भरतपुर । भरतपुर नगरपालिका कार्यालयले बजेट नदिने भएपछि भरतपुर अस्पतालको मुर्दा घरमा बेवारिसे शवको चाङ लागेको छ । डेढ महिनायता अस्पतालको शवगृहबाट बेवारिसे शव हटाउन नसकेको अस्पताल प्रशासनको भनाइ छ ।
शवगृहमा १९ वटा शव जम्मा भएको कर्मचारीहरु बताउँछन् । शवगृहको क्षमता आठवटासम्म शव राख्न मिल्नेछ । क्षमताभन्दा धेरै भएपछि गेटसम्म भूइँभरी शव कोचेर राखिएको छ । दूर्गन्धले अन्य शवको पोष्टमार्टम गर्न चिकित्सकहरुलाई अप्ठ्यारो हुने गरेको छ ।
स्थानीय स्वायत्त शासन ऐनले बेवारिसे शवको सतगत नगरपालिकाले गर्ने उल्लेख गरेको छ । सो ऐनको दफा ९३ को उपदफा ‘ढ’मा वडाभित्र कुनै असहाय वा बेवारिसे व्यक्तिको मृत्यु भएमा निजको दाहसंस्कारको व्यवस्था नगरपालिकाले गर्ने उल्लेख छ ।
तर भरतपुर नगरपालिकाले पुस २३ मा भरतपुर अस्पताललाई लेखेको पत्रमा शव व्यवस्थापनका लागि नगरपालिकाबाट खर्च बेहोर्न नसकिने उल्लेख छ । नगरपालिकाबाट त्यस्तो पत्र आउनुअघि नै भरतपुर अस्पतालमा शवको चाङ लाग्न सुरू भएको थियो ।
बेवारिसे शव व्यवस्थापन नगरपालिकाको काबुभन्दा बाहिर रहेको भन्दै भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले गएको साउन १९ मा नगरपालिकामा सर्वपक्षीय भेला राखेका थिए ।
भेलापछि समस्या निराकरण गर्न कार्यकारी अधिकृतको संयोजक¤वमा १० सदस्यीय समिति पनि गठन भएको थियो । जुन समितिले शव व्यवस्थापनका लागि दुई महिनाभित्र अल्पकालीन र तीन महिनाभित्र दीर्घकालीन योजनाहरु बनाएर पेस गर्ने जिम्मेवारी पाएको थियो ।
शव व्यवस्थापनमा बढेको जटिलताका बारेमा जिल्ला प्रशासनमा कुरा राख्न पुगेका भरतपुर अस्पतालका कर्मचारीहरुलाई सोमबार प्रमुख जिल्ला अधिकारीले सोही समितिलाई सक्रिय बनाउन सुझाव दिएका छन् । साउनको भेलामा प्रजिअ शर्मा पनि सहभागी थिए ।
विकास निर्माणमा खर्च गर्नुपर्ने रकम शव व्यवस्थापनमा लगाउन नसकिने नगरपालिकाका कार्यकारी अधिकृत शर्माले सोही भेलामा प्रष्टाएका थिए । अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले ११० वटा शव तह लगाएको थियो ।
उपचारको क्रममा वा अन्य कारणले मृत्यु भएका तर नाम थर, ठेगना नखुलेर आफन्त पत्ता नलागेका व्यक्तिहरुलाई केही समय अस्पतालको शवगृहमा राखिन्छ । शवको जिम्मा लिन कोही नआएपछि बेवारिसे भनेर नगरपालिकाले सतगत गर्छ ।
एउटा शव ओसार्न र गाड्ने ज्यालामात्रै कम्तीमा दुई हजार रूपैयाँ लाग्छ । खाल्टो खन्न स्काभेटर लगाउनुपर्छ । यी यावत् कुरा जोड्दा एउटा शवको व्यवस्थापन गर्न पाँच हजारको हाराहारीमा खर्च हुन्छ । वर्षको पाँच लाख रूपैयाँ नगरपालिकाले यो काममा लगाउनुपर्छ ।
नारायणी नदीले बगाउँदै ल्याएर शव चितवनका भूभागमा मिल्काउँछ । दुर्घटना हुने ठाउँ पनि यहाँ नै धेरै छ । सतगतका लागि नगरपालिकाका साथै अस्पतालहरुले पनि बजेटको व्यवथा गर्नुपर्ने नगरपालिकाका अधिकारीहरुको माग छ ।
अस्पतालले महिनाका २० वटासम्म शव पाउँछन् । पहिला वर्षमा ३० वटासम्म बेवारिसे शव आउने गरेकोमा पछिल्लो समय ह्वात्तै बढेको हो । कुनै बेला नारायणी नदीको पुलबाट शव मिल्काउँदा ठूलो विरोध भएको थियो ।
Discussion about this post