काठमाडौँ, ९ माघ । सरकारले चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीका मुख्य माग सम्बोधन भइसकेका र नेपाल चिकित्सक सङ्घले उठाएका विषय छलफलबाट समाधान गर्न सरकार सकारात्मक रहेको भन्दै अनशन तोडी सहयोग गर्न डा. केसीलाई अनुरोध गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारले एक अपिल जारी गर्दै उक्त आग्रह गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले बताउनुभयो ।
मन्त्री पौडेलले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या छलफल र वार्ताबाट समाधान गर्ने प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको संयोजकत्वमा गृह, शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरू रहेको वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो । सरकारले सो टोलीलाई यथाशीघ्र आफ्नो कार्य प्रारम्भ गर्न निर्देशन दिएको छ ।
“डा. गोविन्द केसीको माग सम्बोधन गरी उहाँको जीवन रक्षा गर्न र सबै स्वास्थ्य सेवा जनसाधारणलाई प्राप्त गर्न सहज वातावरण सिर्जना गर्नेे कार्यमा सघाउन नेपाल सरकार त्रिभुवन विश्वविद्यालय, नेपाल चिकित्सक सङ्घ तथा चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मी, सम्पूर्ण स्वास्थ्य सञ्चालक तथा व्यवसायी, मानवअधिकारकर्मी, सम्पूर्ण राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिक समाजलाई हार्दिक आह्वान गर्नुका साथै आफ्नो अनशन तोडी सहयोग गर्न डा. केसीलाई सरकार हार्दिक अनुरोध गर्दछ”, सरकारद्वारा जारी गरिएको अपिलमा भनिएको छ ।
अधिकारी दम्पतीलाई पनि अनशन तोड्न आग्रह
लामो समयदेखि अनशनरत गोर्खा निवासी नन्दप्रसाद अधिकारी तथा गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानविनका लागि सरकार क्रियाशील र प्रतिबद्ध रहेको हुँदा अधिकारी दम्पतीलाई अनशन तोडी सामान्य जीवनयापन गर्न पनि सरकारले अपिल गरेको छ ।
यस काममा सघाउन सम्पूर्ण राजनीतिक दल, मानव अधिकारकर्मी, सञ्चारकर्मी र नागरिक समाजलाई सरकारले हार्दिक आह्वान गरेको मन्त्रिपरिषद्को वैठकपछि सञ्चार मन्त्री पौडेलले बताउनुभयो ।
Discussion about this post