भरतपुर । सरकारले दिएको सहुलियतका कारण आन्तरिक राजश्व कार्यालय भरतपुरमा कम्तिमा अढाइ सय करदाता थपिएका छन् । उनीहरुबाट दुई करोड रूपैयाँ राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालयको क्षेत्राधिकारभित्र चितवनसहित नवलपरासीको दाउन्ने पूर्वको भूभाग पर्छ ।
सरकारले पुस मसान्तसम्म आन्तरिक राजश्व कार्यालयमा दर्ता हुन आउने वा कारोबार विवरण बुझाउनेलाई छुट दिने नीति लिएको थियो । तीन वर्षको आय विवरण र कर निर्धारण गरेर बुझाए अघिल्ला वर्षको विवरण र करमा जरिबाना नलिने नीति थियो ।
सो सुविधाअन्तर्गत एक हजार २०३ जनाले विवरण बुझाएका छन् । उनीहरुबाट ३६ लाख सात हजार रूपैयाँ कर संकलन भएको आन्तरिक राजश्व कार्यालय भरतपुरले जानकारी दिएको छ । यो शीर्षकअन्तर्गत सुविधा उपभोग गर्नेमा नयाँ पुराना दुवै खालका करदाता रहेका छन् ।
‘सरकारले पुस मसान्तसम्म अघिल्लो तीन वर्षको आय विवरण र कर बुझाए त्योभन्दा अघिको विवरणमा जरिबाना र कर नलिने भएको थियो । सोअन्तर्गत १२ सयजनाले विवरण बुझाए । जसमा नयाँ पुराना दुवै खालका करदाता छन्’ कार्यालयका प्रमुख प्रेम उपाध्यायले भने ।
नयाँ करदातामा कलाकार, वकिल, र चिकित्सक ७२ जना थपिएका छन् । त्यस्तै १६९ सहकारीले पनि कर कार्यालयमा दर्ता भएर कर बुझाएका छन् । शिक्षा सेवा शुल्क बुझाउन सातवटा निजी विद्यालयहरु कर कार्यालयमा पुगेका छन् ।
यी २४८ जना व्यक्ति वा संस्था पूर्ण नयाँ करदाता भएको कार्यालय प्रमुख उपाध्यायले बताए । पुस मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका तर विवरण नबुझाएका पुराना ५८ जना करदाताले पनि शुल्क बुझाएका छन् ।
त्यस्तै ‘मिस म्याच’ आफैले घोषणा गर्ने ९५ फार्म भएका छन् । उनीहरुले बुझाएको १५० वटा विवरणबाट भ्याट र आयकर गरेर एक करोड ५६ लाख रूपैयाँ जम्मा भएको कार्यालयले जानकारी दिएको छ । सबैबाट गरेर दुई करोड चार लाख रूपैयाँ राजश्व उठेको छ ।
आन्तरिक राजश्व कार्यालयमा प्यानमा दर्ता भएका ३० हजार करदाता रहेका छन् । त्यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका २७ सय करदाता रहेका छन् । वर्षको ४० करोड रूपैयाँभन्दा कम कारोबार गर्नेले आय करसमेत यही कार्यालयमा बुझाउने गर्छन् ।
यो कार्यालयले यो आर्थिक वर्षमा आठ अर्ब २६ करोड ४४ लाख ८६ हजार रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । पुस महिनासम्म तीन अर्ब, ६९ करोड १२ लाख ४५ हजार रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, तीन अर्ब ६७ करोड ६४ लाख ५४ हजार रूपैयाँ संकलन भएको छ ।
पुस महिनासम्म लक्ष्यभन्दा शून्य दशमलव चार प्रतिशतमात्रै कम राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यो अवधिमा अघिल्लो आर्थिक वर्षको पुस मसान्तसम्म भन्दा झण्डै २३ प्रतिशत बढी राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ ।
Discussion about this post