खैरहनी । खैरहनी महोत्सवमा डुंगा र जीप शयरको व्यवस्था मिलाइएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा महोत्सव चलिरहेको छ ।
महोत्सवलाई थप आकर्षक बनाउन महोत्सवस्थलनजिकै रहेको लदरी खोलामा डुंगा शयरको व्यवस्था मिलाइएको महोत्सवका संयोजक चन्द्रप्रसाद सापकोटाले बताए । करिब २ किलोमिटर दूरीमा एक सय रूपैयाँ तिरेर डुंगा शयरको व्यवस्था मिलाइएको छ ।
त्यस्तै चितवनको पुरानो सदरमुकाम कंकालीकोटसम्म र पछिल्लो समय पर्यटकको चाप रहेको कुमरोज सामुदायिक वनमा जीप सफारीको व्यवस्था पनि मिलाइएको सापकोटाले बताए । महोत्सवको पाँचौ दिन बिहीबार सांस्कृतिक कार्यक्रममा चर्चित हास्यकलाकार मनोज गजुरेलले प्रस्तुति दिएका उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले बताए ।
महोत्सवको छैटौं दिन शुक्रबार प्रमोद खरेल, मिलन लामा, दुर्गा सापकोटा, सुरेश लामा, एसियाकै होची महिला मञ्जु घिमिरेको प्रस्तुति रहने सांस्कृतिक समिति संयोजक अर्जुन लम्सालले जानकारी दिए । कृषि, व्यापार, उद्योग, पर्यटन, सस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सव मंसिर २४ गतेसम्म चल्नेछ ।