काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका हाडजार्नी विभागका प्रमुख प्रा. डा. गोविन्द केसीले अस्पताललाई उत्कृष्ट चिकित्सकीय शैक्षिक संस्थाका रुपमा थप विकास गर्ने अभियानमा सहयोग गर्न सर्वाेच्च अदालतलाई आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “अथक प्रयासपछि ठूलो उपलब्धि प्राप्त हुन लागेको छ, यसलाई कुण्ठित गर्न नदिन म सर्वाेच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, रजिष्ट्रार तथा सबै कर्मचारीहरूलाई आग्रह गर्दछु ।”
समग्र स्वास्थ्य सेवाको सुधारका लागि ३३६ घण्टाको अनशनलाई आज अन्त्य गर्दै उहाँले भन्नुभयो, “मेरो यो अनशन कुनै व्यक्ति विशेषका लागि थिएन, उत्कृष्ट पद्धति विकासका लागि थियो, त्यसैले म यसलाई क्षणिक हुन दिन्न । यो अभियानमा न्यायालयको पनि सहयोग हुने नै छ ।”
समग्र स्वास्थ्य सेवाका सुधार, त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थानका डीन नियुक्ति रद्द, नयाँ चिकित्सा कलेजलाई सम्बन्धनमा रोक, अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डीनको नियुक्ति लगायतका माग राखी डा. केसी आफूले अध्यापन गर्दै आएको शिक्षण अस्पतालमा पुस २७ गते बिहानदेखि अनशनमा बस्नुभएको थियो ।
आफ्ना माग पूरा गर्ने सरकारी लिखित प्रतिबद्धता आएपछि डा. केसीलाई उहाँको इच्छाअनुरुप हाडजोर्नी विभागमा भर्ना भएकी सात वर्षीया बिरामी एलिसा थापा, चेक गन्धर्व, उपचारमा संलग्न डा. प्रज्ञा भण्डारीले संयुक्त रुपमा फलफूलको जुस खुवाएर उहाँको अनशन अन्त्य गराउनुभएको थियो ।
अनशनको अन्त्यसंगै डा. केसीलाई अस्पतालकै सघन उपचार कक्षमा भर्ना गरिएको छ । “लामो समय शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व उहाँको शरीरमा नभएका कारण एक हप्ता उहाँलाई उपचार गर्नुपर्छ” डा. केसीको उपचारमा संलग्न प्रा. डा. सुवास आचार्यले जानकारी भन्नुभयो ।
अनशन अन्त्य गर्ने विषयमा डा. केसी, सरकारी वार्ता टोली र नेपाल मेडिकल एसोसिएसनबीच सात सूत्रीय सहमति भएको थियो । सहमतिमा त्रिवि चिकित्सा अध्ययन संस्थानको डीनमा वरिष्ठताका आधारमा नियुक्ति गर्ने, संस्थानलाई स्वायत्त विश्वविद्यालय बनाउन अध्ययन समिति गठन गर्ने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, स्वास्थ्य संस्थाहरूमा नयाँ दरबन्दी थप गर्ने, पाँच प्रतिशत करमा सुधार गर्ने, स्वास्थ्य क्षेत्रमा न्यूनतम १० प्रतिशत बजेट विनियोजन गर्ने बुँदाहरू छन् ।
सरकारले शिक्षण अस्पतालमा देखिएका समस्या छलफल र वार्ताबाट समाधान गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा गृह, शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरू रहेको वार्ता टोली बिहीबार गठन गरेको थियो । सोही टोलीले शुक्रबार सहमतिको खाका तयार गरी डा. केसीलाई अनशन तोडाउन शिक्षण अस्पताल गएको थियो ।
वार्ता टोलीका सदस्य गृह सचिव जनार्दन नेपालले त्रिवि चिकित्सा अध्ययन संस्थानलाई स्वायत्त विश्वविद्यालय बनाउने विषयमा नौ सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिनुभयो । कार्यदलमा प्रा.डा. रमेशकान्त अधिकारी, प्रा.डा. अर्जुन कार्की, प्रा.डा. जगदीश अग्रवाल, डा. बाबुराम मरासिनी, प्रा.डा. अञ्जनीकुमार झा, शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्मालगायतका हुनुहुन्छ ।
वार्ता टोलीका संयोजक बाँस्कोटाले त्रिवि चिकित्सा अध्ययन संस्थानको डीन वरिष्ठताका आधारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो । शिक्षण अस्पतालका आवासीय चिकित्सक सङ्घका अध्यक्ष डा. किशोर खनालले आन्दोलनका सबै कार्यक्रम स्थगित भएको जानकारी दिँदै अब सबै सेवा सुचारु हुनेछ भन्नुभयो ।
उहाँले शिक्षण अस्पताललाई राजनीतिमुक्त क्षेत्र बनाउन आगामी दिन दबाबका कार्यक्रम जारी राखिने बताउनुभयो । यसैबीच नेपाल चिकित्सक सङ्घले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ । सङ्घका अध्यक्ष डा. झाले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको सुधारका लागि नयाँ किरण पलाएको छ, यसलाई पूरा हुन दिनुपर्छ ।”
सङ्घले आन्दोलनका बीचमा बिरामीलाई पुगेको असुविधाप्रति दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा सङ्घले सबै अस्पतालका बहिरङ्ग सेवा बन्द गराएको थियो । रासस
Discussion about this post