भरतपुर । चितवनका युवा खेलाडीहरुलाई मौका दिने उद्देश्यले चितवन टाइगर्सले ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने भएको छ ।
यही मंसिर २२ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको टिम चितवन टाइगर्सले केही स्थानीय खेलाडीलाई मौका दिने उद्देश्यले यही मंसिर १२ गते नारायणगढस्थित क्याम्पाचौरमा ट्यालेन्ट हन्ट गर्न लागेको हो ।
चितवन क्रिकेट संघको सहकार्यमा हुन लागेको ट्यालेन्ट हन्टमा युवा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन पाउने छन् ।
सो कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने केही खेलाडीलाई चितवन टाइगर्सले आफ्नो टिममा राख्ने छ ।
ट्यालेन्ट हन्ट मंसिर १२ गते बिहान ११ बजेदेखि सुरू हुने चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । ट्यालेन्ट हन्टमा सहभागिताका लागि रजिष्ट्रेशन मंसिर ११ गतेसम्मलाई खुल्ला गरिएको छ ।
रजिष्ट्रेशनका लागि राजु क्षेत्रीलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । नाम दर्ताका लागि खेलाडीहरुले पासपोर्ट साइजको फोटो र दर्ता शुल्क २ सय रुपैयाँ राखिएको चितवन क्रिकेट संघका अध्यक्ष प्रधानले जानकारी दिए ।
यस ट्यालेन्ट हन्टले चितवनका प्रतिभावान खेलाडीलाई एभरेष्ट प्रिमियर लिग क्रिकेटमा खेल्न मौका मिल्नेछ । चितवन टाइगर्सले पहिलो खेलमा मंसिर २३ गते ललितपुरसँग खेल्दै प्रतियोगिता सुरूवात गर्दैछ ।
चितवन टाइगर्सको मार्की प्लेयर दीपेन्द्रसिंह ऐरी हुन् भने कप्तानमा पृथु बास्कोटा रहेका छन् । चितवन टाइगर्सले हालैमात्र विदेशी खेलाडीको रुपमा आयरल्याण्डका पाउल स्र्टिलङलाई भित्र्याएको छ ।