-दिपेन्द्र अधिकारी
नारायणगढ । उवासंघ चितवनको १७ औं कार्यसमिति चयनका लागि आगामी पुस २९ र ३० गते साधारणसभा हुँदैछ । हालका वरिष्ठ उपाध्यक्ष कल्याण जोशी र संघमा तीन कार्यकाल सदस्य रही बीचमा एक कार्यकाल उपाध्यक्ष पदमा पराजित भएका र अघिल्लो चुनावमा पछि हटेका श्रीभक्त अच्यूत वाग्ले अध्यक्ष पदका लागि दाबेदार देखिएका छन् ।
वाग्लेले यसअघि नै पत्रकार सम्मेलन गरी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी पक्का भएको बताएका थिए । त्यस्तै, सोही पत्रकार सम्मेलनमा बोल्दै हाल कार्यसमितिको सदस्य पदमा रहेका राजन गौतमले आफू वरिष्ठ उपाध्यक्षमा लड्ने बताएका थिए । त्यस्तै वरिष्ठ उपाध्यक्षमा जाने लाइनमा रहेका सहनलाल प्रधानसँग गौतमको प्रतिस्पर्धा हुने देखिन्छ ।
पत्रकार सम्मेलन गरेको हप्ता दिन पुग्दासमेत छुट्टै प्यानल बनाई अघि बढेका वाग्ले समूहसँग वरिष्ठ उपाध्यक्षमा गौतमबाहेक अन्य पदका कोही पनि देखिँदैनन् ।
२९ सदस्यीय कार्यसमितिका लागि केही दिनमा पूरा नाम आउने वाग्लेले बताए पनि चुनाव आउन चार दिन पनि बाँकी नरहँदा प्यानलमा थप नामहरु आउन सकेको छैन । उवासंघ चितवनमा हुने नेतृत्व चयनको परम्परालाई तोड्दै आम व्यवसायीको माग र हितका लागि आफूहरु कटिबद्ध रहेको उम्मेदवारद्वयले बताएका छन् ।
उनीहरुको उम्मेदवारी घोषणासँगै उवासंघको आगामी नेतृत्व चयन निकै रोचक हुने देखिन्छ । त्यस्तै, उपाध्यक्षमा हालका द्वितीय उपाध्यक्ष ऋषि लामिछाने र तृतीय उपाध्यक्ष राजु श्रेष्ठबीच नै उद्योगतर्फको उपाध्यक्षका लागि प्रतिस्पर्धा हुने देखिन्छ ।
वाणिज्यतर्फको उपाध्यक्षका लागि हाल कार्यसमितिको सदस्यमा रहेका चुननारायण श्रेष्ठ र खोमकान्त रेग्मीबीच प्रतिस्पर्धा हुने देखिएको छ । वस्तुगततर्फको लागि भने उपाध्यक्षमा पटकपटक कार्यसमितिको सदस्य भई सक्रिय रूपमा काम गर्दै आएका चिरञ्जीवी सुवेदी, बद्री अधिकारी र प्रद्युम्न सापकोटाबीच प्रतिस्पर्धा हुने भएको छ ।
आन्तरिक रूपमा उम्मेदवारीको तयारी गरिरहेका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरु तथा अन्य सदस्यहरु आफ्नो भोट गन्न लागिसकेका छन् । कतिपयले भने विभिन्न कार्यक्रममा सहभागी भएर प्रत्यक्ष अप्रत्यक्षरूपमै भोट माग्न थालिसकेका छन् । आफू आबद्ध भएको विभिन्न संघसंस्थाका प्रतिनिधिमार्फत भोट माग्ने काम भइरहेको छ । कतिपय प्रतिस्पर्धी भने एउटै संस्थामा आबद्ध हुनाले कसलाई अघि बढाउने वा भोट दिने भन्ने सम्बन्धमा सदस्यहरुबीच नै मत बाझिएको छ । यस्तो अवस्थामा संस्था वा व्यक्ति कसलाई छान्ने भन्ने विषयले प्राथमिकता पाउने देखिन्छ ।
हाल तृतीय उपाध्यक्ष रहेका राजु श्रेष्ठले भने, ‘संघमा आबद्ध रहेका विभिन्न वस्तुगत तथा अन्य संघहरुबाट आफूलाई पूर्ण समर्थन हुने भनी उम्मेदवारी दिन दबाब भएको र आफू पनि संघको कार्यक्रममा सक्रिय रुपमा नियमित लागिरहेकाले मेरो विजय निश्चित छ ।’
द्वितीय उपाध्यक्ष लामिछानेले भने अन्तिम उम्मेदवारीपछि मात्रै आफू खुलेर बोल्ने बताएका छन् । उवासंघमा झण्डै १० जना नयाँ अनुहार यसपटक कार्यसमितिमा जाने तयारीका साथ आन्तरिक छलफलमा व्यस्त छन् । बद्री अधिकारी र चिरञ्जीवी सुवेदी एकै लाइनको भएको र उनीहरु दुवैको उम्मेदवारीले समस्यामा परिने भन्दै अधिकारी वा सुवेदीमध्ये एकलाई उठाउने तयारी भएको छ । त्यस्तै सञ्चारउद्यमी दिनेशकुमार थपलियाले पनि उम्मेदवारी दिने भएका छन् ।
Discussion about this post