नारायणगढ । आर्थिक अभावका कारण उपचार गर्न नसकेर थला परेकी चितवनको पहाडी गाविस सिद्धि–९ छेरवाङकी धनमाया चेपाङले थलिएको १५ वर्षपछि उपचार पाएकी छन् । २८ वर्षीय धनमाया कम्मरभन्दा तलका कुनै पनि अंग नचल्ने भएर ओछ्यानमै थलिएकी थिइन् ।
तीन सन्तानकी आमासमेत रहेकी धनमाया उपचार खर्चको अभावसँगै अस्पतालको पहुँच नभएका कारण लामो समयसम्म ओछ्यानमै थलिन बाध्य भएकी थिइन् । लामो समयदेखि थलिएकी धनमायाको दयनीय अवस्थाको बारेमा चेपाङको उत्थानमा क्रियाशील संस्था गामवेसी चेपाङ संरक्षण केन्द्रले थाहा पाएपछि उपचारको लागि निरन्तर पहल गरिरहेको थियो । संरक्षण केन्द्रले सामाजिक सेवामा निरन्तर काम गर्दै आइरहेको सपना भिलेज सोसियल इम्प्याक्टलाई आग्रह गरेपछि धनमायामा उपचार सम्भव भएको हो ।
धनमायाको पहिलो चरणको उपचारअन्तर्गत सपना भिलेज सोसियल इम्प्याक्टसँग आबद्ध विदेशी डाक्टरहरु कार्लिङ र आनाले उनको स्वास्थ्य परीक्षण गरेका छन् । गम्भीर प्रकारको रोगी धनमायाको उपचारको लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा थप उपचारको लागि रिफर गरिएको सोसियल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । धनमायाको उपचारमा लाग्ने सम्पूर्ण खर्च सोसियल इम्प्याक्टले नै बेहोर्ने उहाँले जानकारी दिनुभयो ।
संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले लामो समयको प्रयत्नपछि धनमायाको उपचार सम्भव भएको र यसरी उपचार नपाएर थलिएका चेपाङहरुलाई संरक्षण केन्द्रको अभियानमा ल्याएर उपचार गर्ने उद्देश्य रहेको बताउनुभयो । उहाँले धनमायाको उपचारको लागि सहयोग गरेको सोसियल इम्प्याक्टप्रति आभारसमेत प्रकट गर्नुभयो ।
Discussion about this post