स्वराज अर्थात् अरविन्दवाद ः एक चर्चा

अन‌ि यो पनि

 – डा. हरिप्रसाद कँडेल
    
भारतीय राजधानी नयाँदिल्लीका सातौँ मुख्यमन्त्रीका रुपमा राजनीतिमा उदाएका अरविन्द केजरीवालले गान्धी भूमिमा गान्धी शैलीले गरिब र विपन्नको हितमा उभ्याउँदै दल स्थापनाको १४ महिनामै पुराना राजनीतिज्ञहरुलाई झाडु लगाएर बढारिदिएपछि त्यसको सर्वत्र चर्चा हुँदै आएको छ । खासगरी, १० वर्षे सशस्त्र युद्घबाट परिवर्तनको मार्ग खोल्ने प्रयत्न गरेका नेपाली माओवादी पार्टीलाई अहिलेको सूचना र प्रविधिले सम्पन्न युगमा जागरण अभियान नै आमजनताको मन जित्ने सशक्त माध्यम हुँदोरहेछ भन्ने सन्देश दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेलाई पुरानै ढर्राबाट अघि बढ्ने कोसिस जारी राखे राजनीतिक दलको भविष्य सङ्कटमा पर्ने निश्चित छ भन्ने बेजोड शिक्षा सम्प्रेषण गरेको छ ।
नेपालमा गत नोभेम्बर १९ तारिखका दिन र भारतमा यही जनवरी ४–५ तारिखमा क्रमशः संविधानसभा र विधानसभाको निर्वाचन सम्पन्न भएको घटना ताजै रहेको छ । चुनावपछि धाँधली भयो भन्ने नाटक, समानुपातिक सभासद् चयनमा मोलमोलाइ रडाकोहरु, राष्ट्रपति फेर्ने अनपेक्षित आवाज, संविधानसभा कसले बोलाउने भन्ने विवाद,  मनोनीत २६ सभासद् कोटाको भागबन्डा र सरकारको नेतृत्वजस्ता राजनीतिक छिनाझम्टीहरुले नेपालमा राजनीतिक दलहरुको आलोचना भैरहेको छ भने भारतमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो शासनको १५ दिनमै जनजीविकाका आधारभूत मुद्दाहरुको अभूतपूर्व सम्बोधन गरेर चर्चामा छाएका छन् । नन् करप्ट, नन् क्रिमिनल र नन् कम्युनल बेसलाइन लिएर जनतामाझ आएका अरविन्द केजरीवालले विगत १५ दिनमा अपत्यारिलो सुरूवात गरिदिएका छन् ।
सिएजी अडिट कार्यको सुरू, जनवरी १ तारिखबाट दिल्लीमा ४०० युनिटसम्मको बिजुली महसुलमा ५० प्रतिशत कमी, २० किलोलिटरसम्मको खानेपानी महसुलमा पूर्ण छूट, भ्रष्टाचारविरूद्घ नागरिक हेल्पलाइनहरुको स्थापना, भिआईपी संस्कृतिको अन्त्य, घर नभएकाहरुलाई नाइट सेल्टरको व्यवस्था, विद्यालयहरुको भौतिक पूर्वाधारको अनुगमन, ८०० जल बोर्ड अधिकृतहरुको सरूवा, भ्रष्ट कर्मचारीहरुलाई डिसमिस, ४७ वटा नयाँ अदालतहरुको प्रारम्भ र हरेक शनिबार सडकमै सार्वजनिक सुनुवाइको प्रारम्भ गर्ने कामहरु उल्लेख गर्न लायक रहेका छन् । आज उनको समर्थनमा मासिक १ रूपैयाँको कोष खडा गर्न धेरै राष्ट्रसेवकहरु तयार भई त्यसको सुरूवात भैसकेको अवस्था पनि स्मरणीय छ ।
यता, शरद्सिंह भण्डारीले गैरआवासीय नेपाली निर्जला राउत र विजय गच्छदारले मधेससँग साइनो नभएका बाबुराम पोख्रेल, गीता राणा र सुबोध पोख्रेललाई आर्थिक टेन्डरबाट सभासद् बनाएका छन् । श्रीमतीलाई सभासद् नबनाएमा संसदीय दलका नेता अरु बनेर पार्टी फोरिदिने सम्भावना रहेकोले भन्दै तीनवटा मधेसी दलका अध्यक्षहरु राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवले क्रमशः आ–आफ्नै श्रीमतीहरु शैलुदेवी, डिम्पलकुमारी र सरिता यादवलाई सभासद् बनाउने काम गरे । नेपाली कांगे्रस, एमाले र एमाओवादी पार्टीहरुमा पनि सभासद् बनाउने विषयले आन्तरिक भुइँचालो ल्याइदिएको छ । विगत २२÷२३ वर्षको कुरा होइन, जम्मा एक महिनाको समीक्षा गर्ने हो भने दिल्ली सरकारले गरेका नयाँ सुधारहरु अनि हाम्रा नेताहरुको माथिका हर्कतहरुले के प्रस्ट पार्दछ भने दिल्लीलाई गालीचाहिँ गर्ने, तर दिल्लीसँग शासकीय प्रतिस्पर्धा गर्ने एकरत्ति चेष्टा पनि छैन हाम्रा नेताहरुमा । राजनीतिक हिज्जे शब्दहरु चाहिँ नयाँनयाँ थपिए, तर कार्यशैलीचाहिँ पञ्चायती ढर्राकै रहिरह्यो । लामा पाइला चालेर छलाङ मार्छु भन्ने सोचले मात्र काम गरिरह्यो सधैँ । इन्च–इन्च गरेर निरन्तर बढ्ने पाइला नै बरू सहजतासँग गन्तव्यमा पुग्दछ भन्ने हेक्का भएन नेपाली राजनीतिज्ञहरुलाई ।
एउटा कर अधिकृत जसले नेपाली कर अधिकृतले जस्तै चाहेको भए कयौँ धनदौलत कमाउन सक्थे, तर भारतीय मूलमा गरिब जनताबाट विभिन्न उद्देश्यबाट उठाइएको कर रकममा भइरहेको मनपरीतन्त्र र भ्रष्टाचारलाई सहन नसकी जागिर तिलाञ्जली दिएर जनलोकपाल विधयेक र सूचनाको अधिकार अभियानमा जुट्ने साहस गरे र अन्तमा ती दुवै मुद्दामा सफल भएपछि राजनीतिक दलका रुपमा नयाँ दर्शनसहित स्थापना हुन पुगेको दृष्टान्त आधुनिक सामाजिक विज्ञानमा अति मह¤वपूर्ण प्रसंग हो । त्यसैले, सबैको ध्यान र आकर्षण उनी र उनको दलप्रति बढ्दो रुपमा देखिन थालेको छ ।
सन् १९६८ अगस्ट १६ तारिखमा हरियाणाको सिवानी गाउँमा जन्मेका अरविन्द केजरीवाल इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट मेकानिकल इन्जिनियरमा ग्राजुयट हुन् । उनी र उनकी श्रीमती सुनीता दुवै कर अधिकृत नै हुन् । भाग्य भनेको संयोगको अवस्था होइन, यो त रोजाइको विषय हो । यसलाई पर्खेर बस्नुहुन्न, जतिसक्दो चाँडो हासिल गर्नुपर्दछ भन्ने प्रख्यात भनाइजस्तै गरी भारतीय आयकर विभागमा ज्वाइन्ट कर अधिकृतको जागिरे जीवनबाट सन्न्यास लिएर जनतामाझ जान गरेको निर्णयले उनलाई सफलताको शिखर चढायो । स्वराज अर्थात् जनताको शासन नामक पुस्तकमार्फत नयाँ दर्शन लिएर नागरिक समाजको प्रतिनिधित्व गर्दै उनी आज विशाल भारतको क्षितिजमा उदाएका छन् ।
आफूलाई कुनै राजनीतिक दलभन्दा पनि समाज सुधार अभियानको अभियन्ताका रुपमा उभ्याउन रूचाउने केजरीवालको बौद्घिक क्षमता पनि उच्चकोटीको देखिन्छ । सन् २००६ मा अन्तर्राष्ट्रिय म्यागासासे पुरस्कार प्राप्त गर्दाको पुरस्कार राशिलाई सम्पूर्ण रुपमा पब्लिक कज रिर्सच फाउन्डेसनको स्थापनामा खर्च गरी नागरिकहरुको पक्षमा स्पष्टसँग उभिने साहस गरेका केजरीवालमा विलक्षण राजनीतिक प्रतिभाहरु देखिन्छ । जनलोकपाल विधयेक ल्याउन उनी र अन्ना हजारेहरुलाई जुन कठिनाइ र संघर्षहरु गर्नुप¥यो, त्यसले इस्पातलाई हथौडाले हानेर आकार दिएजस्तै भयो उनको निजी जीवन । कठिनाइले चरित्र चम्काउँछ भन्ने उक्तिजस्तै भयो उनलाई, जसबाट उनी समग्र भारतभरि चम्किन सफल भए ।
केजरीवाल सिभिल सोसाइटीबाट उदाएका नेता हुन्, त्यसैले उनी भन्छन्– आमआदमी राजनीतिक दल नै होइन, यो त आमभारतीय जनताको देश सुधार अभियान हो जुन अझै बढेर जानेछ, अबका दिनहरुमा । उनले नेपाली सिभिल सोसाइटीलाई विशेषगरी कनकमणि दीक्षित, श्याम श्रेष्ठ, राजेन्द्र महर्जन, कृष्ण खनाल र खगेन्द्र सङ्ग्रौलाहरुलाई दलको पिछलग्गु भएर होइन, बरू आमजनताको पक्षमा उभिन सके देशमा नागरिकहरु बलिया हुनेछन् भन्ने शिक्षा दिएका छन् । सत्य कुराको फूलबुट्टा भरेर चर्चा गर्नैपर्दैन भनेझैँ केजरीवाल चमत्कारिक नागरिकवादी हुन् । उनको यो स्वराज अभियान अबको विश्वराजनीतिमा अरविन्दवाद भएर फैलिँदै जानेछ । उनको यो छवि उदाहरणीय तथा अनुकरणीय मात्र छैन, खुलेरै समर्थन गर्नयोग्य छ ।
अन्तमा, अरविन्दको नागरिक आवाज जस्ताको तस्तै राख्दै बिदा चाहन्छु ः
जला दो ऐसे तख्तको, जो रक्तमे भेद करता हे
हटा दो ऐसे तख्तको, हर शख्समे भेद करता हे
मिटा दो ऐसे तख्तको, जिस थालीमा खाया उसीमे छेद करता हे
आओ आगाज करेँ, एक नये रिवाजका
नहोँ कोही तख्त, नहीँ हो कोइ ओहदा
जमीँ से जुडंँ ऐसे, जैसे जुड्ता हे कोइ पौधा ।
(लेखक, नेपाल शिक्षक संघ चितवनका उपसभापति हुन् ।)

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया