भरतपुर । कुष्ठरोगको उपचार एकै मात्रामा ९९ प्रतिशत प्रभावकारी हुने चिकित्सकहरूले दाबी गरेका छन् ।
एकसट्ठीऔँ कुष्ठरोग दिवसको सन्दर्भमा चितवनमा भएको एक कार्यक्रममा भरतपुर अस्पतालका चिकित्सक डा. भोजराज अधिकारीले परम्परावादी सोचमा जे जस्तो भनिए पनि यो रोगबाट आत्तिनु नपर्ने बताउनुभयो ।
उहाँले बेलैमा रोगको पहिचान गर्न बिरामी आफैँले पनि सक्ने भएकाले रोग लागेको थाहा पाउने वित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने बताउनुभयो । यस दिवसका सन्दर्भमा आज देशैभरि विभिन्न कार्यक्रम भइरहेको छ ।
चितवनका गाउँगाउँमा आज छालारोग उपचार शिविर भइरहेको जनस्वास्थ्य कार्यालय प्रमुख केहरसिंह गोदारले बताउनुभयो ।
स्वास्थ्य कार्यालयका कुष्ठ तथा क्षयरोग अधिकृत जयराम दवाडीले अहिले चितवनमा ७० जना नयाँ रोगीमध्ये ५० जनाको उपचार जारी रहेको र अन्य २० जनाको उपचार भइसकेको बताउनुभयो । नेपालमा तीन हजार २५३ जना नयाँ कुष्ठरोगी फेला परेका र तीमध्ये हाल दुई हजार २२८ जनाको उपचार चलिरहेको बताइएको छ ।
तराईका १४ जिल्लामा प्रतिदश हजारमा एकभन्दा बढी र ५३ जिल्लामा प्रतिदश हजारमा एकभन्दा कम बिरामी रहेका छन् । नेपालका हिमाली आठ जिल्लामा भने कुष्ठरोगीको सङ्ख्या नभएको कार्यालय प्रमुख गोदारले जानकारी दिनुभयो ।
यसैबीच, चितवनमा पोलियो थोपा खुवाउने क्रम सकिएको छ । शनिबार खुवाउन छुटेकालाई आइतबार पोलियो थोपा खुवाइएको थियो । चितवनमा पाँच वर्षमुनिका ६७ हजार १८४ जना बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य थियो । यसअघि पुसको ६ र ७ गते पनि यहाँ पोलियो थोपा खुवाउने अभियान सञ्चालन गरिएको थियो ।
Discussion about this post