भरतपुर । चिकित्सकहरुको आन्दोलनका कारण अस्पतालको उपचार प्रभावित भएपछि बिरामी तथा तिनका आफन्तले उपचारको माग गर्दै अस्पताल परिसरमा नारा जुलुससहित प्रदर्शन गरेका छन् । बिरामीले उपचार नपाएपछि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउन आएका बिरामीले प्रदर्शन गरेका हुन् ।
अस्पतालको बहिरङ्ग सेवा तत्काल सञ्चालन गर्न माग गर्दै अस्पतालमा बिरामीका आफन्तहरुले गरेको प्रदर्शनमा अन्य संघसंस्थाहरुले समर्थन जनाएका थिए । अस्पताल परिसरमा जम्मा भएका बिरामीका आफन्तहरुले अस्पतालको प्रशासन घेराउसमेत गरेका थिए । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्दा बिरामीको अकालमै ज्यान जान सक्ने भन्दै बिरामीका आफन्तहरुले तत्काल आन्दोलन फिर्ता लिएर समस्या समाधानका लागि फरक बाटो अपनाउन चिकित्सकहरुलाई सुझाव दिएका छन् ।
‘चिकित्सकहरुको आन्दोलनले अरु बिरामी मर्ने अवस्था आउन दिन हँुदैन’, बिरामीका आफन्तहरुले आक्रोश पोख्दै भने । बिरामी तथा बिरामीका आफन्तहरुको दबाबपछि अस्पतालका केही चिकित्सकहरुले अस्पताल परिसरमै ओपीडी बनाएर उपचार सेवा सुरू गरेका छन् ।
आन्दोलनप्रति ऐक्यबद्धता
प्राडा गोविन्द केसीले उठाएका जायज मागहरुप्रति नेपाल चिकित्सक संघले गरेको समर्थनमा उद्योग वाणिज्य संघ–चितवनले पनि ऐक्यबद्धता जनाएको छ । संघका अध्यक्ष कल्याण जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग पूरा गर्ने सन्दर्भमा स्वास्थ्य संस्थाहरुमा चिकित्सकहरुबाट गरिएको बन्द हड्तालप्रति भने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सकहरुबाट गरिएको बन्द हडतालको कारण आम बिरामीहरु मर्कामा परेका छन् ।
नेपाल चिकित्सक सङ्घले उठाएको मागप्रति ऐक्यबद्धता जनाउँदै सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्दै आमनागरिकको स्वास्थ्यसम्बन्धी अधिकारको सम्मान गर्न पनि संघले आग्रह गरेको छ ।
चिकित्सकहरुको आन्दोलनका कारण मंगलबारपनि चितवनका सरकारी तथा निजी अस्पतालरु बन्द रहेका छन् । अस्पतालजस्तो अत्यावश्यक सेवा बन्द नगर्न सर्वोच्च अदालतले दिएको आदेशलाई अर्को व्याख्या गर्दै नेपाल चिकित्सक संघले बिरामीहरुले इमर्जेन्सीबाटै अत्यावश्यक सेवा पाउने बताएको छ ।
संघले अस्पतालको अत्यावश्यक सेवा इमर्जेन्सी सेवाबाटै उपलब्ध गराउने बताएको छ । अत्यावश्यकबाहेक अन्य सेवामाथिको बन्द निरञ्न्तर रहने चिकित्सक संघले जनाएको छ ।
मंगलबार नेपाल चिकित्सक संघका महासचिव डा मुक्तिराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा सम्मानित सर्वोच्च अदालतले दिएको आदेशलाई उच्च सम्मान गर्दै अत्यावश्यक स्वास्थ्य सेवाहरु इमरजेन्सी सेवाबाट प्रदान गर्न गराउन नेपाल चिकित्सक संघ सम्बन्धित सबैमा हार्दिक आहृवान गरेको छ । अदालतको आदेशमा अस्पताल खोल्न भने पनि चिकित्सक संघले यसलाई अटेर गर्दै आन्दोलनमा थप समर्थन गर्न आग्रह गरेको छ । आफ्ना माग पूरा नभए चिकित्सकहरुले सामुहिक राजीनामा दिने धम्कीसमेत दिइएको छ ।
चितवनका विभिन्न मानवअधिकारकर्मीहरुले चिकित्सक संघको जायज माग पूरा गर्न र कसैलाई पनि उपचार गर्नबाट वञ्चित नगर्न आग्रह गरेका छन् ।
Discussion about this post