भरतपुर । माछा पाल्न सुरू गर्दा भूरा (माछाका बच्चा) खोज्न धेरै ठाउँ चाहर्नु पर्दैन । हजारौं कुखुराका चल्ला पनि एकै ठाउँ भेटिन्छन् । दुई चारवटा राम्रा बाख्रा पाल्ने योजना बनाउनु भयो भने धेरै ठाउँ डुल्नु पर्ने हुन्छ । यस्तो समस्या भोगेका रविकिरण पौडेल आफँैले बाख्रापालन सुरू गरेका छन् । जसलाई राम्रा पाठा–पाठी पनि पाइने नमुना स्रोत केन्द्र बनाउने उनको योजना छ ।
सामाजिक संघसंस्थामा सक्रिय पौडेलले ३५ लाख रूपैयाँ लगानी गरेर बाख्रापालन सुरू गरेका छन् । आधुनिक खोर बनाएर बाख्रा पालेका उनले यसका लागि भरतपुरमा रहेको घडेरी बिक्री गरेका छन् । टिनको छानो भएको पिल्लर उठाएर बनाएको खोर दुई तले छ । माथिल्लो तलामा बाख्रा छन् । तल्लो तला खुला छ ।
खोरभित्रै पानी र बिजुलीको सुविधा छ । साना पाठा–पाठी, गर्भिणी माउ र हुर्केका बाख्रा खसी राख्ने छुट्टाछुट्टै खण्ड छन् । पश्चिम चितवनको जगतपुर गाविस वडा नं. ८ धम्पुसेमा रहेको उनको प्रकृति बाख्रा स्रोत केन्द्र बाहिरबाट हेर्दा मान्छे बस्ने चिटिक्कको घरजस्तै देखिन्छ । ‘बाख्राको खोरका लागि मात्रै १२ लाख रूपैयाँ खर्च भएको छ’ पौडेलले भने ।
बाख्रा पाल्ने निधो गरेर उनले गत वर्ष धम्पुसेमा १० कठ्ठा जमिन किनेका हुन् । त्यसपछि भरतपुरमा रहेको घडेरी १५ लाख रूपैयाँमा बेचेर खोर बनाए । ‘यसले पनि नपुग्ने देखेपछि राष्ट्रिय वाणिज्य बैंक नारायणगढबाट २५ लाख रूपैयाँ ऋण झिकेको छु’ पौडेलले जानकारी गराए । लगानीअनुरूपको प्रतिफल आउने सम्भावना देखेपछि उनले यो काम सुरू गरेका हुन् ।
‘आधुनिक खोरमा बाख्रा पाल्दा रोगबाट सुरक्षा हुन्छ । गर्मी र जाडोबाट जोगिन्छन् । राम्रोसँग हुर्कन्छन् । त्यसैले सुरूमा लागत बढी भएजस्तो देखिए पनि कालन्तरमा फाइदा हुन्छ’ पौडेलले भने । चैतबाट उनले खोर निर्माण सुरू गरेका थिए । भदौबाट खोरमा बाख्रा राखेका हुन् । उनको खोरमा हाल ३५ माउसहित ६४ वटा बाख्रा छन् ।
माउको संख्या चाडै नै १०० पु¥याउने लक्ष्य राखेको उनले बताए । ‘१०० माउ राखेपछि एक वर्षपछि वर्षमा लगभग ४०० खसी बाख्रा बेच्न सकिन्छ । जसबाट ३० देखि ४० लाख रूपैयाँसम्म आम्दानी गर्न सक्ने मेरो अनुमान छ’ पौडेलले भने । यो आम्दानी लिनका लागि वर्षमा २० लाखसम्म खर्च गर्नुपर्ने उनको भनाइ छ ।
पौडेलले स्थानीय खरी र विकासे जातको जमुनापारी बाख्रा पालेका छन् । आफ्नो १० कठ्ठा र भाडामा लिएको ३ विघा जमिनमा उनले घाँसखेती गरेका छन् । घाँस काट्ने र दाना बनाउने काम उनी आफैँ गर्छन् । थप रेखदेखका लागि एकजना दम्पतीलाई रोजगार दिएका छन् । उनका बाबु मुरारी पौडेल पनि रेखदेख गर्छन् ।
अन्तराष्ट्रिय गैरसरकारी संस्था हेफर इनटरनेशनलको सहयोगमा पौडेलको संस्थाले ग्रामीण महिलाहरुलाई बाख्रा वितरण गर्दथ्यो । ‘महिलाहरुलाई दिन भनेर हामीले २०० बाख्रा जुटाउनु प¥यो । ती बाख्रा जुटाउन दुई महिना लाग्यो । त्यसपछि मलाई राम्रो बाख्रा स्रोत केन्द्र बनाउने सोच आयो र यता लागेको हुँ’ पौडेलले भने ।
Discussion about this post