सुरेन्द्र अस्तफल
नयनराज पाण्डेको नवीनतम उपन्यासका रुपमा ‘घामकिरी’, जूनकिरी बनेर नेपाली उपन्यासमा देखा परेको छ । ‘लु’, ‘उलार’ र ‘चकलेट’जस्ता आख्यान नेपाली साहित्यमा दिइसकेर स्थापित बनिसकेका पाण्डेलाई ‘घामकिरी’ले अझ उज्यालिदिएकोे छ । लगभग तीन सय पृष्ठ भएको ‘घामकिरी’ रूमानीपरक स्वैरकाल्पनिक उपन्यास हो । यद्यपि, यस उपन्यासमा उपन्यासकारले सामाजिकताका अन्तस्थललाई राम्ररी स्पर्श गरेका छन् । यसको मूल स्वर स्वैरकाल्पनिकता भए पनि सामाजिक यथार्थका विविध स्वरुपहरुलाई पाण्डेले न्यायपूर्ण तरिकाले प्रस्तुत गरेका छन् ।
कलममा मसी सकिए पनि प्रेममा कहिल्यै मसी सकिँदैन भन्ने उपन्यासकारको मूल आदर्श वाक्य रहेको यस उपन्यासको सुरूवात योगमाया र घामकिरीको प्रसङ्गबाट गरिएको छ । समाख्यानात्मक एवम् प्रथम पुरूषात्मक शैलीमा उपन्यास अगाडि बढेको छ । पहिलो प्रेममा असफल भएपछि उत्पन्न चरम निराशा, अभिभावकप्रतिको वितृष्णा र जीवनप्रतिको वैराग्यलाई जिपर नभएको मनको झोलामा कैद गर्ने म पात्र अर्थात्, उपन्यासकार अघोरी बाबाको अपहरणपश्चात् घना जङ्गलमा पुग्छन् ।
अघोरी बाबाले राजा भर्तृहरिले प्राप्त गरेको नरिवलजस्तै देखिने जटावाल फल, रानी पिङ्गलासँगको सहवास, सइस र रानीको गोप्य यौन क्रियाकलाप, सइस र रसमञ्जरीको कामवासना आदिलाई प्रस्तुत गर्छन् । आदिम पुरूष एडम र महिला इभले इडेनका खाँदाखाँदै छाडेको फल कसरी राजा भर्तृहरि, पिङ्गला, सइस, रसमञ्जरी हुँदै पुनः भर्तृहरिकहाँ पुग्यो र त्यो फल कसरी आफूसम्म आइपुगेको हो भन्ने सविस्तार वर्णन बाबाले गर्छन् । उक्त फल खाएमा वीर्यवृद्धि हुने, कामेच्छा प्राप्त हुने, हजारौँ सुन्दरीहरुलाई भोग गर्न सकिने कुरा सुनाएर अघोरी एकाएक लोप हुन्छन् । म पात्रले त्यो फल खानासाथ उसको जीवनप्रतिको सोचाइ एक सय असी डिग्रीमा परिवर्तन हुन्छ । सपना र तन्द्रावस्थामा सेवन गरिएको मायावी फलले म पात्रलाई दोस्रो प्रेमतर्फ आकर्पित गर्छ । ऊ रङ्गीन संसारमा एकाएक प्रवेश गर्छ ।
सन् १९४२ को मायावी संसारमा म पात्र मेटालिकाका आक्रामक धुन, एग्नेथा र फिडाका युगल आवाज, माइकल ज्याक्सन र जोन लेननको सङ्गीतबाट प्रभावित हुन्छ । आफ्नो प्रेमलाई सफलतामा पु¥याउन महा–चिन–द्रुम नामक रुखको खोजी गरी त्यसमा मुम्बईको पाली हिलमा बस्ने पद्मिनीको नाम लेख्छन् । यहीँबाट उपन्यासकारको रूमानी अर्थात् स्वैरकाल्पनिक प्रेम सुरूवात हुन्छ ।
बम्बईभन्दा चार सय किलोमिटर टाढाको कोल्हापुर भन्ने सहरमा जन्मिएकी, सन् १९८० को दशकमा हिन्दी रजतपटमा तहल्का मच्चाएकी पद्मिनी कोल्हापुरेप्रतिको अनुराग, आशक्ति र प्राप्तिका लागि म पात्रले गरेका कृत्यहरु यस उपन्यासको मूल अन्तर्वस्तु हो ।
उपन्यासकार पाण्डेले मूल कथा पद्मिनीको कथासँगै सलिमको कथा, काक भुसुन्डीको कथा, बीपी कोइरालाको नेपालगञ्जको भाषण, सरलासँग भएको आफ्नो पहिलो प्रेमको बयान, वशीकरण मन्त्र सिकेर उनलाई आकर्षित गर्न खोजेको प्रसङ्ग, लेखेको प्रेमपत्र र अन्ततः बुबाले भताभुङ्ग बनाइदिएको आफ्नो पहिलो प्रेमलाई प्रस्तुत गरेका छन् ।
उपन्यासकारले पद्मिनीको चर्चासँगै कालिदासको कुमारसम्भवको आठौँ सर्गको रचना तथा नाइजेरियामा कर्कलो खेती फस्टाउनुका रहस्यहरुलाई प्रस्तुत गरेका छन् । पद्मिनी नेपालगञ्ज आएको प्रसङ्ग, प्रेमरोगको सुटिङ, वागेश्वरी मन्दिरमा पद्मिनीसँगै गरिएको पूजा, त्यसपछि म पात्रले पद्मिनीसँगका वार्र्तालाप, चुम्बन कला, पद्मिनीको फिलिम सुटिङका प्रसङ्गलाई रोचक तरिकाले देखाइएको छ ।
म पात्रको चाहना कलाकार बन्ने थियो, तर उसका बाबुको चाहना भने छोरो कि डाक्टर कि इन्जिनियर बनोस् भन्ने थियो । उसले आफ्नो अपहरणको योजना बनाएर राधे भैयासँग पाँच हजार मागेर बम्बई भाग्ने उसको सपना पूरा नभएपछि बुबाले धान, गहुँ बेच्ने गरेका भगौती लालसँग आमा बिरामी भएको बहाना बनाएर पन्ध्र सय रूपियाँ ऊ फुत्काउन सफल हुन्छ । सलिमसँग भागेर बम्बई जाने पद्मिनीलाई भेट्ने, लक्स साबुनले नुहाउने, दूध हालेको बर्नभिटा खाने र लिम्का पिउने उसको सपना अगाडि बढ्छ । सलिम नआए पनि उसको यात्रा अगाडि बढ्छ । उसले लखनउमा पद्मिनीसँग भूलभुलैयामा समय व्यतीत गरेको सम्झन्छ, त्यसपछि दिल्ली पुग्दछ । दिल्लीमा पुगेपछि पद्मिनीसँग ताजमहल घुमेको रोमाञ्चक दृश्य देख्छ । राजु गाइडको चिठी बोकेर उसको भाइ राजेश गोस्वामीलाई दिने र बम्बई पुग्ने क्रमसँगै उपन्यासको प्रथम खण्ड समाप्त हुन्छ ।
दोस्रो खण्ड ‘प्रेमपत्रका हवाईजहाजहरु’ शीर्षकमा रहेको छ । उपन्यासको मूल कथावस्तु यसैभित्र समेटिएको छ । बम्बई पुगेपछि म पात्र राजेश गोस्वामीको झुपडपट्टीमा पुग्छ । मायावी सहर बम्बईमा ऊ राजीवकै पेइङ गेस्ट भएर बस्छ । उसको लक्ष्य पद्मिनीलाई भेट्नु रहेको छ । उपन्यासकारले यसै खण्डमा सीमान्त वर्गका पीडा र दुःखलाई अत्यन्त कारूणिकताका साथ प्रस्तुत गरेका छन् । राजीव, जगतबहादुर, कैलाश आदिका दीनहीन अवस्था, मुकुल र स्नेहाको प्रेम, उद्धव र मनोरमाको प्रेमको विघटन, पावभाजीको ठेला लगाउने सपना, मुजफ्फर र नफिसाको अधुरो प्रेमकहानी आदिलाई कलात्मकताका साथ प्रस्तुत गरेका छन् । यहाँ बम्बई नगरको सामाजिक यथार्थलाई उपन्यासकारले नजिकबाट नियालेका छन् । यही झुपडपट्टीमा उसका रोहित, टिङ्कुजस्ता साथीहरु बन्छन् । ऊ तिनै साथीहरुसँग पाली हिलमा जान्छ । रोहितले उसलाई हिन्दी सिनेमाका सेलेब्रेटीहरुका बंगला चिनाइदिन्छ । उसले चारु र रोहितको दुःखद् प्रेमकहानी सुन्छ ।
उसको लक्ष्य जसरी भए पनि पद्मिनीलाई भेट्ने हुन्छ । उसको कुरा सुनेर उसलाई कतिपयले पागल पनि भन्छन् । ऊ अब बम्बई पुगेको छ । जसरी भए पनि पद्मिनीलाई भेट्ने उसको अन्तिम इच्छा छ । पद्मिनीलाई भेट्न पाली हिल पुगेको म पात्र पुलिसबाट कुटिन्छ । त्यहाँ ऊजस्ता पद्मिनीका धेरै फ्यानहरु हुन्छन्, जो उनलाई प्रेमिका ठान्छन् र उनीसँग प्रेमालाप गर्न चाहन्छन् । पद्मिनीलाई भेट्न नपाएपछि अन्त्यमा आफूले नेपालगञ्जमा पाँच रूपियाँमा किनेको लकेट, जसमा एकातिर पद्मिनी र अर्काेतिर उसको फोटो भएको हुन्छ, त्यसलाई पद्मिनीको गेटभित्र फाल्दा गेटमा अल्झिन्छ । त्यसपछि उसले पद्मिनीलाई लेखेका प्रेमपत्रहरु त्यही कम्पाउन्डभित्र फालेर, हवाईजहाजझैँ उडाउँछ । उसले जीवनको वास्तविकताको बोध गर्छ र अन्ततः घर फर्कने निर्णयमा पुग्छ ।
यस उपन्यासको तृतीय खण्डको नाम ‘सपना सफारी’ रहेको छ । राजीव गोस्वामीबाट रू. सय लिएर अनिश्चयका साथ दिल्ली फर्किरहेको उसले अझ सास्ती र ठक्कर बेहोर्छ । ऊ त्यहाँ समलिङ्गीहरुको फेला पर्छ । आफूलाई बम्बईमा सहयोग गर्ने राजीवको भाइ राजु गाइडको गरिबी देखेपछि ऊ दड्ग पर्छ । दिदीको घरबार जोगाउनका लागि रू. २०,००० मा आफ्नो किड्नी बेच्ने राजीव आखिर त्यही कारणले मरेको देखाइनुले सीमान्त गरिबीलाई पुष्टि गरेको छ ।
उपन्यासकारले अन्त्यमा राजु कोहार र पद्मिनीको प्रसङ्गलाई जोडेका छन् । मनशालामा बस्ने पद्मिनी र नुनु गाउँमा बस्ने राजुको प्रेमसम्बन्धलाई देवनील भन्ने राजाको आज्ञाअनुसार रूकुसुको तान्त्रिक प्रभावले समाप्त पारेको कथा प्रस्तुत गरिएको छ । उनीहरुको मृत्यु गरल अर्थात् विषबाट भएकोले मनशालाको नाम गरलमान्डुमा परिवर्तन भएको कुरा प्रस्तुत गरेका छन् । रुपैडियामा अचानक पद्मिनीसँग भेट भएको, आफूलाई बम्बई भेट्न नआएकोमा पद्मिनीसँग म पात्र अनायास दुःख व्यक्त गर्छ । पद्मिनीले उसलाई तिमी भ्रममा छौँ, सपनाको यो मायाबाट मुक्त होऊ भनेर उसको पानको पात आकारको लकेट फिर्ता दिन्छिन् । आफ्ना आँखाहरुलाई रेवन ग्लासले प्रायोजन गरेको, आवाजलाई फिलिप्स म्युजिक सिस्टमले खरिद गरेको, शरीर आइरिस बटरले प्रायोजित गरेको, हत्केला लिमोजिन कारको स्टेरिङमा अनुबन्धित भएको र ऊजस्ता मान्छेहरुलाई सपना÷बिपनामा हस्तक्षेप गर्नसक्ने, तर प्रेम गर्न नसक्नेजस्ता कुरा पद्मिनीबाट सुनेपछि ऊ जिल्लिन्छ अनि वास्तविकताको धरातलमा उत्रन्छ ।
यस उपन्यासको मूल पात्रको सोचाइ काल्पनिक रुपमा प्रस्तुत भएका छन् । पाठकलाई वास्तविक रुपमा कथा अगाडि बढेको छ कि काल्पनिक रुपमा, छुट्याउन गाह्रो छ । म पात्र र पद्मिनीका वार्तालापहरु आमने–सामने भएर गरिएका जस्ता देखिन्छन्, तर कतै पनि त्यस्तो अवस्था देखिँदैन । ऊ पद्मिनीलाई नभेटीकन र नदेखीकन नै फर्कन्छ । टिभी च्यानलमा देखिने, होर्डिङ बोर्डहरुमा भेटिने पद्मिनीलाई ऊ बम्बई पुगेर पनि भेट्न सक्दैन । उसले जतिजति ठाउँठाउँमा पद्मिनीसँग संवाद गरेको छ, तर सबै उसको अन्तश्चेतनामा रहेको पद्मिनीप्रतिको आकर्षणमात्र हो । स्वैरकाल्पनिकताको कारण यस उपन्यासले पाठकलाई प्रशस्त ठाउँमा समस्यामा पार्छ ।
‘घामकिरी’मा प्रशस्त मात्रामा जीवन भोगाइका बिम्बहरु आएका छन् । सलिमको जीवन स्वयं एउटा गरिबीको पहाड बनेर उभिएको छ । चन्द्रले इन्दिरालाई पाउन महा–चिन–द्रुम वृक्षको खोजी गर्दा सर्पले टोकेर मर्नु, सरक्रिकमा मछुवारीको एक चिहान हुनु, राजेश गोस्वामीले दिदीको घरबार जोगाउन किड्नी बेच्नु, सबै–सबै सीमान्तीय गरिबीका पीडाबाहेक अरु केही पनि होइनन् । मायावी नगर बम्बई, सपना सजाउन जाने जगत्बहादुर, कैलाशको गरिबी, रोहित र चारुको जीवनावस्थाका चित्रण अत्यन्तै कारूणिकताका साथ उपन्यासकारले प्रस्तुत गरेका छन् । त्यसै पाली हिलको सम्पन्नता पनि आखिर बम्बई सहरको अर्काे यथार्थता पनि हो ।
नेपालगञ्जबाट सुरू भएको यस उपन्यासको परिवेश लखनउ, दिल्ली, आगरा र बम्बई हुँदै नेपालगञ्जमा आएर समाप्त भएको छ । उपन्यासकारले म पात्रको माध्यमबाट रूमानी प्रेम र सहायक पात्रहरुको माध्यमबाट सामाजिक यथार्थको चित्रण गरेका छन् । स्वैरकाल्पनिकताको गर्भमा सामाजिकताका लाभाहरु उपन्यासमा प्रशस्त भेटिन्छन् ।
Discussion about this post