रत्ननगर । जिल्ला शिक्षा कार्यालयले सुरु गरेको साक्षरता अभियानअन्र्तगत सञ्चालित साक्षरता कक्षाको बारेमा शुक्रबार रत्ननगर–१२ अमेलियामा समीक्षा गरिएको छ । स्वास्थ्य तथा वातावरण विकास समाज नेपालले आयोजना गरेको सो कार्यक्रममा रत्ननगर वडा नं. १२ मा सञ्चालित साक्षरता कक्षाको प्रभावकारिता र आगामी दिनका गर्नुपर्ने कामहरुको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा आयोजक संस्थाका सचिव प्रदिप अधिकारीले अहिलेसम्म गरिएका काम र भएका प्रगतिका बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साक्षरता अभियानअन्र्तगत समाजले साक्षरता कक्षा सञ्चालन गरी तीन महिनाभित्र वडा नं. १२ का ३ सय ५८ जना निरक्षरलाई साक्षर बनाउने योजना रहेको समाजका सचिव अधिकारीले जानकारी दिनुभयो ।
वडा नं. १२ मात्र अहिलेसम्म सहजकर्ता, सहभागीका लागि स्टेशनरी, किताब गरी १ लाख ३३ हजार खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा झुवानी स्रोत केन्द्रका स्रोतव्यक्ति अनिता अधिकारी, टोल विकास संस्था वडा समन्वय समिति १२ का संयोजक पूर्ण पुरी, स्काइराइडर उमाविका प्राचार्य मदन पुरीलगायतले मन्तव्य राख्नुभएको थियो ।
भेलाले टोल विकास संस्था वडा समन्वय समिति १२ का संयोजक पूर्ण पुरीको अध्यक्षतामा १७ सदस्यीय निरक्षर उन्मुलन समिति गठन गरेको छ । वडा १२ का वडासचिव रमेश ताम्राकारको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजकी कोषाध्यक्ष सम्झना भट्टले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो ।
Discussion about this post