भक्तपुर । व्यापारीहरूले स्थानीय बजारमा खाना पकाउने एलपी ग्यासको कृतिम अभाव सिर्जना गरी कालोबजारी सुरु गरेका छन् ।
व्यापारीहरूले उपभोक्तालाई एक महिनासम्म पनि ग्यास उपलब्ध नगराई बढी मूल्यमा बिक्री गर्ने गरेको उपभोक्ताले बताएका छन् । नियमित ग्यास लैजाने उपभोक्ताले पनि एक महिनादेखि बिक्री डिपोबाट ग्यास नपाएको तर बढी पैसा तिरेमा भने पाइने गरेपछि भक्तपुरका व्यापारीले ग्यासमा सुनुयोजित रूपमै कृतिम अभाव सिर्जना गराएर कालोबजारी गराएको उपभोक्ताको गुनासो छ ।
एक सिलिन्डर ग्यासलाई रु एक हजार ७०० देखि रु एक हजार ९०० सम्म लिएर व्यापारीले बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ । भक्तपुर कमल विनायकका ग्यास बिक्रेताले रु एक हजार ७०० लिएर ग्यास बिक्री गरेको कमलविनायकका रामहरी गैडाले बताउनुभयो । खाली ग्यास सिलिन्डर लगेर बुझाएको एक महिनासम्म पनि ग्यास नपाएपछि बिक्रेता कै सल्लाहमा बढी मूल्य तिररे ग्यास लिएको उहाँले बताउनुभयो ।
सूर्यविनायकका ग्यास व्यापारी अनमोल खर्वुजाले आयल निगमले नै मागअनुसारको ग्यास दिन नसकेको बताउँदै मौज्दात रहेको ग्यास केही बढी मूल्य लिएर बिक्री गरेको स्वीकारे । बजारमा ग्यास नभएकाले आफ्नो प्रयोगका लागि रोखेको ग्यास बढी मूल्य तिरेर पनि लैजान्छु भन्नेलाई मात्र दिएको बताउँदै उनले कर भने नगरेको दाबी गरे ।
भक्तपुर थिमिका सागर प्रजापतिले यहाँका ग्यास व्यापारीले ग्यास लुकाएर महँगोमा बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिउँसो गए ग्यास छैन भन्छन्, जसरी पनि चाहियो भनेपछि अन्तबाट ल्याईदिन्छु, २००÷३०० बढी लाग्छ भन्छन्, खुलेयाम रूपमा ग्यासमा कालोबजारी गर्दा पनि सम्बन्धित निकाय भने मौन बसेको छन्, यसको प्रतक्षमार उपभोक्तालाई परेको छ ।’
आयल निगमले बजारमा ग्यासको अभाव नभएको बताएँदै आएपनि व्यापारीहरूले भने ग्यासको अभाव देखाएदै कालोबजारी सुरु गरेका हुन् ।
बजारमा ग्यासको कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने व्यापारीले बिक्री केन्द्र मै गोदाम नराखी छिमेकीको घर भाडामा लिएर ग्यास लुकाएर अभाव सिर्जना गर्ने गरेको दाबी गर्दै तत्काल बजार अनुगमन गरी कालोबजारी गर्ने बिक्रेतालाई कारबाही गर्नुपर्ने उपभोक्ताहरू बताउँछन् । रासस
Discussion about this post