भरतपुर । महानगरको फोहोर उठाउन तपाईंको टोलमा कहिले आउँछन् ? के उनीहरु भनेअनुसारको समय–समयमा आएका छन् त ?
दैनिक उठाउनुपर्ने फोहोर महानगरले उठाएको छ कि छैन ? जस्ता प्रश्नको जवाफ र फोहोरबारेको गुनासो अब मोबाइल एप्लिकेसनबाट पाउन र गर्न सकिने भएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा पहिलोपटक फोहोर व्यवस्थापनका लागि सूचना प्रविधिको प्रयोग हुने भएको छ । नेपाल वेस्ट म्याप नामको एप्सबाट यस वडाका सबै फोहोरको अवस्थाबारे जानकारी हुने भएको हो ।
‘फोहोरको अवस्था कहाँ, के, कति भन्ने जानकारी एप्सबाट पाउन सकिन्छ’, भरतपुर महानगर वातावरण महाशाखाका प्रमुख इन्जिनियर विराट घिमिरेले भने, ‘यसको मुख्य उद्देश्य भनेको फोहोरबारे जानकार रहने र तत्कालै समाधान गर्ने हो ।’
सार्वजनिकरुपमा जानकारी भएमा सम्बन्धित निकायले उत्तरदायित्व वहन गरी तत्कालै फिल्डमा जाने भएकाले यस सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको इन्जिनियर घिमिरेले बताए ।
फोहोर उठाउने समय, कहाँ कहाँ उठाउने भन्ने रूटको जानकारी, फोहोर संकलनका लागि उपलब्ध भाँडाको अवस्थाका बारेमा पनि एप्सको प्रयोगबाट थाहा पाउन सकिने क्लिन अप नेपालका बोर्ड सेक्रेटरी नवराज पौडेलले जानकारी दिए । यो प्रविधि हाल काठमाडौँ महानगरपालिकाको को ३ , ५ र ३२ नम्बर वडाहरुमा प्रयोगमा आएको तथा भक्तपुर र इटहरी नगरपालिकामा पनि चाडैनै शुरु गरिने उनले बताए ।
वडावासीेले कहीँ फोहोर भएको देखेमा, फोहोर जलाइरहेको पाइएमा तत्कालै एप्समा गुनासो गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन सकिने उनले बताए । प्राप्त सूचनाका आधारमा सरसफाइ युनिटले तत्कालै एक्सन लिई समस्या समाधान हुने उनले बताए ।
‘वडा १० का भौतिक पूर्वाधारहरुको अवस्था जानकारी लिइसकेका छौँ’, निर्देशक पौडेलले भने, ‘अहिले हामी फोहोर संकलनका लागि रूट बनाउन लागिरहेका छौँ ।’ यस एप्सबाट जनताले फोहोर व्यवस्थापन हुन नसकेको विषयमा निरन्तर गुनासो गर्न सक्ने र स्थानीय सरकारलाई झकझक्याइरहने उनले बताए ।
भरतपुर महानगरको स्मार्ट सिटीको अवधारणालाई यस एप्सको प्रयोगले ठूलो सहयोग गर्ने वडा १० का अध्यक्ष एवम् भरतपुर महानगरका प्रवक्ता अरूण पीडित भण्डारीले बताए । सूचना प्रविधिको यस समयमा एप्सको प्रयोगबाट फोहोर संकलन र व्यवस्थापन गर्न सकिए त्यो नौलो र प्रभावकारीसमेत हुने उनले दाबी गरे ।
यस वडामा रहेका अस्पताल, विद्यालय, व्यावसायिक प्रतिष्ठान, निजी आवासका बारेमा तथ्यांक लिइसकिएकोले अब छिट्टै प्रविधिको प्रयोग गरिने वडाध्यक्ष भण्डारीले बताए । ‘विकास र समृद्धि वडावासीको शान, सफाइ र उज्यालो अभियान’ भन्ने मूल नाराका साथ यस वडालाई सरसफाइको क्षेत्रमा नमुना बनाउन लागिपरेको उनले बताए ।
वडाको फोहोर व्यवस्थापनको सम्बन्धमा बिहीबार सबै टोलका प्रतिनिधिलाई भेला गराई छलफल गरिएको थियो । वीरेन्द्र टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद सुवेदीले एप्सको प्रयोगलाई प्रभावकारी बनाउन सकेमा राम्रो हुने बताए ।