काठमाडौँ । सरकारी नीति विपरीत विभिन्न जिल्लामा निजी (संस्थागत) विद्यालयबाट एसएलसी टेष्ट (सेन्टअप) परीक्षा सञ्चालन भएको पाइएकाले त्यस्तो कार्य रोक्न सरकारले निर्देशन दिएको छ ।
टेष्ट परीक्षालाई जिल्लास्तरीय परीक्षासरहको मान्यता दिई विद्यार्थीसँग शुल्क उठाई उत्तीर्ण र अनुत्तीर्ण गराउने गरी सञ्चालन नगर्न सरकारले निर्देशन दिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्माले विद्यालयहरूले आन्तरिक मूल्याङ्कनको प्रयोजनका लागि शुल्क नलिई तथा उत्तीर्ण÷अनुत्तीर्ण नगराउने गरी मात्रै त्यस्तो परीक्षा सञ्चालन गर्न सक्ने बताउनुभयो ।
उहाँले यसबारे शिक्षा विभागमार्फत् सबै जिल्ला शिक्षा कार्यालयमा निर्देशन दिइएको जानकारी दिनुभयो । तर कतिपय निजी विद्यालयले सो निर्देशनको अवज्ञा गरी यस्तो परीक्षा सञ्चालन गरिरहेको पाइएको अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बताउनुभयो ।
उहाँले सोमबार विभागमा बसेको केन्द्रीय शुल्क निर्धारण समितिको बैठकमा पनि यस विषयमा गम्भीर छलफल हुँदा हाल लिइरहेको टेष्ट परीक्षा वैधानिक नभएको तथा यसका नाममा उठाइएको शुल्क कानुनविपरीत रहेको ठहर गरेको बताउनुभयो । उहाँले सरकारले आफ्नो नीति र निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न सक्नुपर्ने या विद्यालयलाई आफ्नो ढङ्गले परीक्षा सञ्चालन गर्न दिनुपर्ने धारणा राख्नुभयो । रासस
Discussion about this post