काठमाडौँ । नेकपा (एमाले)का सचिव युवराज ज्ञवालीले संविधानसभाको पहिलो बैठक राष्ट्रपति वा प्रधानमन्त्री कसले बोलाउने भन्ने विषयमा सर्र्वाेच्च अदालतको फैसलालाई मानेर जानुको विकल्प नभएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने विवाद सर्वाेच्च अदालतमा पुगिसकेकाले फैसला मानेर जानुपर्नेमा जोड दिनुभयो ।
संविधानसभाले पूर्णता पाइसकेपछि मात्र सरकार बन्ने भएकाले पहिलो जतिसक्दो छिट्टो संविधानसभा बैठक बस्ने वातावरणको निर्माण गर्नुपर्ने भन्दै सचिव ज्ञवालीले सरकार निर्माणका लागि नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने हो भने सरकार सञ्चालन, कार्यविभाजनको ठोस खाका ल्याउनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता डा रामशरण महतले अन्तरिम संविधानको व्यवस्थाले गर्दा संविधानसभा बैठक बोलाउने विषयमा विवाद भएको बताउनुभयो । उहाँले सामान्यतया राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपतिले बैठक बोलाउने भएपनि संविधानले प्रधानमन्त्रीले बैठक बोलाउने कुरा गरेर सो विवाद सर्वोच्च अदालतमा पुगिसकेकाले सर्वोच्चको फैसला कुर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
नेता महतले सरकारमा सहभागी पार्टीहरूसँग छलफल गरेर मात्र सरकार निर्माण हुने बताउनुभयो । एकीकृत नेकपा (माओवादी) का नेता अग्निप्रसाद सापकोटाले संविधानसभाको बैठक बोलाउने विषयमा विवाद गर्नै नपर्ने विषयमा विवाद भएको भन्दै जतिसक्दो छिट्टो संविधानसभाको बैठक बोलाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले काँग्रेस र एमालेको पक्षमा बढी जनमत आएकाले सरकार गठन पनि जतिसक्दो चाडो काँग्रेस र एमालले गर्नुपर्ने बताउनुभयो । रासस
Discussion about this post