भरतपुर । विभिन्न कारणले सडकमा पुगेका बालबालिकालाई पढाइतर्फ आकर्षित गराइएपछि अहिले उनीहरू आफ्नो भविष्य खोज्न थालेका छन् ।
पढ्न सक्नेहरू पढाइमा र पढ्न मन नगर्ने तथा उमेर पुगेकाहरू विभिन्न सीप सिकेर आयआर्जन गर्नसमेत थालेका छन् । विभिन्न सङ्घसंस्थाको सहयोगमा यहाँका १०० भन्दा बढी सडक बालबालिकाको दैनिकी नै परिवर्तन हुन थालेको छ । लामो समयदेखि उनीहरूका बारेमा काम गर्दै आएको चितवनको दियालो परिवार नारायणगढले मात्रै ८७ जना सडक बालबालिकालाई सहयोग गरिसकेको छ ।
दियालो परिवारका कार्यकारी निर्देशक केदारनाथ खनाल सडकबाट ल्याएर ८७ जनालाई विभिन्न सहयोग गरेको बताउनुहुन्छ । तीमध्ये ३१ जनालाई औपचारिक शिक्षा दिन थालिएको छ, उनीहरू अहिले कक्षा ५ देखि ८ सम्म विभिन्न स्कुलमा पढिरहेका छन् । ६५ जना बालबालिका तथा उनीहरूका परिवारलाई आयआर्जनका कार्यक्रम सञ्चालन गरेर घरमा पुनः एकीकरण गरिएको उहाँले बताउनुभयो । युनिसेफको १२ लाखको सहयोगमा कार्यक्रम चलिरहेको छ ।
युथ क्लबले समेत उनीहरूलाई विभिन्न सहयोग गर्दै आएको छ भने केही सडक बालकलाई हाम्रो घर भन्ने संस्थाले पढाउँदै आएको छ । चितवनमा हाल करिब २०० सडकबालकालिका रहेको तथ्याङ्क छ ।
सडकमा बोरा बोकेर हिँड्ने गरेकाहरूलाई खाते भनेर तुच्छ व्यवहार समाजले नै गर्ने गरेको अध्ययनमा पाइएको खनालले बताउनुभयो । सडकबालक विराम विक सहयोग पाए धेरै साथी पढ्न जाने र घर फर्कने सोचमा रहेको बताउँछन् । उनीहरूलाई माया र सद्भावका दृष्टिले हेर्ने हो भने जीवन परिवर्तन गर्न सकिनेछ ।
Discussion about this post