–केशव भट्टराई
महोत्सवको नाम सुन्नासाथ मेरो मन चसक्क हुन्छ । अहिले चितवनमा महोत्सवको माहोल छ । चितवन हात्ती महोत्सवले सौराहा मात्रै तातेन, सौराहा आउनेहरु समेत मातेर गए । सौराहाले त कसैलाई मताएको होइन । मात्नेहरुलाई थोरै तताएको मात्र हो । युवाहरु तात्नलाई कुनै बहाना चाहिँदैन । त्यसमा पनि अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित महोत्सवमा देशी–विदेशी सबैलाई सौराहाले तताएरै बिदाइ ग¥यो । अब फेरि यही पुसकै चिसोमा रत्ननगर महोत्सवको माहोलले वातावरण तातेको छ । यो महोत्सवले कतिलाई तताउने हो, मताउने हो र सताउने हो– त्यो भने महोत्सव अवलोकन नगरी यसै भन्न सकिन्न । नेपालीलाई जति चाडपर्व र मेला, महोत्सवमा रमाइलो अरु कुनै देशका जनतालाई गर्नुपर्दैन । स्वाभिमानले नै नेपालीहरु अरुभन्दा पृथक् छन् । र, स्टायलिस पनि छन्– रमाइलो गर्ने सवालमा ।
भन्दैथिएँ, महोत्सवको नाम सुन्दा मन चस्किने कुरा । अनि.. मायाप्रीति गाँस्ने कुरा । यो कहानी अलि लामै छ । यसका लागि फुर्सदमै बेलिविस्तार लगाउनुपर्छ । सर्टकट्मा भन्दा चाहिँ यो महोत्सवमा एउटी माधुरी मैयाँले मोहनी लगाएकी प्रसङ्ग हो । माधुरी भन्नासाथ हामीलाई बलिउडकी एकताकाकी चर्चित नायिका माधुरी दीक्षितको झझल्को आउँछ । हुन त, बलिउडमा एक से एक हिरोइनहरु छन्, कलिउडमै पनि कम छैनन् । यहाँ उल्लेखित माधुरीचाहिँ मनको माधुर्यसँग सम्बन्धित छ । माधुरी मैयाँको ‘निक नेम’ हो । तर, यो मोहनी लगाउने सवालमा १७ वर्षे बैँसालु उमेरलाई समेत ‘च्यालेन्ज’ दिने खालको छ । उस मानेमा हाम्रो मायाप्रीति पनि मुनामदनको भन्दा कमचाहिँ छैन ।
मैयाँ घुम्न आएका बेला चितवन महोत्सवमय भएको थियो । अहिले पनि घुम्दैफिर्दै त्यही माहोल आएको छ । उमेरमा हो, सबै कुराको मह¤व हुने । अझ महोत्सवका बेला कसैसँग अनायासै परिचय भएको होस्, आइसक्रिम खाँदा, पिङ खेल्दा या घुम्दा नै किन नहोस्, प्रत्येक पलको झझल्को आउनु स्वाभाविकै हो । पहारिलो घाम ताप्दा बदाम र सुन्तला छोडाउँदै, लजाउँदै अन्तरंग कुराकानी गर्नुको मज्जै बेग्लै हुने । जति गफ दिए पनि पच्ने, पचाइने । जति हे¥यो, उति लजाइने । मानौँ न, ‘फस्ट लभ’को बेला हो त्यो । अलिकति लाज, अलिकति डर र अलिकति उकुसमुकुसको स्थितिमा गफिँदै गर्दा समय घर्किएको पत्तै नहुने । पहारिलो घामले ‘बाईबाई…’ गर्ने बेलासम्म पनि कुनै हतारो नहुने । खै, कस्तो भेटघाट हो त्यो । कुराको प्रसङ्ग सकिएपछि पनि दोहो¥याएर गफ गर्न दिक्क नलाग्ने, कस्तो अनुपम अनुभूति हो त्यो । जे भए पनि महोत्सवको माहोलमा अभूतपूर्व मायाप्रीति लगाउने मेसो जुरेको थियो । त्यो श्रृंखला जारी छ । म यो सम्बन्ध नवीकरण गर्ने सोचाइमा छु ।
मायाप्रीति लगाउँछु भनेर लगाइने कुरा होइन । योजना बनाएर पनि मायाप्रीति लगाउन सकिने रहेनछ । यो सब संयोगको कुरा हो । महोत्सवमा भेटिएकी माधुरीको जति माया मार्न खोजे पनि सकिएन । मनै त हो, मनले मन पराउन कुनै दिन हेराउनु पर्दोरहेनछ । मनले कसलाई मन पराउँछ, त्यो मनलाई नै थाहा हुन्छ । यो व्यक्तिको वशको कुरा होइन । दुई आँखा चार हुँदा दुई आत्मा पनि एक भैसकेका थिए कि कुन्नि ? रातभर निद्रा बिथोलियो । यो युवापुस्ताको दोष हो कि भनेर आँखा चिम्म गरेर बलपूर्वक निद्रादेवीलाई गुहार गर्दा पनि केही लागेन । पक्कै केही गडबड भएकै हुनुपर्छ, आफैँलाई चिमोटेर हेरेँ, आफैँलाई बोलाएर हेरेँ, अहँ, केही पनि पत्ता लगाउन सकिएन । प्रेममा परेपछि भोक, निद्रा हराउँदो पो रहेछ । यो मन भन्ने कुरा पनि कस्तो रहेछ, महोत्सवमा भेटिएकी केटीप्रति एक्कासि आकर्षित भइएछ । रानो हराएको मौरीजस्तो अवस्था आएपछि फेरि महोत्सव नगई धर पाइएन । तर, महोत्सवमा ती मैयाँ भेट भए पो ! महोत्सवमा के भइरहेछ भन्ने पत्तो पनि पाइएन, खोज्न कुनै स्टल बाँकी रहेन । रोटेपिङदेखि मौतका कुवासम्म, मःमः होटलदेखि केराको चप परिसरसम्म, सचिवालयदेखि शौचालयसम्म खोज्न कतै बाँकी राखिएन । तर, मोरी मरिगए पनि भेट भइनन् ।
शरीरमा केही रोग नलागे पनि गम्भीर बिरामीजस्तै भएको थिएँ । एक्कासि सपनाजसरी भेट भएकी मैयाँसँग पहिलो भेटमै सम्पर्क नम्बर माग्ने कुरा पनि आएन । मिल्ने भएको भए मञ्चमै गएर उसको नाम चर्को आवाजमा फुक्नेथिएँ, त्यसो गर्ने कुरा पनि भएन । एकछत्र उसकै मात्र प्रतिबिम्ब आँखाको वरिपरि नाचिरह्यो । प्रेममा यतिविध्न पीडा हुँदा पनि किन मान्छेहरु प्रेमकै लागि तड्पिन्छन् होला ? आफ्नो त प्रेमभन्दा पनि पहिलोचोटि चिनजान भएर भेट भएको मात्र हो । पक्षीझैँ झुल्किएकी माधुरीले मलाई मोहनी नै लगाएर गइछ । म कसरी एकोहोरिएँ, उसको कुन पक्षले मलाई आकर्षित बनाएको हो, मलाई अझै हेक्का छैन । महोत्सवको सुरूवातका दिनमै हाम्रो चिनाजान भएको हो । महोत्सवमा फेरि पनि भेट्ने प्रतिज्ञा भएको थियो । महोत्सवको चौँथो दिनसम्म पनि म पूरा होसमा रहिनँ । म पिङ खेल्न होइन, रोटेपिङको माथिबाट माधुरीलाई नियाल्न पटकौँ पिङमा झुम्मिएको थिएँ । मेरो मनको कुरा भगवान्ले सुनेछन् कि क्या हो ! माधुरीलाई टिपेर मेरै अघि ल्याइदिए । चलचित्रमा भएको भए म पिङ खेल्दाखेल्दै उडेर माधुरीसामु देखा पर्थें होला । वास्तविकतामा त्यो सम्भव हुँदोरहेनछ । तर, यो पहिलो भेटको प्रेम चलचित्रको भन्दा फरकचाहिँ भएन ।
खुसीले हान्निएर माधुरीनजिक पुग्दा मेरो धड्कन बढिरहेको थियो । मेरो रफ्तारअनुसार त मैले माधुरीलाई गर्लम्म अँगालो हाल्नुपर्ने हो । अझ च्वाप्प म्वाइँ पनि खानुपर्ने हो । तर, मेरो पाइला अनायासै रोकिएका थिए । म बोल्न पनि सकिनँ । फर्किन पनि सकिनँ । यो पनि चलचित्रको जस्तै हुन गयो । मेरो हविगत माधुरीले राम्रैसँग नियाल्न पाएकी थिई । तर, उसले मलाई किन हो कुन्नि, पछिल्लो भेटमा उतिसारो ‘रेस्पोन्स’ गरिन । मेरो मन खिन्न हुन लागेको थियो । उसले प्रेमपूर्वक आतिथ्य गर्छे भन्ने मेरो आत्मविश्वास मर्न थालेको थियो । तर, उसले त्यो अनुभूति गर्न नपाउँदै भनी– ओहो दाइ, हतारमा हुनुहुन्छ नि ? ‘अँ, मेरो साथी हराएर खोज्दै हिँडेको’– मैले बनावटी उत्तर दिएको थिएँ । माधुरीसँगै एउटी अपरिचित महिला पनि थिइन् । त्यसैले मलाई बनावटी उत्तर दिन बाध्य पारेको थियो ।
माधुरीसँग भेट त भएकै हो । तर, ‘कवाबमा हड्डी’ भनेजस्तो उसको आफन्तको उपस्थितिले उसँगको भेट उत्साहप्रद हुन सकेको थिएन । सबैलाई कहिलेकाहीँ यस्तो आपद् पर्दो हो । एउटा सानो नानी पनि साथै भएका कारण म एकछिन भुल्न सफल भएँ । केटाकेटीको बहानामा कहिलेकाहीँ आफ्नो योजना सफल पार्न पनि सकिन्छ । नानीसँग एकछिन भुलेपछि उसकी आफन्तसँग चिनाजान भएको थियो । उसले हाम्रो कलेजको दाइ.. भनेर मलाई फुरूक्क बनाई । तर, दाइ.. भन्दा मन चसक्क भएको थियो । त्यस अवस्थामा अरु साइनो काम पनि लाग्दैन । कलेजको त कुरै छाडौँ, महोत्सवबाहेक अन्त कहीँ भेट भएको थिएन । सानीनानीको बहानामा पिङ खेल्ने वातावरण त बन्यो, तर मायाप्रीतिका लागि वातावरण मिलेन । मलाई त पिङ शब्दैसँग एलर्जीजस्तो भएको थियो । तर, आफ्नो ‘मिसन’ का लागि पिङमात्रै होइन, म दिक्क लाग्ने अरु पनि खेल खेल्दो हुँ ।
माधुरीसँग एक्लै भेट गर्ने मेरो चाहना केही हदसम्म पिङले जुराएकै हो । तर, दोस्रो भेट उत्साहप्रद हुन सकेन । उतिबेला मोबाइलमा फोटो खिचेर भए पनि चित्त बुझाउनु परेको थियो । त्यही क्रममा नम्बर आदानप्रदान भएको हो । त्यसपछि चाहिँ चाहेका बेला हाम्रो पुनंर्मिलन भइरहने वातावरण मिलेको हो । निर्धारित समयभित्र पिङबाट हामी छुट्टियौँ, र बिदाको हात हल्लायौँ । मलाई फेरि पनि निद्रा परेन । प्रेमोत्सर्गको समय थियो, सायद त्यो । माधुरीको कुनचाहिँ आकर्षणले मलाई मुग्ध बनाएको थियो, कुन्नि ? म यतिविध्न आकर्षित अरु कुनै माधुरीहरुसँग भएको थिइनँ । माधुरीसँग पहिलो ‘डेटिङ’ भएदेखि अहिलेसम्म पनि हाम्रो प्रेम जारी नै छ । सुरूवातको चरणमा म धेरै क्रेजी थिएँ, अहिले उसमा त्यो लक्षण देखिएको छ । मैले उसलाई महोत्सवको निम्ता दिँदा उसले पनि महोत्सवमै बोलाएकी थिई । तर, उसको निम्तो मान्न समयले धोका दियो । मेरो निमन्त्रणालाई गम्भीरतापूर्वक लिन्छे कि लिन्न, महोत्सवमै थाहा हुन्छ ।
महोत्सवको माहोलमा परिचय भए पनि हामीबीच अहिलेसम्म पवित्र सम्बन्ध नै विकसित भइरहेको छ । तर, हामीबीचको यो प्रेम आधुनिक समाजमा अवैध मानिन पनि सक्छ । अहिलेको अवस्थामा हामी दुवैका बाटाहरु फरक छन् । तर, प्रेम–सम्बन्धको बाटो भने एउटै छ । यस्तो अवस्थामा हामीबीच ‘प्रेम’ भए पनि त्यो मनभित्रै र ‘सम्बन्ध’ नै भए पनि त्यो निश्चित बाउन्ड्रीभित्रै सीमित हुनुपर्ने अवस्था छ । धेरैका यस्ता समस्या होलान् । आधुनिक समाज र विश्व परिवेशलाई हेर्दा यो महोत्सवमा पनि माधुरीसँगै पिङ खेल्नुपर्ने हो । हाम्रा साँध–सिमानाहरुले हाम्रो प्रेमलाई नछेक्नु पर्ने हो ।
हेरौँ, के हुन्छ ! उति हतार त छैन, तर महोत्सव जहाँको होस्, मन भरङ्ग भएर आउँछ । मुटुको धड्कन बढेर आउँछ, अलिकति काउकुति र अलिकति लाज समिश्रण भएर आउँछ । थाहा छैन– यसपालिको रत्ननगर महोत्सवमा माधुरीसँग मायाप्रीति लगाइन्छ कि लगाइन्न, फेरि पनि माधुरीलाई ‘रानो’ सम्झेर खोजिन्छ कि खोजिन्न, उसैगरी चौरमा बसेर सुन्तला खाइन्छ कि खाइन्न ! साँच्चै, मायालु माधुरीको पखाईमा यो मधु तड्पिरहेछ…। माधुरीबाहेकको महोत्सव मधुका लागि खल्लो हुने निश्चित छ । धरोधर्म, माधुरीमा जस्तो प्रेम मैले अरुमा भेटेको छैन, के थाहा अरु पनि छन् कि ? तपाईंका पनि मधु–माधुरी छन् कि छैनन्, कुन्नि ? भए महोत्सवमा बोलाउनुहोला, नभए महोत्सवमै बनाउनुहोला कि कसो ?
Discussion about this post