भरतपुर । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पीयनसिपअन्तर्गतको तेस्रो फुल कन्ट्रयाक्ट कराँते राष्ट्रिय प्रतियोगिता चितवनमा आइतबारबाट सुरू भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उद्घाटन गर्नुभयो । उहाँले खेलकुदलाई जित र हारको रूपमा नलिई ज्ञान र सीप आर्जन गर्ने माध्यमको रूपमा लिनुपर्ने बताउनुभयो । खेलकुदको विकास विना देश विकास असम्भव रहेको बताउँदै उहाँले सरकारले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको धारणा राख्नुभयो । मावन विज्ञान र जीवनशैलीलाई कराँते खेलले उत्कृष्ट बनाउने उहाँको भनाइ थियो ।
फुल कन्ट्रयाक्ट कराँते राष्ट्रिय महासंघका उपाध्यक्ष दमन बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्वआवास तथा निर्माण राज्यमन्त्री एवम् फुल कन्ट्रयाक्ट कराँतेका संस्थापक जगतप्रसाद गौचन, फुल कन्ट्रयाक्ट कराँते राष्ट्रिय महासंघका केन्द्रीय सदस्य राजु थापालगायतले बोल्नुभएको थियो ।
राष्ट्रिय खेलकुद परिषदको सहयोग र कराँते महासंघको आयोजनामा हुने प्रतियोगितामा कराँते खेलको लागि ५ विकास क्षेत्रबाट ५० जना र नेपाली सेनाको विभागीय टिमका ४ जना, नेपाल प्रहरीका १ जनासहित ५५ जना खेलाडीहरु प्रतिस्पर्धामा सहभागी भएका छन् । सो खेलअन्तर्गत महिलातर्फ ५० केजी मुनि र ५० केजी माथिसहित २ वटा, पुरूषतर्फ ५० केजी मुनि, ६० केजी मुनि र ६० केजीभन्दा माथिसहित कुल ५ खेल हुने कराँते महासंघका केन्दं्रीय महासचिव विष्णुकान्त अर्यालले जानकारी दिनुभयो । प्रतियोगिता आज सोमबार सम्म चल्नेछ ।
Discussion about this post