-केशव भट्टराई
नेपालमा सम्मानको खेती फस्टाइरहेको छ । यहाँ सम्मानित स्रष्टा र सम्मान गर्ने संस्थाहरुको विवरण उल्लेख गरेर साध्य छैन । यो यतिसम्म फेसन बनिसकेको छ कि सम्मान अब हरेक कार्यक्रममा आवश्यक जस्तै बनिसकेको छ । सम्मान गर्ने र सम्मानित हुनेहरु समेत यो सम्मान के प्रयोजनका लागि लिने÷दिने गरिएको हो, अलमलमा पर्ने गरेका छन् । प्रायः फेसबुक पेजदेखि पत्रिकाका पानासम्म महिनौँ यस्ता विज्ञापन पढ्न र हेर्न पाइन्छ । यसो बुझ्दै जाँदा सम्मान एउटा खेतीकै रुपमा विकसित भइरहेको प्रतीत हुन्छ । यसका लागि कुनै पनि मापदण्ड पूरा गर्नु आवश्यक छैन । कुनै त्याग तथा योगदान गर्नु जरूरी छैन, मात्र सम्मान दिने र लिनेबीच मित्रवत सम्बन्ध भए पुग्छ । कि त दलनजिक हुनुपर्छ, कि त फरियानजिक हुनुपर्छ । बस्, नजिक भए पुग्छ । कुनै पनि संस्थाले स्वतन्त्र रुपमा व्यक्तिको योगदान हेरेर उसलाई अझ बढी योगदान गर्न उत्प्रेरणा प्रदान गर्नु सम्मानको सही अर्थ हुन्छ । तर, संघसंस्था नजिकका नाताकुटुम्ब, दलविशेष या अन्धभक्तहरुलाई सम्मानको लोभ देखाएर आफ्ना कर्तुतहरु छोप्ने प्रयोजनका लागि सम्मानको खेती बढेको मेरो विश्लेषण छ ।
म सम्मानको विरोधी पनि होइन । र, आफूले सम्मान नपाएकोमा रोष प्रकट गर्न चाहेको पनि होइन । सम्मान त्यस्ता व्यक्ति तथा समुदायलाई प्रदान गरिनु आवश्यक छ, जसले निस्वार्थ सेवा गरेका छन् । सामाजिक सेवामा समर्पित छन् या सम्बन्धित विषयमा सम्मान गर्नुपर्ने हैसियतका छन् । यहाँ त सम्मान प्रायोजित हुन्छ । राजनीतिक आग्रह÷पूर्वाग्रह, चाकडीबाज, भजन गाउने, स्तुति गर्ने वा आफू र आफ्नो संस्थालाई आर्थिक लाभ गर्ने वा गराइदिने व्यक्तिहरु सम्मानका हकदार मानिन्छन् । सम्मान लिनेलाई पनि पहिल्यै ज्ञान हुन्छ कि मैले यो सम्मान पाउँदै छु । मलाई सम्मान गर्नुप¥यो सम्म भन्न पछि पर्दैनन्, सम्मान ग्रहण गर्नेहरु । अहिले सम्मानको मह¤व नै खस्किएको छ । निष्पक्षभन्दा राजनीतिक, शैक्षिकभन्दा आर्थिक र सामाजिकभन्दा पारिवारिक निकट भएका अधिकांश व्यक्तिहरु सम्मानित हुने गर्दछन्, होइन भने सम्मानित हुनेहरुले छातीमा हात राखेर भनून् । सबैलाई भन्न खोजेको होइन । अधिकांशलाई भन्न खोजेको हो । सम्मान नितान्त प्रचारात्मक खेती हो । यो निरन्तर फस्टाइरहेको छ ।
केही वर्षअघि चितवनमा एक जना समालोचकलाई कुनै एक संस्थाले सम्मान तथा अभिनन्दन गरेको थियो । त्यस कार्यक्रममा म पनि सरिक थिएँ । तर, ती समालोचकले आफूले सम्मान लिन अस्वीकार गर्दै आफू सो सम्मानको हकदार नभएकाले अरु नै स्रष्टालाई सम्मान गर्न सुझाएका थिए । म ती साहित्यकार देखेर तीनछक खाएको थिएँ । उनकै सम्मानमा कार्यक्रम राखिएको थियो । तर, उनले सम्मान ग्रहण गर्न अस्वीकार गरेका थिए ।
यस्तै, चितवनमा एक अग्रज पत्रकारले पनि कुनै एक संस्थाको सम्मान लिन अस्वीकार गरेका थिए । यस्ता अपवादहरु बिरलै भेटिन्छन् । तर, यहाँ त प्रायोजित होस् वा राजनीतिक उद्देश्यले प्रेरित भएको नै किन नहोस्, सम्मान लिन कसैले छाड्दैनन् । सम्मानित हुनेहरुलाई समेत गर्वानुभूति नहुने सम्मानको अर्थ के ? के सम्मान फेसबुकको भित्तो भर्न र घरको भित्तो रंगाउनकै लागि मात्र हो ? कि मैले यति सम्मान पाएँ भनेर प्रदर्शनीमा राख्नका लागि हो ? सम्मान त त्यसका लागि हुनुपर्छ, जसले आफूले गरेको सत्कर्म, सामाजिक सेवा वा योगदानका लागि गरिएको होस् ।
सम्मानले साँच्चै मान्छेलाई बाँधिदिन्छ । कुनै संस्थाको कालो कर्तुत ओझेल पर्छ वा व्यक्तिको भ्रष्ट आचरण छोपिदिन्छ । सबै सम्मानित हुनेहरुले सम्मानको खेती गर्दैनन् । सम्मानको खेती भनेको चाहिँ अप्रत्यक्ष यो सम्मान मलाई देऊ भनेर गरेको याचना नै हो । तपाईंले देख्नुभएकै होला, जुन संस्थामा जसको व्यक्तिगत प्रभाव र पहुँच छ, त्यो संस्थाले त्यही व्यक्तिलाई सम्मान गर्छ । यसले सम्मान नपाएको झोँकमा सम्मानित हुनेहरुमाथि रिस पोख्यो भनेर भन्न पनि सक्नुहुन्छ । मैले पनि थुप्रै सम्मान पाएको छु । सम्मान पाउन लायक थिएँ वा थिइनँ, म के जानूँ र ? तर, मैले सम्मानको खेती भने गर्न जानेको छैन । कसैले केही प्रयोजनका लागि सम्मान गरेका भए त्यो उनै जानून् । मेरो सवालमा मैले कोही आफन्तलाई सम्मानका लागि पुकारा गर्नु परेको छैन । कुनै राजनीतिक दलको निकट रहेर गुलामी गर्नु परेको छैन । न कुनै संस्थाका हाकिमहरुसँग नै सम्बन्ध बढाएर सम्मानको खेती गरेको छु । मलाई सम्मानभन्दा शुभेच्छुकका आलोचनात्मक सुझाव र मार्गनिर्देशन नै काफी छ ।
सम्मान त्यो व्यक्तिलाई गर्नुपर्छ, जो आफूभन्दा संस्था र परिवारभन्दा समाजप्रति समर्पित छ । जीवनभर समाजसेवामा संलग्न भएका, गरिब, विपन्न र असहायप्रति सधैँ हृदयदेखि नै सहयोग गर्ने व्यक्तिलाई पवित्र उद्देश्यले सम्मान गर्नु भनेको वास्तविक सम्मान हो । हरेक क्षेत्रमा त्याग, समर्पण र लगाव भएका व्यक्ति छन्, जो मानवीय सेवामा उदाहरणीय बनेका छन् । जो आफू मरेर पनि अरुलाई बचाउने महान् यात्रामा छन्, त्यस्ता महान् व्यक्तिहरुलाई सम्मान दिँदा सम्मानको पनि इज्जत रहन्छ । तर, हृदयदेखि नै मानवीय सेवा गर्ने व्यक्तित्वहरुमा सम्मानको लालसा कहिल्यै हुँदैन । उनीहरु सम्मानका लागि काम पनि गर्दैनन् । आफ्नो कामको आफैँले प्रशंसा पनि गर्दैनन् । प्रचारमा पनि आउँदैनन् । सम्मान ग्रहण गर्न पनि रूचाउँदैनन् । त्यस्ता महान् व्यक्तिहरु सधैँ सम्मानित छन्, सधैँ प्रशंसित छन् । यहाँ त योगदानभन्दा सम्मान धेरै र कामभन्दा प्रशंसा धेरै खोज्ने जमात बढी छ ।
सम्मानमा त्यस्तो के छ ? मानिसहरु सम्मान पाउन हतार गर्छन्, हतास छन् अनि आतुर छन् । किन मानिसहरु सम्मानका लागि मरिहत्ते गर्छन् ? मान, सम्मान र प्रतिष्ठा मानवीय गुण नै हो । तर, त्याग, समर्पण र सेवा नभइकन यो उपलब्धि हासिल गर्न सम्भव पनि छैन । अनि सम्मान पाउँदा र दिँदा त्यसको मह¤व बोध हुन सकेन भने पनि त्यसको अर्थ छैन । श्रीमतीको संस्थाले श्रीमान्लाई, कुनै दलविशेषले आफ्ना कार्यकर्तालाई, सरकारी संस्थामा आफ्ना भाइबन्धुहरुलाई प्रायोजित रुपमा सम्मान गर्नु कुनै आश्चर्यको विषय होइन । र, यस्ता सम्मानको अर्थ पनि छैन । मैले यस्तै सम्मानको कुरा गरेको हुँ । नातेदार र परिवारवादभन्दा वास्तविक सम्मान गर्न लायकलाई सम्मान गर्नु दुवैका लागि हितकर हुनसक्छ । यो मेरो निजी कुरा हो । सम्मानित हुनका लागि हनुमान–भक्ति वा टाउको निहु¥याएर बसेकालाई त म के भनूँ ? सकभर समाजकै लागि केही न केही त योगदान दिनैपर्छ । सेवा गरौँ, तर सम्मानको लालसा नराखौँ । यस्तो सम्मान हासिल गरौँ, जुन जीवनकालका लागि स्मरणीय बन्न सकोस् ।
अनि सम्मान यस्तोचाहिँ नहोस्– भ्रष्टाचारीलाई समाजसेवीको नाममा, दुराचारीलाई नैतिकताको नाममा, तस्करलाई संरक्षणकर्मीको नाममा र चोरलाई सज्जनका नाममा सम्मानित गरियोस् ! गरिएकै छ भने पनि अब सोचियोस् । सम्मानको खेती गर्नेलाई त के छ र ? खेती गरेपछि केही न केही त फलिहाल्छ । कोही सम्मानित हुनुछ भने आजैदेखि सम्मान गर्ने संस्थाका मूलीलाई प्रदक्षिणा गरिहाल्नुहोस् । नराम्रै कुरा किन नहोस्, प्रशंसा गरिदिनुहोस् । सीप छ भने लेखिदिनुहोस् । आफूले सक्दो चाकडी कसरी गर्न सकिन्छ भनेर विचार पु¥याउनुहोस् । मनसँग मन मिलाउनुहोस् । मिलाउन चाहिने सूत्र खोजीखोजी मिलाउनुहोस्, अनि तपाईं पक्कै पनि सम्मानको हकदार बन्नुहुनेछ । संस्थाहरुमा तपार्ईंका बाह्र दिने वा नाताकुटुम्ब भए पनि हुन्छ । नभए पनि गोरू बेचेकै साइनो लगाउन त सकिन्छ नि ! त्यो पनि गर्न नसके मीत लगाइदिए पनि भैगो । सबैभन्दा उत्तम त मीतको साइनो हो । मीत लगाउन केही गर्नुपर्दैन, मात्र टाउको ठोकिदिए हुन्छ । मीत एउटैमात्र हुनुपर्छ भन्ने छैन । त्यसैले, हरेक गाउँमा एउटा मितेरी साइनो लगाउने हो भने सम्मानको वर्षा गर्न सजिलो हुनेछ । साँच्चै, कति सम्मान पाए ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा नाम लेखाउन सकिन्छ होला ? सम्मानको खेती गर्ने कि, पाएका सम्मान दर्ता गराउने ? तपाईंको जो विचार…!
Discussion about this post