नारायणगढ । चितवनको पदमपुरमा गैँडाले हानेर दुईजनालाई गम्भीर घाइते बनाएको साता नबित्दै पश्चिम चितवनको जगतपुरमा फेरि गैँडाको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ ।
जगतपुर गाविस–९ बस्ने ३५ वर्षीया सानु विक गैँडाको आक्रमणबाट गम्भीर घाइते हुनुभएको हो । पछिल्लो समय यहाँ वन्यजन्तुको आक्रमणमा वृद्धि भइरहेको छ । उहाँको अहिले कलेज अफ मेडिकल साइन्सेस भरतपुरको सघन उपचार कक्षमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आइतबार साँझ घाँस काट्न राप्ती नदी किनारमा गएका बेला जङ्गलबाट निस्किएको गैँडाले उहाँलाई पटकपटक हानेर गम्भीर घाइते बनाएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । उहाँको तिघ्रा कन्चटलगायत शरीरका विभिन्न अङ्गमा गहिरो चोट लागेको छ । उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गत साता पनि चितवनको पदमपुरमा गैँडाको आक्रमणमा दुईजना घाइते भएका थिए ।
यसअघि चितवन मङ्गलपुरमा पुस अन्तिम साता गैँडाको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ । मङ्गलपुर– ८ निवासी ४५ वर्षीय बुद्धिमान थापाको गैँडाले हानेर ज्यान गएको हो । केही दिनअघि वन्यजन्तुको आक्रमणबाट गीतानगरमा पनि एकजनाको मृत्यु भएको थियो । यहाँका विभिन्न सामुदायिक वनमा गैँडा र बाघको बासस्थान बढ्दै गएकाले पछिल्लो समयमा सामुदायिक वन आसपासमा समेत मानिसमाथि वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा वन्यजन्तु आहारा र बासस्थानको खोजीमा निकुञ्जबाट सामुदायिक वनतर्फ जान थालेका छन् ।
नयाँ बुहारीलाई सदस्यता !
Discussion about this post