काठमाडौँ । विभिन्न सात सूत्रीय माग राखी आमरण अनशनमा बसिरहनुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको छ ।
‘उहाँको स्वास्थ्य अवस्था ‘क्रिटिकल’तर्फ उन्मुख भएको छ । चिकित्साका भाषामा ‘क्रिटिकल’ भन्नु भनेको बिरामीलाई जुनसुकै समयमा जे पनि हुनसक्छ । उहाँलाई अक्सिजन र स्ल्याइनले मात्र बचाइराखेको छ’ प्राडा केसीका उपचारमा संलग्न चिकित्सक प्राडा सुभास आचार्यले जानकारी दिनुभयो ।
‘प्राडा केसी कम बोल्न थाल्नुभएको छ । रगतमा अक्सिजनको मात्रा कम, मुटुको धड्कन बढ्दो र पिसाब पनि अति कम भएको छ । हामीले हरपल उहाँको रक्तचापलगायत अन्य अवस्थाको परीक्षण गरिराखेका छौँ’ डा आचार्यले भन्नुभयो ।
त्रिवि कार्यकारी परिषद्ले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा शशी शर्मालाई नियुक्ति गरेपछि समग्र स्वास्थ्य संस्था तथा शिक्षण अस्पतालमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेलगायतका माग गर्दै केसी पुस २७ गते शनिबारदेखि अनसनमा बस्दै आउनुुभएको छ । अहिले केसीको अनसनप्रति समर्थन जनाउँदै शिक्षण अस्पतालमा कार्यरत चिकित्सक, परिचारिका, प्राविधिक तथा कर्मचारीले आकस्मिक तथा अन्तरङ्ग सेवासमेत बन्द गरेका छन् । बन्द, हडतालले निषेध गरिएका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी बन्द, हडतालमा उत्रिँदा बिरामी मर्कामा परेका छन् । गम्भीर शल्यक्रिया पनि डाक्टरहरुले गरेका छैनन् । कसैको जँुगाको लडाइँले बिरामीहरु उपचारबाट वञ्चित भएका छन् । ‘उपचार नपाएर मर्ने अवस्था आयो भने त्यसको जिम्मेवार कसले लिन्छ’ एक बिरामीले भने ।
नेपाल चिकित्सक संघको आह्वानमा आइतबारदेखि सबै स्वास्थ्य संस्थाका बहिरङ्ग सेवा ठप्प भएका छन् । संघका सभापति प्राडा अञ्जनीकुमार झाले भन्नुभयो, ‘प्राडा केसीका मागलाई सरकारले सम्बोधन नगरे सम्पूर्ण स्वास्थ्य संस्थाका आकस्मिक तथा अन्तरङ्ग सेवासमेत बन्द गर्न आह्वान गर्छाैं ।’
अर्काेतर्फ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, शिक्षा मन्त्री माधव पौडेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकले डा केसीका मागलाई सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरिसक्नुभएको छ तर त्रिविवि कार्यकारी परिषद्ले हालसम्म मागलाई सम्बोधन गर्न सकिरहेको छैन ।
चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डीन डा शशी शर्मा आफ्नो नियुक्ति वैधानिक भएकाले राजीनामा नदिने बताउनुभएको छ । यसैबीच, केसीको जीवनरक्षा माग गर्दै विभिन्न संस्थाले आज माइतीघर मण्डला अगाडि एक घण्टा धर्ना दिएका छन् ।
एक घन्टाभित्र अस्पताल खोल्न सर्वोच्चको निर्देशन, चिकित्सकले टेरेनन्
सर्वोच्च अदालतले देशभरका अस्पतालका कुनै पनि सेवा बन्द नगराउन र आदेश प्राप्त भएको एक घन्टाभित्र चिकित्सकीय सेवा सञ्चालन गराउन अन्तरिम आदेश जारी गरेको छ ।
गत पुस २९ गतेदेखि बन्द गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा गत आइतबारदेखि देशभरका अस्पतालका आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको थियो । न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले आज सो आदेश जारी गरेको हो ।
आदेशमा ‘जे जुन रूपमा विपक्षीले देशभरिका अपस्तालमा सर्वसाधारणले चिकित्सकीय सेवाबाट वञ्चित हुने गरी आह्वान गरेको बन्द हडताललगायत काम नगर्नू,नगराउनू र सर्वसाधारणले पाउनुपर्ने स्वास्थ्य सेवा सुविधा यो आदेश प्राप्त भएको मितिले एक घन्टाभित्र सुचारु गराउनू’ भनिएको छ ।
उक्त इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा र गृह मन्त्रालयलाई जारी अन्तरिम आदेशबमोजिम कार्य गर्न गराउन पनि आदेश दिएको छ । सातदिन अघिदेखि बन्द गरिएको शिक्षण अस्पताल तत्काल खुलाउन माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले र अधिवक्ता सुनिलरञ्जन सिंहले छुट्टाछरट्टै रिट निवेदन दायर गर्नुभएको थियो ।
अस्पतालमा राजनीतिक हस्तक्षेप बन्द गराउन सात सूत्रीय मागसहित आमरण अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको समर्थनमा अस्पतालका कर्मचारी सम्पूर्ण सेवा बन्द गरेर दिनहुँ प्रदर्शनमा उत्रिएका कारण सर्वसाधारण जनता उपचारबाट वञ्चित भएकाले कुनै पनि सेवा बन्द गराउनेमाथि कारबाही गर्न, संस्थाबारे छानबिन गराउन, प्राडा केसीको माग सम्बोधन गरी अस्पतालको गुणस्तर सुधार्न र अदालतको आदेश प्राप्त भएको एक घन्टाभित्र सम्पूर्ण सेवा सञ्चालन गराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।
चितवनमा आकस्मिक उपचारमात्रै
नारायणगढ । चिकित्सकहरुको आन्दोलन बढ्दै गएपछि चितवनका निजी अस्पतालहरुले आज मंगलबारबाट (आकस्मिक) इमरजेन्सी सेवामात्र दिने भएका छन् ।
चिकित्सक संघ चितवनको सोमबार सम्पन्न बैठकले आकस्मिक कक्षबाट मात्र उपचार सेवा दिने निर्णय गरेको छ । केन्द्रीय निर्देशनअनुसार अस्पतालको आकस्मिकबाहेक सवै सेवा बन्द गर्न परेपछि चिकित्सकहरुले आकस्मिक सेवाबाट उपचार दिने निष्कर्ष निकालेका हुन् । अस्पतालहरु बन्द हुँदा हजारौं बिरामीहरु प्रभावित भएका छन् । चितवनका ठूला अस्पतालहरुले नियमिततर्फ राखेका शल्यक्रियाहरु गरेनन् ।
Discussion about this post