–केशव भट्टराई
कहिलेकाहीँ समय मिलाएर केही पढूँ भन्यो, ‘लाइन’ हुँदैन । खाना खाने बेला भयो, फ्याट्ट लाइन गइदिन्छ । सर्टमा आयरन लगाऊँ भन्योे, लाइन मात्रै झुन्डिन्छ, बिजुली आउँदैन । मोबाइलमा ब्याट्री सिद्धिएर चार्ज गर्न लाग्योे, लाइनले नै धोका दिन्छ । यसो फुर्सदमा टिभी कार्यक्रम हेरौँ न त भन्यो, लाइनले लोप्पा खुवाइदिन्छ । काम हुँदा र आफूलाई चाहिएका बेला कहिले आउँछ र लाइन ? त्यसै भएर होला, कहिलकाहीँ झट्ट लाइन आउँदा केटाकेटीहरु खुसीले तीन बित्ता उफ्रिएर भन्छन्– लाइन आयो, लाइन आयो । के–के न आएजस्तो….। उनीहरुलाई लाइन आउँदा अनुपम खुसीयाली छाउँछ । मानौँ न, उनीहरुको रिजल्ट आयो, पास भएर चिच्याइरहेछन् । उनीहरु खुसी हुनुको मुख्य कारणचाहिँ होमवर्क गर्न, कार्टुन–सिरियल हेर्न अनि उज्यालोमा भात हर्सुन पाउनु नै हो ।
त्यसो त, लाइन आउँदा हरेक परिवारमा उमङ्ग ल्याउँछ । उज्यालोको मह¤व अँध्यारोपछि नै थाहा हुँदोरहेछ । कहिलेकाहीँ नसोचेको बेलामा अपर्झट लाइन आयो भने आमाले हत्त न पत्त खाना खान बोलाउनुहुन्छ । चाहे साँझको छ नै बजेको किन नहोस् । औसत रातिको नौ बजेसम्म खाना खाइन्छ । तर, लाइनको अन्योलले भोक नलाग्दै खानुपर्ने नियति छ । विद्युत् प्राधिकरणले सबैलाई हतारो बनाइदिएको छ । कतिपयको खाना खाने रूटिन नै बिगारिदिएको छ । रूचे पनि नरूचे पनि खानैपर्ने अवस्था र निद्रा परे पनि नपरे पनि बेलुकी नै सुत्न बाध्य बनाइदिएको छ । नेपालीको बानी त्यसै पनि अल्छी छ, लाइन नभएको निहँु पाएपछि के नै चाहियो र ?
बेला न कुबेला लाइन काटेपछि उपभोक्ताहरु विद्युत्का कर्मचारीहरुलाई सराप्न थाल्छन् । गाली सुन्दा हाँसो उठेर आउँछ । मानौँ, उनीहरुको घरमा मात्र झिलिमिली छ, अन्यत्र लोडसेडिङ गरेर कर्मचारीको घरघरमा विद्युत् आपूर्ति गरिएको छ । अर्थात्, उनीहरुको घरबाटै बिजुली उत्पादन हुन्छ । जतिबेला जोडे पनि हुन्छ, काटे पनि हुन्छ । कतिपय त विद्युत् प्राधिकरणको कार्यालयमा धर्ना दिने र तोडफोडसमेत गरेर आक्रोश पोख्छन् । कर्मचारीलाई नानाभाँती थर्काएर आफ्नो रिस मथ्थर पार्छन् । तर, लोडसेडिङ घट्नु त परै जाओस्, बढेको बढ्यै छ । सर्वसाधारणको रिसको पारो चढेको चढ्यै छ ।
यो एक्काइसौँ शताब्दीमा आएर पनि टुकी बत्तीकै सहारा खोज्नुपर्छ भने, जलस्रोतको धनी देश कहलिएर पनि अन्धकारमा बाँच्नुपर्दछ भने योभन्दा दुर्भाग्य अरु के नै हुन्छ र ? राति सुत्ने बेलामा लाइन दिएजस्तो गरेर प्राधिकरणले हामीमाथि साँच्चै अन्याय गरिरहेको छ । अझ कतिसम्म अन्याय भएको छ भने भातको गाँस मुखमा हालेका बेला झ्याप्प बत्ती काट्छ । यो जाडोमा तातोपानी खानुप¥यो भनेर इलेक्ट्रिक जगमा प्लग घुसा¥यो, प्याट्ट लाइन गैदिन्छ । कति गृहणी राइस कुकरमा भात पकाउँदा अधकल्चो भयो भनेर भुत्भुताउने गर्छन् । कुन गृहणीले हो कुन्नि, प्राधिकरण कार्यालयमा भातसहित लगेर तैँ खा यो भात भनेर फर्किन् रे ! यस्ता समस्या त घरैपिच्छे र व्यक्तिपिच्छे आइरहन्छन् । लोडसेडिङमुक्त होस् भनेर कति मतदाताले चुनावमा भोट पनि हाले । अहिले सभासद्हरु नै बिलखबन्दमा परेर गाउँ फर्किएका छन् । पशुपतिनाथकै कृपाले पनि यो देशमा लोडसेडिङ हुने संकेत देखिन्न । जनताको आक्रोश बढ्नु पनि स्वाभाविक नै हो । सहन पनि कति सहने ? कति दिनसम्म अन्धकारमा रूमल्लिरहने ?
प्राधिकरणले महसुल बुझाउन ढिलो भयो भने जरिवाना ठोकिहाल्छ । कहिलेकाहीँ त उपभोक्ताको पारो तताउन मिलिक–मिलिक पारेर मिटर मात्र बढाइदिन्छ । दिनको पाँच–सातचोटि जिस्क्याइदियो भने एक युनिटजति मिटर बढ्छ । त्यसबापतको पैसा छूट पाइँदैन । उसकै कर्मचारीले ढिलो रिडिङ गरे पनि हामीले जरिवाना तिर्नुपर्छ, नतिरे लाइन काटिहाल्छ । अनि, फेरि रिकनेक्सन चार्ज, महसुल, ३६ प्रतिशतसम्म जरिवाना तिर्नुपर्छ । बिजुली भएर पनि भर छैन, नबाले पनि धर छैन । प्राधिकरणले भ्रष्टाचार, विद्युत् चुहावट नियन्त्रण गर्न सक्दैन ।
म लगायतका सर्वसाधारणहरुको भनाइ के छ भने अब यो लोडसेडिङ किचिरकिचिर बढाउनुभन्दा चौबिसै घन्टा पु¥याए हुन्छ, ताकि हामीलाई लाइन कहिले जान्छ, कहिले आउँछ भनेर अरुसँग सोध्नु नपरोस् । लोडसेडिङ तालिका बनाएर भित्ताभरि टाँसेर भित्तै फोहोर गर्नु नपरोस् । बल्ल–बल्ल तालिका टाँस्यो, कतिबेला परिवर्तन हुन्छ पत्तो नै पाइँदैन । अनि अर्को तालिका खोज्नुपर्ने, फेरि अरुलाई सोध्नुपर्ने– हैन, आज लाइन कतिखेर आउँछ हँ ? के हाम्रो काम तालिका टाँस्ने र अरुसँग सोध्नेमात्र हो ? अहिले बाटोघाटो, यातायात, कलकारखाना, कार्यालय जहाँस्ुकै यही लोडसेडिङको चर्चा छ । चर्चा पनि राम्रो कुराको गर्न पाए पो जाती हुन्छ । सप्रिएको, सुधारिएको कुरा सुने पो मनमा उत्साह छाउँछ, सकारात्मक सोच आउँछ र तनमा पनि शान्ति छाउँछ ।
एउटा नाथे लाइन नभएर हाम्रो ‘इको–सिस्टम’ रोकिने पनि त होइन, बरू कुद्दो छ । आधुनिक युगमा पनि अन्धकारमा रूमल्लिएर बाँच्नुपर्छ भने हामीलाई यो लाइन किन चाहियो ? इन्भर्टर जोड्दा पनि बत्ती बाल्न पाइँदैन भने लाइन किन चाहियो ? हामीकहाँ जोडिएका बिजुलीका तारहरु भटाभट फुकाएर लगे हुन्छ । हाम्रा आँगनमा गाडिएका बिजुलीका पोल उखेलेर प्राधिकरणमै लगे हुन्छ । यसै अन्धकार, उसै अन्धकार– हामीलाई अन्धकारमै बस्ने बानी परेको छ । शान्ति पनि यसैमा मिलेको छ । अब २४ घन्टासम्म लाइन काटे पनि हामीलाई कुनै असर पर्नेछैन ।
नयाँ सरकार आउँछ– कि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्छन्, कि लोडसेडिङको समय बढाउँछन्, महँगी नबढ्ने कुरै भएन । हेर्दै जाऊँ, अब बिजुलीको पनि मूल्य वृद्धि हुनेछ । सुनकोसी–तामाकोसी, त्रिशूली–दमौली, चमेलिया–अत्तरिया, मस्र्याङ्दी–कुलेखानी कति हो कति ! आयोजनाको नाम गनेर साध्ये पनि छैन । बनेर साध्ये पनि छैन, भनेर साध्ये पनि छैन । तर, लोडसेडिङ बढ्दो छ । कति आयोजनाहरु अलपत्र परेका छन् । कति आयोजनाहरु खायोजना मात्र बने । नेपालीलाई भने यस्तो सास्ती छ । विद्युत् चोरी गर्नेलाई भने सधैँ मस्ती छ । जाडोमा हिटर ताप्ने, तातोपानी तताएर नुहाउने, उद्योग नै चलाउने, जेनेरेटर, सःमिल, मोटर जोड्नेहरुले जोडेकै छन् । हुकिङ गर्नेदेखि कुकिङ गर्नेसम्मले चुहावट गरेका छन् । प्राधिकरणचाहिँ लुकिङ गरेर बस्छ, कि त सुकुमबासी बस्तीबाट भाटा ओसारेर के–के न उपलब्धि भएजस्तो गरेर माइकिङ गर्छ । उसले प्राविधिक चुहावट देखाएर प्रशासनिक चुहावट गर्ने काइदाको मौका पाएको छ ।
कतिले कर्मचारीकै मिलोमतोमा मिटर बिगारेर चुहावट गरिरहेका छन् । चारतले घरमा मासिक २० युनिटमात्र विद्युत् खपत भएको रिडिङ हुन्छ । तर, एउटा घुम्तीमा बत्ती बालेको ३० युनिटबराबरको महसुल बुझाउनुपर्छ । यहाँ लुरूलुरू तिर्नेहरुलाई मात्र कानुन लाग्छ, सोझाहरुको घरमा मात्रै लाइन काटिन्छ । एक घन्टा नकाटिदिनोस्, महसुल बुझाउन जान्छु भनेर बिन्ती बिसाए पनि, जति रिसाए पनि लाइन काटिन्छ । तर उद्योग, कलकारखाना तथा ठूला फर्महरुको लाखौँ रूपैयाँ बक्यौता भए पनि लाइन काटिँदैन । बरू, अभिवादनसहित नम्र भएर ‘रिक्वेस्ट’ गरिन्छ– ‘हजुर किस्ताबन्दीमा भए पनि महसुल बुझाइदिनुस् । हजुरका लागि त्यो सुविधा उपलब्ध छ ।’
नेपालमा वार्षिक १९० मेगावाट बिजुली चुहावट हुने गरेको बताइन्छ । प्राधिकरणको कमजोर प्रसारण लाइन क्षमता तथा प्राविधिक चुहावटका ७५ प्रतिशत बिजुली खेर गैरहेको छ । प्रसारण लाइनको स्तरोन्नति, मर्मत तथा भार क्षमता बढाउने विषयमा सोच्नु त कता हो कता, लोडसेडिङ बढाएर विद्युत् चुहावट कम गर्न खोजिरहेको छ । उत्पादित विद्युत् व्यवस्थापन गर्ने योजना नबनाई आयोजना निर्माण सुरू गर्दा यस्तो समस्या देखिएको छ । निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न नहुँदा हामीले सित्तैमा लोडसेडिङ उपहारस्वरुप ग्रहण गरिरहेका छौँ । छिमेकी मुलुकको दिल्लीमा मुख्यमन्त्री केजरीवालले बिजुली र पानी जनताको आधारभूत आवश्यकता हो भन्ने जानेर सर्वसाधारणलाई बिजुलीमा ५० प्रतिशत छूट र मासिक २० हजार लिटरसम्म निःशुल्क पानी दिने कार्यक्रम लागू गरेर हाम्रा नेताहरुलाई जिस्क्याएका छन् । तर, हाम्रो देशमा लाज भन्ने शब्द नै लज्जित हुने गरेको स्थिति छ ।
हामीले त महसुल छूटको आशा सपनामा पनि गरेका छैनौँ र गर्ने पनि छैनौँ । कम से कम लोडसेडिङ आधामात्रै घटे पनि ठूलो उपलब्धि मान्ने छौँ । विद्युत् चुहावट पाँच प्रतिशतमात्रै घटाउन सके पनि लोडसेडिङ आधा कम हुने सरोकारवालाहरुको भनाइ छ । आशा गरौँ, नयाँ सरकारले लोडसेडिङ पूरै घटाउने छ । यो अन्धकारलाई हटाउने छ । जनताले गर्ने आशामात्रै हो, पूरा हुने त सपनामा पनि होइन । यो लोडसेडिङयुक्त देश हो । लोडसेडिङ हाम्रो देशको पहिचान हो । शान, मान र स्वाभिमान पनि हो । त्यसैले, मैले माथि नै उल्लेख गरेको हुँ– हामीलाई यस्तो बेमौसमी बिजुली चाहिँदैन । बरु, बिजुलीको अभाव टुकी बत्तीबाटै काम चलाउँछौँ । र, चलाइरहेकै त छौँ नि !
Discussion about this post