जगतपुर । जगतपुर गाविसका कृषकहरु चेतनाका अभावले विषादीको प्रकोपको उच्च जोखिममा छन् । उनीहरु सीधा असर पर्ने गरी हातले नै घोलेर विषादी बारीमा छर्छन् । मंगलबार केरूङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडको सक्रियता र ज्योति महिला समूहका किसानहरुको सहभागितामा भएको छलफलमा किसानहरु स्वयम्ले हातले नै घोलेर विषादी खेतीपातीमा छर्ने गरेको बताए ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठान, कृषि, स्वास्थ्य तथा वातावरण परियोजनाको आयोजनामा जगतपुर ८ शान्तिचोकमा आयोजित भेलामा उपस्थित कृषकहरुले विषादीको विकल्प के गर्न सकिन्छ त्यसतर्फ गम्भीर भएर ध्यान दिनुपर्ने आग्रह गर्दै थिए । सरकारले नै विषादी उत्पादनमा रोक लगाउनुपर्नेमा तिनीहरुको माग थियो ।
‘विषादीले निकै नै गाँजिरहेको छ हामीलाई, त्यसलाई उत्पादन हुनबाट नै रोक्नुपर्छ’, स्थानीय मेखबहादुर मगरको कथन थियो । अशिक्षाका कारण किसानहरुले कतिपय अवस्थामा खाली हातले नै विषादी घोल्ने गरेको बताउँछन् । उपस्थित धनकुमारी पौडेलले घरमा आफ्नो श्रीमानले हातले नै घोलेर विषादी हाल्ने गरेको बताउँदै उनलाई नै विषादीको प्रकोपको बारेमा ज्ञान दिलाउनुपर्ने बताइन् । छलफलमा सहभागी राममायाले आफूले पनि विगतमा हातले नै घोलेर विषादी छर्ने गरेको र हाल विस्तारै विषादीसम्बन्धी चेतनाका कारण त्यो गर्न छाडेको बताइन् । ।
उपस्थित किसानहरुलाई विषादीको विकल्पको रुपमा जैविक विषादी बनाउने तालिम दिइने परियोजनाका कृषि विज्ञ सुन्दर तिवारीले सो अवसरमा बताए । किसानहरुले भेला हुने उपयुक्त समयमा धेरै भन्दा धेरै कृषकलाई विषादी तथा जैविक मल सम्बन्धी तालिम दिनुपर्ने माग गरेका छन् ।
Discussion about this post