आचार्य लक्ष्मण भण्डारी
हामी प्रत्येक मनुष्यको जीवनको केन्द्रमा सुख छ । जताजता, जेजे गरे पनि हामीले चाहेको केवल सुख हो । हामीले जेजस्ता दस हन्डरहरु खाएका छौँ र अकल्पनीय पीडाको अनुभव गरिरहेका छौँ, ती सबै सुखकै खोजीका क्रममा भएका हुन् । वास्तवमा सुख के हो त ? किन मनुष्य सुखका लागि यति बेचैन छ ? सबैले खोजेको सुख एउटै हो त ? सबैले सुखका लागि यति धेरै दौडधूप र श्रम गरिरहँदा पनि किन अत्यन्त थोरैले मात्र वास्तविक सुखको अनुभूति गर्न सकिरहेका छन् ? सुखको खोजी गरेर पनि दुःखी हुने मानिसको सङ्ख्या किन धेरै हुन पुगेको होला ? यी प्रश्नहरु अत्यन्त विचारणीय छ । आउनुस्, यिनको उत्तर खोज्ने प्रयत्न गरौँ ।
गीताले सुखका पनि तीन विभिन्न भेद हुन्छन् भनेर भनेको छ । ती हुन् ः सा¤िवक सुख, राजसी सुख र तामसी सुख । गीताको यो दर्शनले सबैले सुख खोज्ने भए पनि सबैले खोजेको सुख भने एउटै नहुने तथ्य स्पष्ट पारेको छ । मानिसको वृत्ति, संस्कार र परिवेशबमोजिम उसको सुखको प्रकार निश्चित हुने कुरा गीताले उल्लेख गरेको छ ।
गीताले सा¤िवक सुखको लक्षण यस्तो बताएको छ ः
‘यत्तदग्रे विषमिव परिणामेऽमृतोपमम्
तत्सुखं सा¤िवकं प्रोक्तमात्मबुद्धिप्रसादजम् ।।’
अर्थात् त्यस्तो सुख सा¤िवक सुख हो, जुन प्रारम्भमा विषसमान हुन्छ भने अन्ततः अमृतसमान सुमधुर हुने गर्दछ । त्यस्तो आत्मबुद्धिलाई प्रकाशित गर्ने अर्थात् दैवी एवम् ईश्वरीय विषयलाई प्रतिनिधित्व गर्ने सुखलाई नै सा¤िवक सुख भनेर भनिन्छ ।
मनुष्यलगायत सबै प्राणीका लागि उसको जीवन सर्वाधिक प्रिय हुन्छ । संसारमा चाहे जुनसुकै वैभवहरु किन नहोऊन्, तर जीवन नै छैन भने हाम्रा लागि त्यस्ता वैभवहरुको कुनै अर्थ हुँदैन । जतिबेला आमाको गर्भबाट हामी धरतीमा आएका थियौँ, त्यतिखेर हामी मजासँग रोएका थियौँ । जीवन पाउँदा पनि हामी सुखी नभएर रोएका थियौँ । आमाको गर्भबाहिरको संसार हाम्रा लागि नितान्त नौलो थियो । बाहिरको सुन्दर संसारका लागि हाम्रो आगमनको त्यो पहिलो दिन विषतुल्य थियो, दुःखद थियो ।
हरेक कामहरुको सुरूआत सङ्घर्षबाटै हुने गर्दछ । आकाशमा रकेट प्रक्षेपण गर्दा पनि विस्फोटबाट गरिन्छ । नयाँ घर बनाउनुपर्दा जग हाल्ने, सामग्रीहरु तयार पार्ने काम निकै जटिल र दुःखदायी हुने गर्दछ । सगरमाथा चढ्नेहरु कति पटक असफल भएर सफल भएका हुन्छन् । हामीले काम गर्दा पनि सबै कामहरु एकाएक पूरा हुँदैनन् । एउटा सफल कामका लागि थुप्रै असफल काम र प्रयत्नहरुको ठूलो हात रहेको हुन्छ ।
हामीले चाहेको सुख जसलाई सा¤िवक सुख भनिन्छ, त्यस्तो सुख सुरूमा निकै दुःखदायी हुन्छ, तर परिणाममा भने सुखदायी हुन्छ । स¤व भनेको सत्यको अर्काे नाम हो । सत्य जहिले पनि शाश्वत् र सनातन हुन्छ । मूल्य, आदर्श, अध्यात्म र परमेश्वरसँग सम्बन्धित सुखलाई सा¤िवक सुख भनेर भनिएको छ । जुन सुखले हामीलाई फेरि दुःखमा लैजाँदैन, त्यस्तो किसिमको सुख नै सा¤िवक सुख हो । गीतामा भजन, ध्यान, सेवालाई अवलम्बन गरेर मात्रै सा¤िवक सुख प्राप्त हुन्छ भनेर भनिएको छ । जब हामी ध्यान गर्दै जान्छौँ, अनि विभिन्न किसिमका अनुभूतिहरु हुँदै जान्छन् । ध्यानको गहिराइमा पुगेपछि हामीले सोच्दै नसोचेका र देख्दै नदेखेका अनेक आश्चर्यहरुबारे थाहा पाउन सुरू गर्दछौँ । यही ध्यान अर्थात् आत्मसाक्षात्कारका माध्यमले नै सिद्धार्थ गौतम बुद्धमा रुपान्तरित भएका थिए ।
जब व्यक्ति भित्रैदेखि जागृत बन्दछ, त्यसपछि उसले कतै पनि दुःख नदेख्ने योग्यता प्राप्त गर्दछ । सम्बुद्ध पुरूषहरुका लागि सुख र दुःखका दुई भेदहरु नै हुँदैनन् । दुःख र सुखको विभाजनबाट उनीहरु मुक्त भएका हुन्छन् । त्यसैले, हरेक अवस्थाहरु उनीहरुका लागि सुखपूर्ण हुन्छन्, आनन्ददायी हुन्छन् ।
भजन भनेको बारम्बारको उच्चारण र चिन्तनको विधि हो । हामीले भगवान्को नाम निरन्तर लिनुको अर्थ सत्य र अनुशासनको नाम बारम्बार लिनु हो । सत्यको बारम्बारको स्मरणले हामीभित्र पनि देवत्व र सत्यता विकसित भएर जान्छ । तर, ध्यान र भजन गर्ने कुरा आममानिसका लागि निकै अप्ठ्यारो कुरा हो ।
व्यक्तिले अरु सबै कुरा स्वीकार्न सक्ला, तर भगवान्को अस्तित्व स्वीकार्न सक्दैन । भित्रभित्र भने पनि बाहिर अरुले गिज्याउँछन् कि भनेर पनि भगवान् भन्ने शब्दप्रति उपहार व्यक्त गर्दछ । भगवान्को नाम लिने कुरा अथवा सत्यमा आधारित व्यवहार गर्ने कुरा अधिकांश मानिसका लागि विषतुल्य देखिन्छ । सुरूमा मानिसले सजिलै कुनै पनि ठीक कुरा गर्ने हिम्मत गर्दैन । सत्यको साथ ग्रहण गर्ने कुरा उसका लागि फलामको चिउरा चपाएजस्तै हुन्छ, तर जब उसले सत्यसँगको यात्रा आरम्भ गरेको छ भने उसको जीवन सुखमय हुँदैछ भन्ने कुरा बुझ्न कत्ति गाह्रो पर्दैन ।
सत्यको बाटो हिँड्न सजिलो छैन । पाण्डवहरु सत्यकै अनुयायी बन्दा जङ्गल लखेटिनुप¥यो । राम सत्यकै पक्षपाती बन्दा वनबासी बन्नुप¥यो । यस्ता थुप्रै दृष्टान्तहरु छन्, जो सत्यका पछाडि लाग्दा अनेक दुःख र कष्टका अधिकारी बन्नु परेको छ, तर अन्तिममा भने सत्यकै जित भएको छ र आनन्दको वर्षा भएको छ । गीताले सा¤िवक सुखका बारेमा भनेको कुरा निकै घतलाग्दो छ । जुन सुख सुरूमा विषजस्तो तीतो हुन्छ र अन्तिममा अमृतसमान सुमधुर हुन्छ, त्यही सुख सा¤िवक सुख हो ।
सा¤िवक सुख भौतिक विषयसँग भन्दा पनि चेतनाको विषयसँग सम्बन्धित सुख हो । शरीरगत सुख क्षणिक हुन्छ, तर मानसिक सुख नै वास्तविक सुख हो । सा¤िवक सुख मानसिक सुखसँग नजिक देखिन्छ । प्रज्ञा, बोध, जागरणका, भगवन्नाम चिन्तन, सत्यसँगको साहचर्य आदि आदि सा¤िवक सुखका आधारहरु हुन् ।
जुन सुख भोगका समयमा अमृतसमान हुन्छ तर परिणाममा विषसमान हुन्छ, त्यस सुखलाई राजसी सुख भनेर गीतामा भनिएको छ ः
‘विषयेन्द्रियसंयोगाद्यत्तदगे्रऽमृतोपमम्
परिणामे विषमिव तत्सुखं राजसं स्मृतम् ।’
अर्थात् विषयवस्तु र इन्द्रिय आदिको संयोगबाट उत्पन्न हुने जुन सुख छ, त्यो सुख भोगका समयमा अमृततुल्य अनुभूति गरिए पनि अन्ततः त्यो विषसमान हुने गर्दछ । यस्तो किसिमको सुरूमा अमृतजस्तो हुने तर परिणाममा विषजस्तो भएर देखा पर्ने सुखलाई राजसी सुख भनेर भनिँदोरहेछ । भोजनबाट प्राप्त हुने सुख, यौनक्रियाका क्रममा प्राप्त हुने सुख वा अन्य भोगविलासका क्रममा उत्पन्न हुने सुख, यी कुनै पनि स्थायी हुँदैन ।
आज मानिस यौनकार्यका लागि सबैभन्दा उत्सुक देखिन्छ । यौनसम्पर्कबाट प्राप्त हुने आनन्दले हामीलाई आनन्द त दिन्छ, तर सँगसँगै पीडा पनि छोडेर गएको हुन्छ । एलोपेथी औषधिले साइड–इफेक्ट भएजस्तै यौन समागमसँगै मानिसले अन्य रोग र पीडाहरुका लागि पनि बीजारोपण गरिरहेको हुन्छ ।
इन्द्रियको संयोगबाट हुने सुख इन्द्रियको वियोग हुनासाथ समाप्त भएर जान्छ । विभिन्न सुस्वादिष्ट भोजन गर्दा पनि हामीले सुखको अनुभूति गर्ने गर्दछौँ, तर हामी कहिल्यै पनि ती स्वादिष्ट भोजनको स्वादबाट मुक्त हुन सकेनौँ । यौनक्रियाकलापमा मान्छे जति फस्दै जान्छ, उतिउति ऊ पीडाको खाडलमा पर्दै जान्छ । अवैध यौनधन्दामा लिप्त पुरूष र स्त्रीहरु मर्नेबेलामा पनि त्यस्तो संस्कारबाट मुक्त हुन सक्दैनन् ।
राजसी सुख यस्तै हो ः कहिल्यै पनि भोगेर नसकिने, सधैँ भोगिरहन मन लाग्ने । सुरूमा अमृतजस्तो तर अन्तिममा विषजस्तो । राजसी सुखको पछाडि लागेको मान्छे सधैँ विषय र इन्द्रियको संयोगबाट प्राप्त हुने सुखका लागि अन्धो भएर लागेको हुन्छ । यसरी हेर्दा राजसी सुखका अनुयायीहरु बहिर्मुखी हुन्छन्, क्षणिक र तात्कालिक हुन्छन् । उनीहरुबाट कसैको पनि भलाइ होला भनेर सोच्नु बेकार हुन्छ । उनीहरुको मनमा त केवल ‘आज कोसँग सुखभोग गर्ने होला ?’ भन्ने चिन्तनसिवाय दोस्रो केही हुँदैन ।
जुन सुखले जहिले पनि हामीलाई मोहित पारिरहन्छ र भ्रमित तुल्याइरहन्छ, त्यस्तो सुखलाई गीतामा तामसी सुख भनेर भनिएको छ ः
‘यदग्रे चानुबन्धे च सुखं मोहनमात्मनः
निद्रालस्यप्रमादोत्थं तत्तामसपुदाहृतम् ।’
अर्थात् भोग्ने बेलामा पनि र भोगिसकेपछि पनि आत्मालाई मोहित गरिरहन्छ, त्यस्तो किसिमको निद्रा, आलस्य र प्रमादका कारण उत्पन्न सुखलाई तामस सुख भनिन्छ । तामस सुख सबैभन्दा निकृष्टतम सुख हो । यो आलस्यसँग सम्बन्धित हुन्छ ।
आलस्यलाई पनि आनन्द ठान्ने मानिसहरु तामसी हुन्छन् । बिहान लामो समयसम्म सुत्न मन पराउने, काम गर्न मन नगर्ने, जतिखेर पनि पल्टिरहन खोज्ने, कामलाई भरे र भोलि भनेर बारम्बार टारिरहने मानिस जीवनमा कहिल्यै प्रसन्न हुन सक्दैन । उसले ठीक–बेठीक पनि थाहा पाउन सक्दैन । तामस गुण अशिक्षा र अन्धकारको गुण हो । अशिक्षाका कारणले हामी ठीकलाई पनि बेठीक र बेठीकलाई पनि ठीकजस्तो देख्ने गर्दछौँ ।
अँध्यारोमा कहिलेकाहीँ सर्पलाई डोरी र डोरीलाई सर्प देखेर हामी झुक्किन्छौँ । उज्यालोको अभावमा नै हामीले डोरीलाई सर्प देख्ने गर्दछौँ । जब उज्यालो हुन्छ, त्यसपछि सबै प्रस्ट भएर जान्छ । अँध्यारोमा रुखको ठूटो पनि भूतजस्तो देखिन्छ । हाम्रा भूतहरु सबै हाम्रो तामसका परिणामसिवाय केही होइनन्, अन्धकार र अशिक्षासिवाय केही होइनन् । सधैँभरि हामीले भ्रमहरुलाई पनि सत्य र सत्यलाई पनि भ्रम ठानिरहन बाध्य हुन्छौँ, तामस सुखका पछि लाग्दा । तामस सुख निद्रा, तन्द्रा, प्रमाद र आलस्यका कारण पैदा हुने हुनाले यसले हामीलाई विभिन्न सफलता र सिद्धिहरुबाट समेत वञ्चित गरिरहेको हुन्छ ।
यस प्रकार, सुखका प्रकारहरुबारे गीताले बताएको छ । हामीले कस्तो सुख खोज्ने हो, त्यसका लागि हामी स्वयम्ले निर्णय गर्नु जरूरी छ । सुरूमा विषजस्तो तर परिणाममा अमृतसमान सुख खोज्ने कि सुरूमा अमृतसमान तर अन्ततः विषजस्तो सुख रोज्ने ? कि हामीलाई सधैँ भ्रमित र सन्दिग्ध तुल्याउने सुख रोज्ने ?
हामी मनुष्य भएका नाताले सा¤िवक सुख नै हाम्रो गन्तव्य बन्नुपर्दछ । सा¤िवक सुख पूर्णतः प्राकृतिक र स्वाभाविक सुख हो । हामी उकालोको यात्रा गर्दै छौँ भने जटिल उकालो पार गरिसकेपछि मात्र शीतल चौतारीमा विश्रामको अवसर प्राप्त गर्दछौँ । लामो उकालो पार गरेपछि मात्र हामीले शीतलताको अनुभूति गर्दछौँ । जीवन भनेकै सङ्घर्षबाट शान्तितिरको यात्रा हो, अप्ठ्यारोबाट सहजतातिरको यात्रा हो ।
यसैले आउनुस्, आरम्भमा जतिसुकै पीडादायी भए पनि अन्ततः आनन्दमा विश्राम गर्न पाइने सुखका लागि सोचौँ । पहिले दुःख अनि बल्ल सुख भन्ने दर्शनका हामी सबै परिचित छौँ । त्यसैले, सुरूमा सुखी भएर पछि दुःखी हुनुभन्दा वा जीवनभर दुःखी भएर बाँच्नुभन्दा सुरूमा दुःख गरेर अन्तिममा सुखका साथ जीवनलाई धन्य तुल्याउने सा¤िवक सुख नै हाम्रो वास्तविक सुख हो भन्ने सत्यबोध गरौँ ।
Discussion about this post