भरतपुर । विश्व कुष्ठरोग दिवस भोलि आइतबार मनाइँदै छ । यसपटक ‘भेदभावको अन्त्य र प्रभावितको पुनसर््थापना कुष्ठरोग मुक्त समाज–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ यस वर्ष यो दिवस मनाउन लागिएको हो ।
चितवनमा कुष्टरोग निवारणउन्मुख अवस्थामा रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा कुष्टरोग प्रतिदशहजारमा जनसंख्यामा एकभन्दा कम यस रोगबाट संक्रमित रहेको उल्लेख छ ।[divider]
जिल्लामा पाँच वर्षको संक्रमित दर
आव संक्रमित दर
०६५/०६६ १.१३
०६६/०६७ १.१५
०६७/०६८ १.३९
०६८/०६९ १.५७
०६९/०७० ०.८६
[divider]
जिल्लामा आर्थिक वर्ष २०६९/२०७० मा दर्ता भएका संक्रमित दर प्रति १० हजारमा ०.८६ रहेको छ । जुन आर्थिक वर्ष २०६८÷०६९ मा १.५७ रहेको थियो ।
चितवनसहित ५३ वटा जिल्ला निवारणतर्फ रहेको उल्लेख छ । गत आर्थिक वर्षमा ०६९÷०७० मा कुष्टरोगका ५० जना बिरामीहरु उपचार गराइरहेका थिए । सोही आर्थिक वर्षमा जिल्लामा ७० जना नयाँ बिरामी फेला परेको र २० जना उपचारपछि पूर्ण निको भएको कार्यालयका प्रमुख केहरसिंह गोदारले जानकारी दिए ।
जसमध्ये अधिक जिवाणु भएका ३५ बिरामीहरु रहेका थिए । चितवनमा उक्त अवधिमा १ जना कुष्ट रोगका कारण अङ्गभङ्ग भएको उनले जानकारी दिए । १ जना बच्चा र २९ जना महिला रहेको तथ्यांकमा उल्लेख छ ।
सोही अवधिमा नेपालमा दुई हजार २२८ कुष्टरोगका बिरामीहरु रहेका थिए । उक्त वर्षमा तीन हजार २५३ जना नयाँ बिरामी पत्ता लागेको तथ्यांकमा उल्लेख छ । जसमध्ये एक हजार ५५९ जना अधिक जीवाणु भएका बिरामी रहेको र ९४ जना कुष्टरोगकै कारण अङ्गभङ्ग भएका थिए ।
नेपालभर कुल कुष्टरोगीमध्ये १३६ बालबालिका र एक हजार ४ जना महिला रहेको तथ्यांकमा उल्लेख छ ।
चितवनका दुई नगरपालिका र २० वटा गाविसमा कुष्ठरोगका बिरामीहरु उपचाररत छन् । जसमध्ये भरतपुर नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी, मंगलपुर, जुटपानी र गीतानगर गाविसका बिरामीहरु अधिक रहेका छन् ।
सन् १८७३ मा नर्वेका वैज्ञानिक डा. जीएन ह्यान्सनले पत्ता लगाएको यो रोग मानिसमा मात्र लाग्छ ।
मानिसमा कुष्टरोगको जीवाणु प्रवेश गरेको दुईदेखि पाँच वर्षमा मात्र लक्षण देखिन्छ । माइक्रोव्याक्टेरियम लेप्रे नामको जीवाणुका कारण लाग्ने यो रोग मानिसको छालामा लाटो फुस्रो दाग देखापर्दछ । यो रोग लागेको ठाउँका रौँहरु झर्ने पसिना नआउने र नचिलाउने हुन्छ ।
यो रोग नियमित औषधी सेवनबाट निको हुन्छ । अधिक जीवाणु भएका बिरामीले नियमित एक वर्ष र कम जीवाणु भएको बिरामीले ६ महिनासम्म नियमित औषधी खाए यो रोग निको हुन्छ । सरकारी स्वास्थ्य संस्थामा यो रोगको निःशुल्क औषधी पाइने र निको भएर जाने बिरामीलाई जिल्ला जनस्वास्थ्य कार्यालयले एक हजार रुपैयाँ गाडी भाडावापत सहयोग गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयराम दवाडीले जानकारी दिए ।
नेपालमा कुष्ठरोगबाट तराईका १४ जिल्ला प्रभावित रहेका छन् भने ५३ जिल्ला निवारणउन्मुख रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०६९÷२०७० मा आठ जिल्लामा कुनै पनि कुष्ठरोगका बिरामी दर्ता नभएको तथ्यांकमा उल्लेख छ ।
Discussion about this post