भरतपुर । चितवन प्रहरीले जुवा खेल्नेविरूद्ध गरेको एक कारबाहीमा ३ वटा एक लाख दरका चेक र २ लाख ७७ हजार रूपैयाँ बरामद गरेको छ ।
जुवा खालबाट प्रहरीले १ लाखको एउटा चेक सग्लो बरामद गरेको छ भने एक–एक लाखकै २ वटा चेक भने जुवाडेले तत्कालै च्यातिदिएको प्रहरीले जनाएको छ ।
रत्ननगर नपा वडा नं ९ बाट तास खेल्ने १६ जनालाई पक्राउ गरी ७ बुक तास, नगद २ लाख ७७ हजार ७६० र हिमालयन बैंकको १ लाखबराबरको चेकसमेत बरामद गरिएको छ । प्रहरीले जुवाडेहरुको नाम भने सार्वजनिक गरेको छैन । अधिकांश आरोपित व्यवसायी रहेको प्रहरीले जनाएको छ ।
कात्तिक १७ र १८ गते छुट्टाछुट्टै दुई स्थानबाट कौडा खेल्ने मानिसहरुलाई चितवन प्रहरीले पक्राउ गरेको छ । कौडा र नगदसमेत बरामद गरिएको छ । कात्तिक १७ गते भरतपुर मनपा वडा नं २१ कृष्णचोकमा कौडा खेलिरहेको अवस्थामा फेला परेका ४ जनालाई १६ थान कौडा र २२ हजार ७ सय २५ रूपैयाँसहित पक्राउ गरिएको थियो ।
नयाँ ऐनको फन्दामा जुवाडे
पक्राउ परेका निजहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा ऐन रहेको छ ।
यसअघिको पुरानो जुवा ऐनमा सामान्य जरिवाना तिरेको आधारमा भोलिपल्ट नै जुवाडेहरु छुट्न सक्ने कमजोर कानुनी व्यवस्था थियो । तर, गत भदौ १ गतेबाट लागू भएको नयाँ मुलुकी अपराध संहिता ऐनले केही कडा व्यवस्था गरेको छ ।
यस ऐनअनुसार पहिलोपटक जुवा खेल्नेलाई ३० हजार रूपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
लागूऔषधसहित मानिस पक्राउ
प्रसनि सीताराम खतिवडाको कमान्डमा खटिएको प्रहरी टोलीले भरतपुरमा मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको झोलामा जिराभित्र लुकाइराखेको अवस्थामा लागूऔषध डाइजेपाम ६० एम्पुल, ब्युप्रिनफिन ६० एम्पुल, फेनारगन ६० एम्पुल र नाइट्रोजेपाम ३०३ ट्याबलेट फेला पारेको छ ।
प्रहरीले मोटरसाइकल चालक भारत उत्तरप्रदेश घर भएका वर्ष ३७ का रामनिवास गुप्तालाई पक्राउ गरेको छ ।