भरतपुर । खैरहनी र माडीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी–४ मा भएको सवारी दुर्घटनामा भरतपुर–१२ बस्ने ३८ वर्षीय लक्ष्मण पन्थीको मृत्यु भएको हो ।
शनिबार राति पूर्वबाट पश्चिम जाँदै गरेको बा १० च ४५०१ नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ३ ख ६०७२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको उपचारका क्रममा आइतबार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । कारलाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबारै राति चितवनको माडीमा भएको अर्को सवारी दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् । बसन्तपुरबाट जाँदै गरेको ना१च ९१५१ नम्बरको जिपले विपरीत दिशातर्फ आउँदै गरेको ग ६ प ८१२९ मोटरसाइकललाई अयोध्यापुरी–५ मा ठक्कर दिँदा मोटरसाइकल चालक बघौडा–८ का १९ वर्षीय रोशन गहतराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर नगरपालिका–५ का ३५ वर्षीय गङ्गाधर आचार्य घाइते भएका छन् । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने जिप र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।
Discussion about this post