देवघाट । पवित्र धार्मिक क्षेत्र देवघाटमा हरेक वर्ष माघे संक्रातिका अवसरमा लाग्ने देवघाट मेला यस वर्ष पनि सुरु भएको छ । आज वुधवार परेको माघेसंक्रातिका दिन देवघाटको वेणीमा स्नान गर्न लाखौँ स्वदेशी तथा विदेशी भक्तजन आउने गर्छन् । माघेसंक्राति मेलाको एक कार्यक्रमबीच वेणीमा ओमकार अंकित बाँसको लिङ्गो गाडेर उद्घाटन गरिएको छ । गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मनन्द गिरी र हरिहर सन्यास आश्रमका पिठाधीश १००८ स्वामी ज्ञाननन्द सरस्वतीले संयुक्त रुपमा मेलाको उदघाटन गर्नुभएको हो ।
मेलाको उद्घाटन गर्नुअघि बाजा गाजासहितको भजनमण्डल टोलीले गलेश्वर आश्रमबाट बाँसको लिङ्गो वेणीसम्म लगेका थिए । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकरसंक्राति पनि भन्ने गरिन्छ । यस अवसरमा स्नान, दान र पूजाअर्चना गरिए मनोकांक्षा पूरा हुने विश्वास सर्वसाधारणमा छ ।
देवघाटमा भक्तजनको संख्यालाई मध्येनजर गरेर सहज बनाउने उद्देश्यले नारायणी नदी वारपारका लागि डुंगाको व्यवस्था मिलाइएको छ । झोलुंगे पुलमा एकोहोरो आवतजावतको व्यवस्था गरिनुका साथै रामनगरवाट देवघाट भित्रिने र आँपटारी हुँदै फर्कने गरी सवारी साधनको एकोहोरो व्यवस्था मिलाइएको छ ।
बेणीमा स्नान गर्नका लागि सहज गराउनका लागि बाँसको लिंगो गाडिएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक जयकृष्ण शर्माले देवघाट स्नान गर्न आउने भक्तजनको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न विशेष सर्तकता अपनाइएको बताए । ‘मेलालाई व्यवस्थित गराउनका लागि आवश्यकताअनुसार स्वयंसेवक परिचालन गरिएको छ’, उनले थपे, ‘सुरक्षाकर्मी पनि गतवर्ष भन्दा बढाएर डेढ सयभन्दा बढी परिचालन भएको अवस्था छ ।’
राति र बिहान स्नान गर्न आउनेका लागि ठाउँठाउँमा ध्वनिको व्यवस्था मिलाइएको छ । देवघाट मेलाका अवसरमा लक्ष्य हवन लगायतका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् । मेला सुभारम्भको भएसँगै देवघाटमा स्नान गर्न आउनेहरुको संख्या पनि बढ्दै गएको छ । मंगलबार दिउँसो देवघाटमा भेटिनु भएका अख्तियार दुरुपयोय अनुसन्धान आयोगका पूर्वसचिव भगवतीकुमार काफ्ले माघेसंक्रातिका दिन स्नान गर्न देवघाट आएको बताए ।
‘देवघाटको आफ्नै महत्व छ’, उनले थपे, ‘म मिले र भ्याएसम्म मकर संक्राति देवघाटमै स्नान गर्न आउने गर्छु ।’ परिवारसहित आएका काफ्लेले देवघाटको मह¤व अझै सर्वसाधारणमा बुझाउन नसकिएको बताए ।
उनीसँगै भेटिएका नेपाल सरकारमा उपसचिववाट निवृत्त भएका धनेन्द्र कार्की पनि त्रिशुली र कालिगण्डकीको संगमको आफ्नै महत्व रहेको बताउँछन् । ‘यो (देवघाट) तीर्थस्थल भारतीय तीर्थ स्थलहरुभन्दा उत्कृष्ट छ’, उनले थपे, ‘मेरो बुवाले पनि देवघाटमा आएर वर्षौअघि मन्दिर बनाउनुभएको थियो । मलाई पनि त्यसले भावनात्मक रुपमै तानिरहेको थियो ।’
गलेश्वर आश्रमका पिठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीले पनि देवघाट र मकर संक्रातिको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक मह¤व रहेको बताए ।
‘सूर्य दक्षिणबाट उत्तर जाने भएकाले पनि मकर संक्रातिको धेरै महत्व छ’, उनले भने, ‘यो दिन देवताहरु समेत देवघाटमा स्नान गर्न आउँछन् भन्ने धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।’
माघेसंक्रातिका अवसरमा आफना घरमा तिलको लड्डु, तरुल, घिऊ, चाकु, खिचडी, फुरौला, सेलरोटीआदि परिकार बनाएर खाने खुवाउने र मान्यजनबाट टाउकोमा तेल लगाउने गरिन्छ ।
Discussion about this post