संविधानसभामा पहिलो दल बन्ने मौका पाएको नेपाली कांग्रेसले अझै पनि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा निर्णय लिन सकेको छैन । पार्टी सभापति सुशील कोइरालालाई आमनागरिकले भावी प्रधानमन्त्रीका रुपमा चर्चा गरिरहेको भएता पनि उनी आफ्नै पार्टीभित्र सर्वसम्मत हुन नसक्नु दुःखको कुरा हो । स्वच्छ छवि र त्यागी नेताका रुपमा परिचित कोइराला नै भावी प्रधानमन्त्री बन्नुपर्छ भन्ने आवाज नेपाली कांग्रेसभित्र नभएको होइन । तर, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले पनि सो पदमा आफ्नो दाबी गरिरहेको कारण नेतृत्व सर्वसम्मत हुन नसकेको हो ।
नेपालमा राजनीति त्याग र सेवाभन्दा पनि कमाइ खाने भाँडोका रुपमा बुझ्ने गरिन्छ । नेपाली कांग्रेसमा अहिले भइरहेको पदको खिचातानीलाई पनि त्यही रुपमा बुझ्न आमनागरिक अहिले बाध्य भएका छन् । आफूभन्दा वरिष्ठ नेतालाई सम्मान गर्दै सरकार प्रमुख बन्न अनुरोध गर्नुपर्ने समयमा आफैँ प्रधानमन्त्री बन्छु भन्दै हिँड्नु कहाँसम्म युक्तिसंगत कुरा हुन सक्छ ? नेपाली कांग्रेसको शीर्ष नेतृत्व तहमा बसेका व्यक्तिहरुले यो प्रश्नको जवाफ दिनु अब आवश्यक भइसकेको छ ।
नेपाली कांग्रेसले सत्ताको नेतृत्व गर्ने अवसर पाउँदा जहिले पनि अनावश्यक रुपमा विवाद सिर्जना हुने गर्दछ । जनादेशको सम्मान गर्दै संविधान लेख्न र सरकार सञ्चालन गरेर मुलुकमा अमनचयन कायम गराउन सबै नेताहरु एकढिक्का भएर लाग्नुपर्ने समयमा पदका लागि आफू आफैँमा लुछाचुँडी गरिरहेको दृश्य पटक्कै शोभनीय हुन सकेको छैन । सत्तामोहको यो रोगले कालान्तरमा कांग्रेसलाई क्षति पु¥याएरै छाड्ने छ ।
नेपाली कांग्रेस पार्टी एक भए पनि यसभित्र अनेक गुटबन्दीहरु भित्रभित्रै सक्रिय रहने गरेका छन् । प्रजातन्त्रका नाममा कतै कांग्रेसमा अराजकता र छाडातन्त्रको विकास हुन लागेको आशंका पनि सचेत बुद्धिजीवीहरुले गरिरहेका छन् । अहिलेको समय भनेको गुटबन्दीमा विभाजित भएर पदमोह प्रदर्शन गर्ने समय अवश्य पनि होइन । जनताले दिएको विश्वासको मतलाई शिरोधार्य गर्दै जनचाहनाअनुरुप काम गर्नुपर्ने यो आफैँमा एक मह¤वपूर्ण अवसर हो । तसर्थ, शीर्ष नेताहरुले गुटबन्दीको संकीर्ण घेराभन्दा माथि उठेर सत्तामोह त्याग्दै पार्टी सभापति सुशील कोइरालालाई नै एकमात्र उम्मेदवार बनाएर नयाँ सरकार गठन गर्नु उपयुक्त हुनेछ ।
Discussion about this post