चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसीले दुई हप्तासम्म अनशन बसेर नैतिक विजय प्राप्त गरेका छन् । चिकित्सा क्षेत्रमा व्याप्त विकृति र विसंगति तथा हाबी हुँदै गएको माफियातन्त्रको विरूद्धमा उनले आफ्नो अमूल्य जीवन नै बाजी थापेका थिए । सरकार र त्रिविविले डा. केसीका जायज मागहरुप्रति संवेदनशील बनेर सबै माग पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेको छ । अवैधानिक रुपमा भएको डिनको नियुक्तिदेखि लिएर ठूलो आर्थिक चलखेलसहित हुन लागेको मेडिकल कलेजहरुको स्वीकृति तत्काल रोक्न डा. केसीले गम्भीर रुपमा आवाज उठाएका थिए । तर, आफ्नो भनाइ कार्यान्वयन नभएपछि डा. केसीले आमरण अनशन बसेर देशै हल्लाए ।
आखिर सत्यको जित भएरै छाड्छ भन्ने भनाइलाई यो घटनाले ढिलै गरेर भए पनि पुष्टि गरेको छ । सरकारी निकायहरु सिस्टमअनुसार चल्नुपर्छ र कानुनभन्दा माथि कोही पनि हुनुहुँदैन । राजनीतिले स्वास्थ्य क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेर हदैसम्म प्रदूषित पारेपछि डा. केसीजस्ता स्वनामधन्य व्यक्तिहरु जन्मने रहेछन् । यसपटक डा. केसीका जायज मागहरुप्रति समर्थन जनाउँदै आकस्मिकबाहेक देशैभरिका चिकित्सा सेवा ठप्प पारियो । त्यसपछि मात्र सरकार र त्रिविविले यो ज्वलन्त विषयप्रति आँखा खोलेर समस्याको समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
नेपालका सरकारी निकायहरु पटकपटक राजनीतिक हस्तक्षेपको सिकार भएका छन् । शिक्षा, स्वास्थ्यलगायतका मह¤वपूर्ण निकायहरु यसैकारण लक्ष्य हासिल गर्न सकिरहेका छैनन् । विषय विशेषज्ञ र प्राज्ञिक व्यक्तिहरु कदापि राजनीतिक हस्तक्षेप सहन तयार हुँदैनन् । राजनीतिलाई मूल्य र मान्यतामा आधारित बनाएर सञ्चालन गर्न सकिएन भने विद्रोही आवाजहरु यसैगरी सडकमा छताछुल्ल पोखिने गर्दछन् ।
नेपालका स्वास्थ्य संस्थाहरु अत्यन्त दयनीय अवस्थामा सञ्चालन भइरहेका छन् । प्राविधिक जनशक्ति र आवश्यक न्यूनतम औषधिहरु पनि नपाएर दुर्गम पहाडी भेगका मानिसहरुले दिनहुँ अकालमा ज्यान गुमाउनु परिरहेको तीतो यथार्थबाट हामी अवश्य पनि अपरिचित छैनौँ । सरकारको ध्यान त्यसतर्फ जान छोडेर आफ्ना मान्छेलाई मह¤वपूर्ण पदमा कसरी नियुक्ति गर्न सकिन्छ भन्ने व्यक्तिकेन्द्रित विषयहरुमा मात्र सीमित हुँदै गएको छ । स्वाभिमानी चिकित्सकहरुले यसपटक देशै हल्लाउने गरी हड्ताल गरेर सरकारको आँखा खोल्ने प्रयास गरेका छन् । भविष्यमा माफियातन्त्र हाबी हुन नसक्ने गरी सरकारले काम गर्नुपर्दछ भन्ने शुभ सन्देशसहित टुंगिएको डा. केसीको अनशन अब भविष्यमा दोहोरिन नपाओस् भन्नेतर्फ पनि हामी सबै सरोकारवालाहरु सचेत हुनु जरूरी देखिएको छ ।
Discussion about this post