अपराध नियन्त्रणमा सादा पोसाकमा प्रहरी [divider]
-विधुर ढकाल
नवलपरासी । इलाका प्रहरी कार्यालयले गैंडाकोटले लागूऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध गाँजासहित चितवन जिल्ला पटिहानीका ५९ वर्षीय हरिबहादुर परियार, पर्सा वीरगञ्जका राकेशकुमार महतो र अञ्जन चौधरीलाई बुधबार पक्राउ गरेको प्रहरी सहायक निरीक्षक कृष्णज्यू ठकुरीले जानकारी दिए । उनका अनुसार पक्राउ तीनै जनालाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दामा अनुसन्धानका लागि प्रथमपटक १५ दिनको म्याद थप गरिएको छ ।
प्रहरीले गैँडाकोट ४ रानी तालनजिक सडकमा हिँडिरहेका उनीहरुलाई शंकाका आधारमा खानतलासी गर्दा निजहरुले बोकेको झोलामा तीन किलो गाँजा भेटिएको थियो । उनीहरुले गैंडाकोटमा अवैधरूपमा गाँजा तथा लागूऔषधको कारोबार गर्ने गरेको प्रहरी दावी छ । गैंडाकोट प्रहरीले स्थानीय स्तरमा लागूऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको छ ।
यसैबीच रातको समयमा हुने चोरी नियन्त्रणका लागि गैंडाकोट इलाका प्रहरी कार्यालयले सादा पोसाकमा प्रहरी परिचालन गरेको छ । गत पुस महिनामा प्रहरी प्रधान कार्यालय विशेष व्यूरोबाट सरूवा भई आएका कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद विक्रम शाहले कार्यकाल समाल्दै गर्दा इलाकामा चोरी तथा लागूऔषध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने प्रतिबद्धता जनाएका थिए ।
केही दिनयता गैँडाकोट गाविसमा रातको समयमा विद्युत ट्रान्सफर्मर तथा टेलीफोन तारको चोरी बढेपछि प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको उनले बताए ।
गैंडाकोट नारायणी नदी किनार लागूऔषधको सेवन गर्ने तथा यौनजन्य क्रियाकलाप हुने स्थानको रूपमा परिणत हुँदै गएको भन्दै स्थानीयले प्रहरीलाई गुनासो गरेपछि प्रहरीले ती क्षेत्रहरुमा समेत निगरानीलाई बढाएको जनाएको छ । विशेषगरी गैंडाकोटको जंगली इलाका तथा वृटिस क्याम्प आसपासमा अराजक प्रवृत्तिका युवाहरु आउने र लागूऔषध सेवन तथा यौन कृयाकलापमा संलग्न हुने स्थानीयहरुले बताउँदै आएका छन् ।
त्यस्ता क्रियाकलापलाई पनि प्रहरीले विशेष निगरानी गरी कारबाहीलाई अगाडि बढाउने प्रहरी निरीक्षक शाहले बताए ।
Discussion about this post