँमा पनि नभएको उपचार सुविधा भरतपुरमा छ । काठमाडौँकै जस्ता अनुभवी न्यूरो सर्जन भरतपुरमा छन् ।
नेपालको मध्यभागमा हुनुको फाइदा भरतपुरलाई छ । पश्चिममा कर्णालीवारिदेखि पूर्वमा कोसीवारिसम्मका बिरामी उपचारका लागि भरतपुर आउने गरेको तथ्याङ्क छ । ‘तर, राम्रो उपचार काडमाडौँमै हुन्छ । काठमाडौँ जान नसकेको अवस्थामा मात्रै भरतपुर छिरौँ भन्ने धारणा धेरैको छ’, चिकित्सक संघका अध्यक्ष पौडेल भन्छन् ।
भरतपुरमा मुटुको शल्यक्रिया र मृगौला प्रत्यारोपणबाहेकका नेपालमा सम्भव अन्य उपचार उपलब्ध भएको अध्यक्ष पौडेलले बताए । यी दुईका उपचारका लागि बाहेक अन्यका लागि काठमाडौँ गइहाल्न पर्दैन । तर, काठमाडौँबाहिर के राम्रो उपचार होला र ! भन्ने धारणाले मान्छेहरु काठमाडौँ नै ताक्ने गरेको चिकित्सकहरुको अनुभव छ ।
‘यहाँ राम्रो उपचार सम्भव छ भन्ने विश्वास आर्जन गर्न सकिएको भने छैन’, चिकित्सक संघका अध्यक्ष पौडेलको भनाइ छ । चिकित्सकहरुले पनि सेवाभाव राख्ने, अस्पतालको व्यवस्थापन चुस्तदुरूस्त हुने र अनुगमन, कारबाही र प्रोत्साहन हुने गरेमा जनविश्वास पनि बढ्ने पौडेलले बताए ।
Discussion about this post