काठमाडौं । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले छोटो समयमा संविधान लेखेर राजनीतिक स्थायित्व कायम गर्नु नै सहिदहरूप्रतिको वास्तविक सम्मान हुने बताउनुभएको छ ।
सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ र नुडुप श्रेष्ठको एघाराँै स्मृतिका अवसरमा आइतबार ललितपुरमा आयोजित श्रद्धाञ्जली समारोहमा उहाँले भन्नुभयो, ‘आज हामी सबैले हाम्रो देशमा परिवर्तनका क्रममा सहिद हुनुभएका ती महान् व्यक्तित्वको त्याग र परिश्रमको कदर गर्दै देशको बृहत् हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ ।’
नेपालमा शान्तिप्रक्रिया प्राविधिक रूपमा सम्पन्न भए तापनि उद्देश्यमूलक रूपमा हेर्दा संविधान जारी भई विद्यमान सङ्क्रमणकालीन अवस्थाको अन्त्य र स्थायी राजनीतिक प्रणालीको थालनी भएमात्र वास्तविक रूपमा शान्तिप्रक्रिया तार्किक निष्कर्षमा पुगेको मान्न सकिनेतर्फ अध्यक्ष रेग्मीले ध्यानाकर्षण गराउनुभयो ।
नेपालमा भएको सशस्त्र द्वन्द्वमा सहादत प्राप्त गर्ने व्यक्तिहरूले देश र जनताका लागि गरेको बलिदान र प्राणको उत्सर्गबाट सबै नेपालीलाई सुखी, शान्त र समृद्ध बनाउन अभिप्रेरित गरेको अध्यक्ष रेग्मीको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘देशमा स्थायी शान्ति, राजनीतिक व्यवस्थाको स्थायित्व र आर्थिक सामाजिक विकासको प्रक्रियाले निश्चित दिशा अवलम्बन गरेको अवस्थामा मात्र जीवनको आहुति दिने वीर सहिदको बलिदानको वास्तविक कदर र सम्मान भएको मान्न सकिन्छ । विगतका सबै अप्रिय घटनामा संलग्न समूहका व्यक्ति र पीडितबीच मेलमिलाप गराउने र समाजमा पुनःस्थापना गराउने कार्यलाई विशेष महत्व दिँदै राज्यका कामकारबाही त्यसैतर्फ निर्देश गरिएको उहाँले बताउनुभयो ।
अहिले सबैका सामु संविधान निर्माण गर्नु प्रमुख साझा विषय हो भन्दै अध्यक्ष रेग्मीले यही विषयलाई नै प्रमुख उद्देश्य बनाउँदै सबैले एकताबद्ध भई आ–आफ्नो भूमिकामा केन्द्रित हुन आवश्यक छ भन्नुभयो । देशमा स्थापना भएको विधायिकी निकायमा जननिर्वाचित सरकार गठनका साथै संविधानसभाले संविधान निर्माण गर्ने कार्यलाई एकमात्र प्राथमिकता बनाई इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
गृहमन्त्रालयका सचिव जनार्दन नेपालले स्व. कृष्णमोहनको राज्यप्रतिको कर्तव्य बोध र त्यागले सबै नेपालीलाई जिम्मेवारी र कर्तव्यप्रति अविचलित भई काम गर्न प्रेरणा प्रदान गरेको बताउनुभयो ।
सो अवसरमा कृष्ण मोहन–नुडुप स्मृति प्रतिष्ठानका अध्यक्ष गोविन्ददास श्रेष्ठ र सचिव निर्मला प्रधानले विगतको द्वन्द्वमा वीरगति प्राप्त गर्ने व्यक्तिलाई सरकारबाट आवश्यक सम्मान प्रदान हुन नसकेको तथा सम्मान दिने विषयमा भेदभाव तथा कञ्जुस्याइँ गरिएको भनी दुखेसो पोख्नुभयो ।
उहाँहरूले स्व. कृष्णमोहनलाई सहिद घोषणा गर्न र वीरगति प्राप्त गर्नुभएको दिन माघ १२ लाई राष्ट्रिय शोक दिवसको रूपमा मनाउने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । शक्ति नेपालकी अध्यक्ष चरीमाया तामाङले शिक्षा र विकासका हिसाबले पछि परेका समुदायलाई राज्यको मूलधारमा समेट्ने उद्देश्यका साथ लेखिन लागेको नयाँ संविधान राजनीतिक दलले लोकतान्त्रिक मूल्यमान्यता र लक्ष्यअनुसार नै जारी गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तत्कालीन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उहाँकी धर्मपत्नी नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्य रेग्मीलाई विसं २०५९ माघ १२ गते बिहान मर्निङ्वाकमा रहेका बखत ललितपुरको बागडोलमा विद्रोही पक्षले गोली हानेर हत्या गरेका थिए ।
समारोहमा द्वन्द्वको समयमा विद्रोही पक्षबाट अत्यन्त पासविक तवरमा मारिएका लम्जुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई मरणोपरान्त प्रदान गरिएको कृष्णमोहन– नुडुप स्मृति शान्ति पुरस्कार उहाँकी धर्मपत्नी इन्दिरा अधिकारी र महिला बेचविखन विरुद्धको अभियानमा क्रियाशील गैरसरकारी संस्था शक्ति नेपालकी संस्थापक चरीमाया तामाङलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । पुरस्कारको राशि रु १०÷१० हजार नगद र सम्मानपत्र रहेको छ ।
समारोहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्गठनमा रहेर उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना प्रहरीलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो । सो प्रतिष्ठानले दुई जना छात्रलाई समेत रु सात÷सात हजार राशिको छात्रवृत्ति प्रदान गरेको थियो ।
सो अवसरमा अध्यक्ष रेग्मीले स्व. कृष्णमोहनको सालिकमा पुष्पहार चढाएर सम्मान व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त, पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाललगायत पत्रकार, बुद्धिजीवी, नागरिक समाजका अगुवा, पूर्व प्रहरी प्रमुखलगायत सुरक्षा निकायका उच्चपदस्थ कर्मचारीले स्व. कृष्णमोहन र नुडुपको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । रासस
Discussion about this post